इटाभट्टा, भदौ १४ गते ।
विश्वब्यापी संक्रमण फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण हालसम्म विश्वमा दुई करोड ५२ लाख बढी मानिसहरु संक्रमितभइसकेका छन । नेपालमा पहिलो पटक माघ १० गते काठमाण्डौमा ३२ बर्षिय युवालाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
चीनको वुहान युनिभर्सिटीमा पिएचडी अध्ययनरत युवा बिदामा घर फर्किए पछि उनको परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो । पहिलो संक्रमितमा लक्षण देखिएको थियो । जति बेला नेपालमा कोरोनाको पहिलो संक्रमित देखिएको थियो त्यो बेला कोरोना परिक्षण गर्ने नेपालमा सुविधा नै थिएन । पहिलो संक्रमितको नमूनाको परिक्षण हङकङमा लगेर गरिएको थियो ।
त्यसपछि नेपालका बिभिन्न भागमा क्रमश संक्रमितहरु देखिन थाले र कोरोनाको परिक्षण गर्ने आधुनिक पिसिआर पद्धती पनि नेपालमा नै शुरुवात भयो ।
यो सामग्री तयार पार्दासम्म नेपालमा ३८ हजार भन्दा बढी संक्रमित पुगिसकेका छन भने २२१ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन । शुरुमा भारतसहित विदेशबाट आएकाहरुमा कोरोनाको संक्रमण देखा परेको नेपालमा पछिल्लो समय समुदायस्तरमा नै कोरोना संक्रमण फैलिसकेको छ ।
नेपालकै पुर्वी सिमानाको शहर मेचीनगरमा पनि पहिलो पटक २०७७ जेठ २६ गते भारतबाट आएर मेचीनगर ४ पशुपति माविको क्वारेन्टाइनमा बसेका युवामा कोरोना संक्रमण पुष्टी भएको थियो । मेचीनगरमा पहिलो संक्रमण पुष्टी हुँदा झापामा मात्र कोरोना संक्रमितको संख्या १४८ पुगेको थियो । पहिलो संक्रमित देखिएको भोली पल्ट नै भारतबाट आएर क्वारेन्टाइनमा बसेका मेचीनगर ३ का युवामा कोरोना संक्रमण देखियो ।
दोस्रो संक्रमण देखिएको पाँचदिन पछि तेस्रो संक्रमणका रुपमा असार १ गते मेचीनगर ५ का युवामा कोरोना संक्रमण पुष्टी भयो । उनी पनि भारतबाटै फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।
शुरुमा संक्रमण पुष्टी हुँदै गर्दा नगरभित्रका आम नागरिकमा निक्कै डर र त्रास छाएको थियो । अब के होला, कसरी सुरक्षीत हुन सकिएला भन्ने सन्त्रास निक्कै थियो । पसल बजार पुर्ण रुपमा ठप्प थिए । मानिस घर घरमै कैद झैं थिए । स्थानीय सरकार पनि संक्रमितको ब्यवस्थापन र थप संक्रमण फैलिन नदिने कुरामा कसरी अगाडी बढ्ने भन्ने अन्योल मै थियो । शुरुका संक्रमितहरुलाइ प्रदेश सरकारले बनाएको बिराटनगरस्थीत कोशी कोभिड अस्पतालमा नै लागिदैं थियो ।
भारतबाट आएर होम क्वारेन्टाईनमा बसेका मेचीनगर ६ काकरभिट्टाका एक ३५ बर्षिय ब्यक्तिमा असार ७ गते कोरोना पुष्टी भए पछि भने नगरमा थप जटिलता थपिने होकी भन्ने चिन्ता बढ्यो । संक्रमितका छिमेकी र आसपासका मानिसमा निक्कै ठुलो त्रासको वातावरण बन्यो । भारतबाट आएकालाई पिसिआर परिक्षण नगरी सिधै घर पठाउने नगरपालिकाको योजनामा पनि प्रश्न उठ्यो । त्यही घट्ना पछि मेचीनगर नगरपालिकाले भारतबाट आएकाहरु सबैलाई अनिवार्य क्वारेन्टाईन बसाउने र पिसिआरको रिपोट नेगेटिभ आए पछि मात्रै घर पठाउने ब्यवस्था लागु गरेको थियो ।
काकरभिट्टाका होम क्वारेन्टाईनका संक्रमितका परिवारका सदस्य र उनका छिमेकीहरुको पनि पिसिआर परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ नै आए पछि भने नगरमा समुदायमा कोरोना संक्रमण नभएकाले ढुक्क भयो ।
मेचीनगर सहित देशै भरि कोरोनाका संक्रमित थपिनेक्रम नै थियो । त्यसै बिच असार १० गते पहिलो पटक मेचीनगरमा एकै दिन सबैभन्दा बढी १० जनामा कोरोना संक्रमण देखियो । ती सबै भारतबाट आएर मेचीनगर १० र ११ का क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु नै थिए । त्यो बेलासम्म आइपुग्दा बिदेशबाट आएर क्वारेन्टाईनमा बसेकाहरुलाई देखिएको कोरोना संक्रमणले समुदायमा खासै अप्ठ्यारो नपर्ने कुराले आम नगारिकमा जरा गाडी सकेको थियो । देशकै विभिन्न भागमा समुदायका ब्यक्ति, कतै कहिं नहिडेका ब्यक्तिहरुमा समेत कोरोनाको संक्रमण देखिएका समाचारले मेचीनगरका आम मानिसमा पनि सुक्ष्म रुपमा चिन्ता थपिदैं थियो । त्यो बेला मुख्य चासो र सरोकार भनेकै समुदायमा कोरोना संक्रमण फैलिन दिनु हुँदैन भन्ने तर्फ नै केन्द्रीत भयो । मेचीनगर नगरपालिकाको ध्यान समेत त्यस तर्फ नै केन्द्रीत हुँदै थियो ।
उक्त समयमा समुदायकातर्फबाट उठाइएका केही गर्नै पर्ने काम नगरपालिकाको प्राथमिकतामा नपरेका कारण समुदाय र नगरपालिका बिच केही टकराबहरु पनि देखिए । नागरिक दबाब र संक्रमितको संख्या बढ्न थाले पछि असार २४ गतेदेखि मेचीनगर वडा नं. ११ मा धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई नगरपालिकाले आइशोलेशन सेन्टरका रुपमा संक्रमितलाई राख्न शुरु गर्यो ।
साउन १६ गते सिमा सुरक्षामा खटिएका १२ जना शसस्त्र प्रहरीमा एकै पटक कोरोना संक्रमण पुष्टी भए पछि भने अवस्था फरक देखियो । समुदायमा संक्रमण नभएको भनिएका बेला खुला रुपमा सिमा सुरक्षामा रहेका प्रहरीमा नै ठुलो संख्यामा संक्रमण पुष्टी हुँदा उनीहरुले कतिलाई भाइरस सारे होला भन्ने कुराले स्थानीय समुदायमा निक्कै चिन्ता बढायो ।
संक्रमित शसस्त्र प्रहरीसंग सम्पर्क भएका सबै जसोको पिसिआर परिक्षण गराउने कार्य भयो । थप केही शसस्त्र प्रहरीमा संक्रमण देखिएपनि समुदायस्तरका मानिसमा भने संक्रमण देखा परेन । त्यसबाट तत्कालका लागि समुदायमा संक्रमण नपुगेको अवस्था रहेको बुझिएको थियो ।
बिदेशबाट आएर क्वारेन्टाईनमा बसेकाहरुलाईमात्र संक्रमण देखिने, नगरपालिकाको आफ्नै आइसोलेशन सेन्टर र पिसिआर परिक्षणसमेत फराकिलो बनाउँदै लगेको अवस्थामा मेचीनगर सुरक्षीत नै भएको महशुस गरिरहेका बेला साउन २३ गते मेचीनगर १० धुलाबारी बजारका १५ बर्षिय युवामा कोरोना संक्रमण पुष्टी भए पछि भने समुदायस्तरमा कोरोना फैलिएको पुष्टी भयो । घर छोडेर कतै नगएका फुटबल खेलाडी समेत रहेका युवामा संक्रमण पुष्टी हुँदा समुदायमा पुन एक पटक त्रास सृजना भयो । पहिलो पटक मेचीनगरमा समुदायस्तरमा कोरोना संक्रमण देखिदाँ नगरमा संक्रमितको संख्या ९१ पुगेको थियो ।
स्वास्थ्य सुरक्षा ब्यवस्था सहित नगरपालिकाले मेचीनगर ९ र १० मा हिडडुलमा कडाइ गरी समुदायस्तरमा पिसिआर परिक्षण गरायो । उक्त परिक्षणबाट साउन २८ गते आएको नतिजाले झन झस्काउने काम गर्यो । त्यसबेला एक चिकित्सक सहितपहिलो समुदायका संक्रमितका परिवारका दुई सदस्य र एक जना घर बिदामा आएका प्रहरीलाई समेत कोरोना संक्रमण भए पछि समुदायमा कोरोना फैलिएको अवस्थालाई झन पुष्टी गर्यो ।
अब मेचीनगरमा कोरोनाको संक्रमण भयावह हुने आँकलन सहित नगरपालिकाले संक्रमितको सम्पर्कमा रहेका र जोखिममा परेका धुलाबारी क्षेत्रका ९७ जना र मेचीनगर ७ प्यारीभिट्टाका ७८ गरी १७५ जनाको एकै दिन नमूना संकलन गरि पिसिआर परिक्षणका लागि पठायो । तर समुदायस्तरमा र संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको समेत गरी ती सबैको नतिजा नेगेटिभ आए पछि भने संक्रमण नफैलिएकाले ढुक्क हुने अवस्था भयो ।
उतार चढाबकै बिच भदौ ५ गते मेचीनगर ७ इटाभट्टामा रहेको प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भए पछि भने कोरोना समुदायमा फैलिएको अवस्था फेरि मेचीनगरमा देखा पर्यो । तत्कालै नगरपालिकाले इटाभट्टा क्षेत्रलाई सिल गरि संक्रमितसंगको सम्पर्कमा रहेका ब्यक्तिहरु ३७ जनाको पिसिआर परिक्षण गर्यो । ती सबै जनाको रिपोट नेगेटिभ आए पछि भने तत्कालकालागि मेचीनगरमा कोरोना संक्रमण समुदायसम्म नफैलिएको भन्न सकिने अवस्था छ ।
मेचीनगरमा आजसम्म ३२ जना शसस्त्र प्रहरी सहित १०९ जना संक्रमित भएका छन । ति मध्ये ९८ जना निको भएर घर फर्किसकेका छन भने ११ जना आइशोलेशनमा उपचार गराइरहेका छन । नगरमा अहिलेसम्म कसैलाई पनि आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको छैन ।
तथ्याङ्कलाई हेर्दा अहिलेको अवस्थामा मेचीनगरमा कोरोनाको संक्रमण समुदायमा छैन भन्न सकिन्छ । तर यसमा दुईवटा कुरालाई पनिसंगै जोडेर हेर्न भने छुटाउनु हुन्न । पहिलो कुरा संक्रमितसंग सम्पर्कमा रहेकाहरुलाई तत्कालै पिसिआर परिक्षण गरिएको छ । उनीहरुको तत्कालको रिपोट त नेगेटिभ आएको छ तर कोभिड १९ भाइरसले केही समय पछाडीदेखि मात्रै प्रभाव देखाउने कुरा विश्वभरिको अवस्थाले पनि स्पष्ट पारेको छ । त्यसैले पिसिआर परिक्षण गराउन हतार गरेका कारण संक्रमण देखिन बाँकी नै त छैन भन्ने शंका जिवितै रहन्छ ।
त्यस्तै दोस्रो भनेको शरिरमा कोरोनाको भाइरस बोकेकाहरुको चैं परिक्षण हुन बाँकी नै छ की ? वा उनीहरु लुकेर बसेका छन कि ? भन्ने अवस्था अहिले पनि जिवित छ । किनकी त्यस्ता धेरै ब्यक्तिहरु अहिले पनि गाउँ घरमा छन जसलाई कोरोनासंग मिल्दाजुल्दा लक्षण भएर पनि परिक्षण नगराई स्थानीय क्लिनिकहरुको औषधी खाएर घरमै बसिरहेका छन ।
मेचीनगर नगरपालिका, स्वास्थ्यकर्मी, स्थानीय समुदाय र बिभिन्न सचेतना मुलक कार्यमा सहभागि सबै अहिलेसम्म समग्रमा नगरलाई सुरक्षीत राख्न मुख्य भुमिका खेल्ने पक्षहरु हुन । अहिलेको निरन्तरता, सावधानी, सचेतनता, सजगता र स्वास्थ्य सुरक्षाका उपाय नै कोरोनाको संक्रमण फैलिन नदिनकालागि अचुक अस्त्र हुन ।
अहिले पनि मेचीनगरमा समुदायस्तरमा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । जुनसुकै बेला मेचीनगरमा समुदायस्तरमा संक्रमण फैलिन सक्ने अवस्था छ । सिमावर्ती नगरपालिका र ठुलो जनसंख्या भएका कारण पनि मेचीनगर नगरपालिकाले अझै केही समय कोरोना रोकथामका लागि हाई अलर्टमा बस्नु पर्छ ।