जतिबेला २०७४ सालको स्थानीय तहको चुनावी सरगर्मी बढीरहेको थियो त्यो बेला झापा मेचीनगर ७ इटाभट्टाका जुझारु युवा रुपसागर अधिकारी चुनावी प्रचारप्रसारमा निक्कै कस्सिएर लाग्नु भएको थियो । नेपाली काँग्रेसका युवा नेता ३९ बर्षिय अधिकारी आफ्ना पार्टीका उम्मेद्वारलाई बिजयी बनाउन चुनावी अभियानको रणनिति नै कोर्दै हुनुहुन्थ्यो । ठिक त्यसै बेला वहाँको गालामा केही असहज महसुस भइरहेको थियो ।
चुनावी ब्यस्तता यति बढेको थियो कि अधिकारीले आफ्नो शरिरको दुखाइलाई समेत बेवास्ता गर्नु भयो । अधिकारीका लागि त्यो बेला साना तिना दुखाइ त के हात खुट्टै भाँचिए पनि चुनावी अभियानलाई सफल बनाउन र आफ्ना पार्टीका उम्मेद्वार जिताउनु नै पहिलो प्राथमिकता थियो । सेतोपत्रसंग कुरा गर्दै अधिकारी त्यो बेलाको स्मरण यसरी गर्नुहुन्छ,‘जतिजति चुनाव नजिकिदैं जान्छ त्यति त्यति मेरो देब्रे गालाको दुखाइ पनि बढीरहेको थियो । दुखाइ कम गर्न दैनिक ३ वटासम्म पेन किलर खाएर चुनावी प्रचारमा हिंडिरहें ।’
जसै स्थानीय चुनावको नतिजा आइसक्यो अधिकारीको गालाको दुखाइ पनि खपिनसक्नु बढ्दै गयो । शुरुमा त परिवारलाई थाहै थिएन । अधिकारी परिवारलाई थाहा नदिई पेन किलर खाएर हिडिरहनु भएको थियो । जिब्रोले मासु पलाएको जस्तो महसुस गराउन थालेको थियो । वहाँलाई भित्र भित्रै कतै क्यान्सर त भएन भने शंका पनि लागिरहेको थियो भन्नु हुन्छ । तर केही समय पछि देब्रे गाला सुनिदैं गयो । केही दिनमा नै सुनिएको देखिने भयो । त्यो बेला अधिकारीलाई आमाले सोध्न थाल्नु भयो । तर वहाँले सुपारी हालेको छु भन्दै टार्नु हुन्थ्यो । अधिकारी भन्नुहुन्छ,‘गाला सुनिएको देखे पछि आमाले सोध्नु भयो तेरो गाला के भएको सुन्निए जस्तो छ त भन्दा केही भएको छैन, सुपारी हालेको छु भन्थें ।’
तर जब गालाबाट रगत निस्कन थाल्यो त्यस बेला परिवारले तत्कालै उपचार गराउन दबाब दियो । त्यो बेला भने अधिकारीलाई आफुलाई क्यान्सर नै भएको हो भन्ने लागेको र अब बाँच्दिन किन उपचार गराउनु भन्ने सोचाइ आएको वहाँ स्मरण गर्नु हुन्छ । वहाले भन्नु भयो,‘क्यान्सर भए पछि उपचार हुँदैन अब मरिन्छ भन्ने लाग्यो ।’
परिवारको दबाबमा धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परिक्षण गराउँदा क्यान्सर नै भएको डाक्टरले बतायो । जब उपचारका लागि अधिकारी धरान पुग्नु भयो तब डाक्टरले हेर्ने बित्तिकै आफुलाई अलग राखेर संगै जानु भएका मामालाई डाक्टरले आफुलाई क्यान्सर नै भएको र तत्काल अप्रेसन गर्नु पर्ने बताएको अधिकारी स्मरण गर्नु हुन्छ । ‘क्यान्सर नै भएको भन्ने डाक्टर बताएको पहिलो पटक थाहा पाउँदा अब मर्छु भन्ने लागेको थियो ।’ अधिकारी सुनाउनु हुन्छ । ‘मलाई बाहिर राखेर मामालाई भित्र एक्लै बोलाएर डाक्टरले तपाइको भान्जालाई क्यान्सर छ भनेछ ।’
धरानले अप्रेसन गर्नु पर्छ भने पछि अप्रेसन नै गर्नु पर्ने भए भारतमा गर्ने भनेर परिवारले भने पछि २०७४ साउनको तेस्रो साता अधिकारी उपचारका लागि दिल्ली जानु भयो । राजीव गाँन्धी क्यान्सर अस्पतालमा पुगे पछि र त्याहाँको डाक्टरले देखाएको ब्यवहार र हौसलाबाट अधिकारीलाई बाँच्ने झिनो आशा पलायो । दिल्लीको डाक्टरले केमो दिनु पर्छ भने पछि केमो दिने तयारी हुँदै गर्दा दिल्लीकै अस्पतालको शाखा काठमाण्डौमा नै भएको र त्यही पुगेर केमो दिन सकिने भने पछि अधिकारीले काठमाण्डौको हरिसिद्धिमा आएर केमो दिन शुरु गर्नु भयो ।
काठमाण्डौमा केमो दिन जाँदा त्याहाका डाक्टरले दिएको उर्जाले अब बाँच्न सक्छु कि भन्ने आशा पलाएको अधिकारी बताउनु हुन्छ । वहाँ भन्नु हुन्छ,‘डाक्टरको काउन्सिलिङले बाँच्ने आशा भयो जब केमो दिन शुरु भयो त्यस पछि अब मर्दिन जस्तो लाग्यो ।’ तीन महिना केमो दिएर सिटि स्क्यान गरेर हेर्दा हड्डीमा क्यान्सर पुगेको देखिएन । क्यान्सर पुरै ठिक हुने अवस्थामा नै रहेको चिकित्सकले बताए पछि आफ्नो नयाँ जीवन शुरु भए जस्तो लागेको अधिकारी सुनाउनु हुन्छ ।
‘अप्रेसन गर्दा बेहोस हुनु भन्दा अघिको म र अप्रेसन पछि ब्युँझिएको म दुई फरक मान्छे हो जस्तो लाग्छ ।’
केमोथेरापी गराउँदाको तीन महिनाको समय अत्यन्त पीडा दायक समय आफुले बिताएको अधिकारी स्मरण गर्नु हुन्छ । वहाँले भन्नु भयो,‘केमो दिइरहेको समय अत्यन्त पिडा दायक थियो, शरिर दुब्लो हुँदै जाने, खान रुची नहुने, अनेक थरीका समस्या आइरहने, त्यो बेला मेरो परिवारकै हौसलाले मलाई बचायो ।’
अधिकारीले केमोथेरापी सकिएको एक बर्ष समाजसंग टाढा रहेर घरमै बसेर बिताउनु भयो र एक बर्ष पछि दिल्लीको राजीवगाँन्धी क्यान्सर अस्पतालमा अप्रेसन गराउनु भयो । अहिले सबै सामान्य छ । नियमित चेकजाँचमा ६/६ महिनामा दिल्ली पुग्नु हुन्छ अधिकारी । अधिकारी भन्नु हुन्छ,‘अप्रेसन गर्दा बेहोस हुनु भन्दा अघिको म र अप्रेसन पछि ब्युँझिएको म दुई फरक मान्छे हो जस्तो लाग्छ ।’
विभिन्न संघ संस्था आबद्ध फुर्तिला युवा अधिकारी शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । मेचीनगर ८ स्थीत एभरेष्ट भ्यू अग्रेजी माविको कोर्डिनेटरका रुपमा कार्यरत वहाँ अहिले पनि नियमित बिद्यालय जानु हुन्छ । ‘क्यान्सर भन्दा अगाडी दैनिक ३ / ४ वटा कक्षा पढाउँथे तर अहिले बिद्यालयको प्रशासनिक काम मात्रै गरिरहेको छु ।’ अधिकारी भन्नुले भन्नु भयो,‘गालामा क्यान्सर भएका कारण बोल्ने कामलाई केही घटाएको छु, तर पनि उही जोस र जाँगरका साथ काम गरिरहेको छु ।’
नेपाली काँग्रेस झापा क्षेत्र नं. १ क्षेत्रीय समितिको सहसचिव, मेची कृषक बहुमुखी संस्था इटाभट्टाको सञ्चालक समिति सदस्यका रुपमा पनि रुपसागर आज पनि उत्तीकै सक्रिय हुनुहुन्छ । हिजो र आजको दैनिकीमा भने केही परिवर्तन भएको अधिकारी सुनाउनु हुन्छ । ‘पहिला कसैले बोलाउने बित्तिकै जहाँ जान पनि हिंडिहाल्थे तर अहिले कतै जानु परे आफुले खानेकुरादेखि बसाइसम्मको ब्यवस्थापन गरेर मात्रै हिड्छु ।’ अधिकारी भन्नु हुन्छ,‘खानपानमा बिषेश ध्यान दिने गरेको छु, बाहिरको खानेकुरा नखाने र आफुले खाने सबै सामाग्री घरबाटै बोकेर हिड्छु ।’
क्यान्सर रोग निको हुने र क्यान्सर लाग्ने बित्तिकै मान्छे मरिहाल्छ भन्ने कुरा गलत भएको अधिकारी बताउँनु हुन्छ । खानपानमा बिषेश ध्यान दिने र परिवारको बलियो साथ भयो भने क्यान्सर रोग जीत्न सकिने अधिकारीको बुझाइ छ । तर पनि क्यान्सर रोगलाई सामान्य रुपमा लिनु नहुने अधिकारीको सुझाव छ ।
आज पनि रुपसागर अधिकारी मेचीनगरकै एउटा उज्यालो युवाको रुपमा परिचित हुनुहुन्छ । वहाँको सक्रियताले बिरोधीहरु पनि नतमस्तक हुन्छन । क्यान्सर जस्तो प्राण घातक रोग जीतेर पनि यो समाजमा उत्तिकै सक्रियताका साथ सामाजिक अभियान र बिभेदकारी निति बिरुद्ध कडा रुपमा प्रस्तुत हुने अधिकारी भ्रष्टचार बिरुद्ध खरो रुपमा आफ्नो प्रस्तुती राख्नु हुन्छ ।
क्यान्सर पछिको जीवन आफ्ना लागि नयाँ जीवन भएको बताउने रुपसागर रिस, लोभ, लालच इश्र्या सबै हराएको बताउनु हुन्छ । ‘जीवनलाई नजीकबाट बुझ्न पाएं ।’ अधिकारी भन्नु हुन्छ,‘अब कसैंसंग रिस राग छैन, लोभ, लालच त पुरै हराएर गयो ।’
नयाँ जीवनलाई परोपकारी काम र आफ्नो परिवारका लागि राम्रो काम गर्नमा खर्च गर्छु भन्ने रुपसागरको आमा, श्रीमती र ११ बर्षकी छोरी हुनुहुन्छ ।