भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ । खोप लिएर आएको एयर इण्डियाको जहाज बिहान ११ः५३ मा अवतरण गरेको थियो ।
कोरोना खोपको निगरानीका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमै पुग्नु भएको थियो । सो खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ । त्यसपछि उक्त खोप टेकु स्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने उक्त खोप बढीमा पाँच दिन भित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्ती केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ ।
खोप शाखा प्रमुख एवम् खोप विज्ञ डा.झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’ लाई उपत्यका सहित विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा कोल्डस्टोर राखिनेछ । तिनै कोल्डस्टोरमा पुगेका खोप जिल्ला जिल्लामा पठाइने तयारी भएको छ ।
भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो । उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको पनि गौतमले जानकारी दिनु
भयो ।
स्वास्थ्यमन्त्रालयले भने खोप जिल्ला पुगेपछि एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथखोप अभियान सुरु हुनेछ । सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयम्सेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ । यस्तो सङ्ख्या करिव ४ लाख हाराहारी रहेको सरकारी तथ्याङ्क छ ।
अनुदानमा आएको यो खोपको प्रभावकारितालाई विचार गर्दै सरकारले बाँकी खोप खरिद गर्ने जनाइ सकेको छ । नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारी योजना पूरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरूले बताएका छन् ।