धुलाबारी, पुस २५ ।
मेचीनगर, २५ पुस । मेचीनगर १० धुलाबारी स्थीत महालक्ष्मी कृषि सहकारी संस्थाको शेयर पुँजी ७० लाख भन्दा बढी पुगेको छ । संस्थाको आज सम्पन्न १२ औं बार्षिक साधारणसभा संस्थाकी अध्यक्ष दुर्गा खतिवडाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख भए अनुसार महालक्ष्मी सहकारीको शेयर पुँजी ७० लाख २९ हजार ४ सय पुगेको छ ।
२०६५ सालमा ५४ जना शेयर सदस्यबाट शुरु भएको सहकारीको आज दुई हजार भन्दा बढी शेयर सदस्य पुगेको अध्यक्ष खतिवडाले साधारण सभामा बताउनु भयो । जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष गीता कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथि कुँवरले सहकारीले महिलाहरुको सशक्तिरणमा ठूलो योगदान पुर्याएको बताउनु भयो । वहाँले सहकारीकै माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण भएको बताउनु भयो ।
संस्थाकी अध्यक्ष दुर्गा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक मुना घिमिरे, पत्रकार महासंघ प्रदेश नम्बर १ की कोषाध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार मिलनसार राई, पुण्यप्रसाद भूर्तेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शेयर सदस्यको आय आर्जन बृद्धि गर्ने उद्देश्यले संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहुलियत दरमा कर्जा लिई सय बढी युवाहरुलाई स्वरोजगार बनाएको समेत उल्लेख अध्यक्ष खतिवडाले बताउनु भयो ।
संस्थाको लगानी चार करोड ६१ लाख छ हजार रुपैयाँे, निक्षेप ४ करोड ३० लाख ८७ हजार रुपैयाँ रहेको छ । महालक्ष्मी सहकारीले विषादि न्यूनीकरण अभियानलाई जोड दिँदै अग्र्यानिक तरकारी उत्पादन तथा कौशी खेती सम्बन्धी विभिन्न तालिम, महिला हिंसासँग सम्बन्धित सचेनामूलक कार्यक्रम सञ्चालन, वित्तीय सारक्षता तालिम, सहकारी शिक्षा तालिम र रेमिटान्सको कारोवार लगायतका कार्यक्रम गर्दै आएको छ ।
सहकारीकी लेखा संयोजक लीना भण्डारीले संस्थाले गरेका गतिविधि बारे जानकारी गराउनु भएको थियो । संस्थाकी सदस्य मञ्जु खनालले स्वागत मन्तव्य व्यक्त गर्दै कोभिड–१९ का कारण शेयर सदस्यहरुलाई एक हप्ता अघिदेखि प्रतिवेदन घरघरमा पुर्याएर सल्लाह सुझाव माग गरेको बताउनु भयो । प्रतिनिधि मूलक सदस्य छनौट गरी आयोजना गरिएको कार्यक्रम व्यवस्थापक प्रेमकुमारी सुवेदीले सञ्चालन गर्नु भएको थियो ।