भारतको राजधानी दिल्लीको रोहिणीको सेक्टर नम्बर ५ मा राजिव गांधी क्यान्सर इन्स्टिटूट एण्ड रिसर्च सेंटर” अवस्थित छ । यो अस्पतालको वरिपरि (विशेष सेक्टर ५) तपाईले नजर लाउनु भयो भने नेपालबाट बाहिर रहेको तपाईलाई महशुस नै हुदैन । यहाँका अधिकांश फल्याटहरुमा तपाई नेपाली परिवार देख्न पाउनु हुन्छ । कोहि हप्ता दिन , कोहि महिनौ देखि , कोहि आधा वर्षसम्म कोठा भाड़ा लिएर बसेको देख्नु हुनेछ । सब्जी मण्डी, चिया पसल, जूस सेंटर, ट्राभल एजेन्सी जस्ता हरेक ठाउँमा नेपालीहरुको बाक्लो उपस्थिती देखिन्छ । यी सबै नेपालीहरू राजिव गाँन्धी क्यान्सर अस्पतालमा उपचारका लागी आएका क्यान्सरका बिरामी हुन या त उनका आफन्तजन ।
अस्पतालमा केमोथेरेपी कक्ष, रेड़ीयसन कक्ष, आइसीयु, जेनरल वार्ड, एम आर आइ, पेट सिटी कक्ष, चमेना गृह लगायतका हरेक ठाउमा तपाई नेपाली देख्नु हुन्छ । क्यान्सरले आक्रमण गरेपछी रेडियोथेरपी, केमोथेरेपी वा अपरेसन पछी फलोअप महत्वपूर्ण पक्ष हो । यस कारण यहा उपचार पछी पनि फलोअपको लागी आउने नेपालीको संख्या बाक्लो हुने गर्छ । अस्पतालका डाक्टरहरूले फलोअपमा कहिले आउने भनेर समय निर्धारण गर्छन । सुरुमा ३/३ महिना हुदै ६ महिना, एक बर्षको अन्तरालमा यो फलोअप जरुरी हुन्छ । मैले राजीव गांधी अस्पतालमा बिगत १५ वर्ष देखी फलोअपमा आइरहेका विरामी पनि भेटेको छु । ३/ ४ बर्ष देखि फलोअपका लागी धाउने नेपालीको संख्या त धेरै नै छ । अस्पताल भित्र उपचार गरिरहेका नेपाली बिरामी र नयाँ आउने नेपाली बिरामीहरुको चाप पनि त्यतिकैं बढ्दो देखिन्छ ।
प्रायः फलोअपका लागी आउने बिरामीको चेकजाँच पछि डाक्टरको मुखबाट “अच्छा है ! ठिक है ! अब ६ महिने बाद आना” भनेपछी आउने ६ महिनाको लागी नयाँ जिवनको सर्टिफिकेट नै लिए जस्तो हुन्छ । डाक्टरको मुखबाट यो सुने पछी आनन्द मनले क्यानटीन गयो, कफि पियो अनि आउने ६ महिनाको सपना बुन्न शुरु गर्यो । फेरी ६ महिना पछी आयो । अर्को ६ महिनाको सर्टिफिकेट पर्खीयो । सर्टिफिकेट पाइयो भने फेरी अर्को ६ महिनाको सपना बुन्यो । मलाई ६/ ६ महिनाको अन्तरालमा बोलाउन थालेको धेरै भएको छैन । एक वर्ष जती भयो । त्यसकारण मलाई ६ महिनाको लागी सपना देख्ने बानी परेको छ । यस्तै ३ महिने हुदै ६ महिने सपना देखेर जिवन व्यतित गरेको पनि ३ वर्ष भएछ । यो विराम लागेको मानिसले सपना देख्न चाहि छोड़नु हुन्न । ३ महिने, ६ महिने सपना देख्दै बर्ष बितेको पत्तो नै हुदैन ।
केमोथेरेपी, रेडियोथेरेपी हुदै फलोअपका क्रममा मेरो व्यक्तिगत अनुभवको आधरमा यो रोग सम्बंधित मेरो छोटो निष्कर्ष छ ।
१) यो रोगको उपचार सम्भव छ ।
२) शरिरको कुनै स्थानमा लगातार लामो समयसम्म दुखाईको अनुभव भयो भने सतर्क बन्नुहोस ।
३) “आत्मबल” लाई शानदार , जबरजस्त अनि जिन्दाबाद राख्नुस ।
४) खानपिनमा ध्यान पुर्याउँनुहोस ।
बस !
संगसंगै यो रोग लाग्न नदिन हामीले जीवनमा सतर्कता अपनाउन सक्छौ । विशेषत स्वास्थ्य खानपिन र निरन्तर शारीरिक अभ्यासको बानी बसाल्नु उत्तम हुन्छ । यो रोग लागे पछिको अध्यारो पक्षलाई पनि हामीले आम मानिसमा लुकाउनु हुन्न । खर्चालु उपचार प्रक्रिया र पीड़ादायी उपचार विधीको बारेमा अग्रिम जानकारी सबैले थाह पाउनु जरुरी छ । केमोथेरेपी र रेडीओथेरेपीको क्रममा तपाईको शरिरमा आउने परिवर्तन पिडादायिक नै हुन्छ । उपचार सुरु भएपछी शुरुवाती समयमा बिशेषत खाने र पिउने बेलामा हुने पिडा, अनिन्द्रा, लगायतका धेरै समस्याले सताउछ जुन बिस्तारै सहज हुदै जान्छ । यो बेला तपाईको उच्च मनोबलको एकदम नै जरुरी हुन्छ ।
राजीव गांधी क्यानसर अस्पताल परिसर भित्र तपाई अधिकांश बिरामी र आफन्तहरूलाई शान्त र शालीन मुडमा देख्नु हुन्छ । कोहि पनि ठुलो आवाजमा बोलेको सुनिदैंन । प्राय जसो सबै सानो र मसिनो आवजमै भलाकुसरी गरिरहेको भेंटीन्छन । रोगले उमेर, जात, धर्म, लिंग, राष्ट्र, धनि, गरिब केहि देख्दैंन रहेछ भन्ने भान पनि हुन्छ । एक अर्को प्रति सहयोगी भावना हुन्छ अस्पताल परिसर भित्र । कोहि पनि हतोत्साहित देखिदैन । आउने चुनौती सामना गर्न सब तयार नै हुन्छन । मैले यहाको अस्पतालको कर्मचारीलाई प्रायः हसीलो मुद्रामा नै देख्ने गरेको छु जुन विरामीको लागी प्रेरणादायी छ । नेपालको अधिकांश अस्पतालमा मैले यो कुराको अभाव देखेको छु । नेपालका अस्पतालहरूमा तपाई जो कोहि पनि रिसाईरहेको, झर्किरहेको, ठुलो स्वरले कराईरहेको देख्न सक्नु हुन्छ । राजीव गांधी अस्पतालमा मैले अनुभव गरेको अर्को सुन्दर पक्ष भनेको यहा जचाँउने र डाक्टरसंगको अपोईंटमेंट कुरामा कुनै नाताबाद, कृपाबाद नहुनु हो । सब सिस्टममै छ । कोहि कसैले पनि आफ्नो पालो पर्खिनु पर्ने हुन्छ । एकपटक पूर्व सेनापति रुक्माङ्गद कटुवालकै आफÞन्तको पालो (शायद श्रीमती हुनुपर्छ पर्छ) मेरो पछी थियो । भारतीय सुरक्षाकर्मीको सेक्युरुटी सहित उनी आफ्नो पालो कुरिरहेका थिए । यो नेपालमा कल्पना बाहिरको कुरा हो । केहि महिना अघि बिर्तामोडको एक चर्चित अस्पतालमा बिहान ११ बजे पुगेको मेरो चेकअप ४ बजे तिर सम्भव भयो । म भन्दा पछी आउने पस्दै, निक्लेको कती देखे कती ।
सामान्यत रेडियोथेरेपीका लागी १ महिना देखि दुई महिनासम्म लाग्न सक्छ । केमोथेरेपी चाहि अवस्था हेरी हेरी हुन सक्छ । रेडियोथेरेपी गरिरहेका बिरामी परिवार सहित लामो समय सम्म राजिव गांधी अस्पताल परिसर वरपर भाड़ाको कोठा लिएर बसेको देखिन्छ । केमो लिने गरेका चाहि एउटा केमो पछी अर्को केमोको समय लामो भयो भने आउने र जाने गरेको पाइन्छ । अप्ररेशन गरेको बिरामीलाई इन्फÞेक्शनको बलियो सम्भावना हुन्छ । इन्फÞेक्शनको कारणले अप्ररेशन पछी अस्पतालबाट डिस्चार्ज भए पनि लामो समयसम्म एन्टीबायोटिक सेवन गरेर बसेका बिरामीहरू पनि तपाईले भेटनु हुन्छ । हरेक ब्यक्तिको फरक कहानी छ , फरक अवस्था छ । तपाई कती शक्तिशाली हूनूहुन्छ भन्ने कुरा तपाईलाई यो रोगले आक्रमण गरेपछी तपाईलाई महसूस गराउदछ । निश्चित रुपमै क्यान्सर अघि र क्यान्सर पछीको जिवनमा केहि फरक त अवश्य हुन्छ । एक पटक जाती भैसकेपछी पनि यो विराम फेरी बल्जिने सम्भावना पनि रहन्छ । हामीले हाम्रो दैनिक जिवनका सेडुलमा परिवर्तन गर्नु जरुरी पनि रहन्छ ।
रोहिणीको सेक्टर ५ अघोषित रूपमा मेरो दोस्रो घर नै भएको छ । यहाको वातावरण, रहनसहन दिन प्रतिदिन मलाई सहज नै हुदैछ । अस्पतालमा म जस्तो कैयौं आउने दिनको ग्रिन सिंग्नलको प्रतीक्षामा बसेका छन । ति मध्ये हरेक ६ ६ महिनामा जिवन प्रमाण पत्र रिन्यू गर्न आउनेमा एक म पनि हो । सधै ग्रीन सिग्नल आओस भन्ने प्राथना गर्दै गर्दा कहिले रेड नै आउला कि भन्ने त्रास भने रहि नै रहन्छ । आउटकम जे आए पनि सहज रूपमा लिन सक्ने आत्मविश्वास सबैले राखेको म भेट्छु । क्यान्सर लागे पछी पनि दिर्घायूु ब्यतित गरिरहेका र बर्षौसम्म राजीव गांधीको फलोअप भ्याइरहेका धेरै फाइटरहरु तपाई रोहिनी सेक्टर ५ को “लक्कि जुस सेंटर” मा भेट्न सक्नु हुन्छ ।
(लेखक अधिकारी झापा मेचीनगर–७ इटाभट्टा निवासी हुनुहुन्छ ।)