काठमाण्डौ, पुस २९ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले देश विकासको प्रमुख बाधक नै प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगानु भएको छ । मंगलबार प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै नेकपा नेता रावलले देश विकासको मुख्य समस्या नै प्रधानमन्त्री ओली रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले पुस २४ गते सुदुरपश्चिमको धनगढीमा गर्नुको भाषणको बिषयलाई लिएर नेता रावलले खुला पत्रमा लेख्नु भएको छ ‘तपाईंका राष्ट्रहित, संविधान र पार्टीको सिद्धान्त, विधि र नीति विरोधी काम कुरालाई रोक्न मैले जुन भूमिका खेल्दै आएको थिएँ त्यसप्रति तपाईंको असीमित आक्रोश छ । मजस्तै देशभक्त नेपालीहरू त्यस्ता गलत कामका विरुद्ध निरन्तर जुझिरहने छन्। वस्तुतः देशको लागि सबभन्दा ठूलो “समस्या” तपाईं नै हुनुभएको कुरा अनेकौं तथ्य र घटनाक्रमले पुष्टि गरिसकेका छन ।’
नेता रावलले प्रधानमन्त्रीले झुटो कुरा बोलेर जनतालाई भ्रममा पार्न खोजेको आरोप समेत लगानु भएको छ । खुला पत्रमा रावलले लेख्नु भएको छ ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति गलत सूचनाको आधारमा बरालिँदा देश र जनताले दुःख पाउनसक्ने र स्वयं त्यस्तो महत्वपूर्ण पदको मर्यादा क्षतविक्षत हुनसक्ने स्थितिप्रति संवेदनशील हुनुपर्छ भन्ने मेरो आशय रहेको छ ।’
प्रधानमन्त्री ओली जनदबाबमा आएर मात्रै लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा प्रकाशित गर्न तयार हुनु भएको तर वहाँले सिमा सुरक्षाका बिषयमा कुनै गभ्भिरता नदेखाएको बताउँदै रावलले नयाँ नक्शा समेटिएको सरकारले नै प्रकासित गरेको पुस्तक बितरणमा किन रोक लगाउने कुराले ओलीको राष्ट्रिबाद छर्लङ्ग भएको खुला पत्रमा उल्लेख गर्नु भएको छ ।
रावलले प्रधानमन्त्री र मन्त्रीहरुको बोली ब्यवहार देश हितमा नभएको भन्दै खुला पत्रमा लेख्नु भएको छ ‘राज्य चलाउनेहरूमा देखिने यस्तो विक्षिप्त मानसिकताको समयमै राम्ररी चिकित्सकीय परीक्षण गराई निदान र उपचार गराउनु सम्बन्धित व्यक्ति र सरकारको स्वास्थ्यको लागि एवं देशका लागि हितकर हुन्छ, होइन र ? किनकि सनकी, विवेकहीन र उदण्ड मानिसहरुको हातमा राज्य सञ्चालनको जिम्मेवारी जाँदा राष्ट्रियता, लोकतन्त्र र जनताको भविष्य नै खतरामा पर्न सक्छ ।’
प्रचण्ड नेपाल पक्षीय नेकपाका सुदुरपश्चिम इन्चार्ज समेत रहनु भएका नेता रावल पछिल्लो समय ओलीको कट्टा आलोचकका रुपमा प्रस्तुत हुनु भएको छ ।