विराटनगर । प्रदेश १ मा प्रदेश स्तरीय डोरीतान संघ गठन भएको छ। रिता न्यौपाने अध्यक्ष रहने गरि १५ सदस्य डोरीतान संघ प्रदेश १ समिति गठन भएको हो । मोरङको बुढीगंगा गाउपालिकास्थीत टंकीसिनवारीमा सम्पन्न संघको प्रदेश अधिवेशनले अध्यक्षमा रिता न्यौपाने मोरङ, उपाध्यक्ष सविता भेटवाल झापा, सचिवमा सुनसरीका युवराज चौधरी छन् भने कोषाध्यक्षमा झापाका राज कट्टेल चयन भएका छन् ।
संघको सदस्यहरुमा उदयपुरका राजकुमार रोक्का, ईलामका युवराज प्रधान, मोरङका साक्षी न्यौपाने र सुनिता कार्की, सुनसरीका सन्तोेष तामाङ, खोटाङका पवन गुरुङ, धनकुटाका शिखर श्रेष्ठ, भोजपुरका अनिलकुमार राई र ताप्लेजुङका गगन गिरी रहेका छन् ।
समिति गठनका लागि डोरीतान संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीको संयोजकत्वमा ३ सदस्य निर्वाचन समिति बनाईएको थियो । समितिले निर्वाचन प्रक्रियाबाट सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएको छ ।
नव गठित समितिलाई बधाई तथा शुभकामना दिँदै डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा सुवासश्री पोखरेलले प्रदेश १ ले डोरी तानमा १ नम्बर नै काम गरेकोमा खुसी ब्यक्त गर्दै थप राम्रा काम गरेर देखाउन आग्रह गर्नु भयो । अन्यखेल जस्तै डोरीतान खेल पनि मौलिकता बोकेको खेल भएकोले यसलाई स्थापित गराउनको लागि प्रदेश कमिटिको महत्वपूर्ण भुमिका हुने पोखरेलले बताउनु भयो । ‘हामी खेलप्रति लगाव रहेकाहरुलाई यस्ता खेलका गतिबिधि र समितिहरुले हौस्याउँछ, वहाँले भन्नु भयो, ’प्रदेश १ बाट शुरु भएको यो अभियान सातै प्रदेशमा पुग्नेछ ।’
पदभार ग्रहणपछि नव निर्वाचित अध्यक्ष रिता न्यौपानेले मोरङ जिल्लाका सबै पालिकामा गठन भएको डोरीतानलाई प्रदेश स्तरको बनाउन पाउँदा खुसी लागेको बताउनु भयो । आगामी ३ महिना भित्रमा प्रदेशका सबै जिल्लामा डोरीतानलाई बिस्तार गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता प्रदेश १ मा गर्ने अध्यक्ष न्यौपानेले दाबी गर्नु भयो । नेपालीहरुको मौलिक खेललाई नयाँ पुस्तामा समेत पहिचान गराइ अन्तराष्ट्रिय स्तरमा डोरीतान खेललाई स्थापित गराउने प्रदेश उपाध्यक्ष भेटवालले बताउनु भयो ।
डोरीतानको शुरुवात नेपालमा बि.सं. २००७ सालदेखि भएको मानिन्छ। नेपालका कर्णालीको हुम्ला, जुम्लामा यो खेललाई मौलिक खेलको रुपमा खेलिँदै आएकोमा पछिल्लो एक दशकदेखि ब्यवसायिकता पाएको हो । चाड पर्बको बेला रमाईलोको लागि डोरी तानातान गरेर खेलिने यो लेख २०६६ सालदेखि खेलाउन थालिएको उपाध्यक्ष डा पोखरेलले बताउनु भयो ।