मेचीनगर, पुस २५ ।
बाहुनडाँगी जेसीजको अध्यक्षमा दिपक बराल निर्वाचित हुनु भएको छ । हिजो सम्पन्न साधारण सभाले निर्वाचनको प्रक्रिया मार्फत सन २०२१ का लागि जेसीजको अध्यक्ष चयन गरेको हो ।
अन्तिम समयसम्म पनि अध्यक्ष पदमा सहमति जुट्न नसके पछि बाहुनडाँगी जेसीजको नेतृत्व लिने दौडमा रहेको पत्रकार देबु बानियाँ र युवा राजनितिज्ञ समेत रहनु भएका बराल बिच चुनावी प्रतिस्पर्धा नै भएको थियो । अध्यक्ष चयनका लागि भएको मतदानमा अध्यक्षमा निर्वाचित बरालले १९ मत र अर्का प्रतिस्पर्धी बानियाँले १३ मत पाउनु भएको बाहुनडाँगी जेसीजका निर्वाचन अधिकृत कञ्चन उप्रेतीले जानकारी दिनु भयो ।
सन २०२१ का लागि दुई जना कार्यकारीणी उपाध्यक्ष र ४ जना उपाध्यक्षहरु सर्बसम्मत चयन भएको समेत निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिनु भयो । उप्रेतीका अनुसार बाहुनडाँगी जेसीजको सन २०२१ का लागि कार्यकारीणी उपाध्यक्षमा किशोर भट्टराई र अनिस काफ्ले चयन हुनु भएको छ । त्यस्तै उपाध्यक्षहरुमा निर्मला प्रधान, सुभेक्षा कार्की, अशेष थापा र न्यूटन कार्की चयन हुनु भएको उप्रेतीले सेतोपत्रलाई जानकारी दिनु भयो ।
जेसीजको बिधान अनुसार महासचिब, सचिब र कोषाध्यक्ष निर्वाचित अध्यक्षले मनोनयन गर्ने ब्यवस्था भएकाले त्यसलाई पदहस्तान्तरण अगावै अध्यक्षले मनोनयन गर्ने समेत निर्वाचन अधिकृत उप्रेतीले बताउनु भयो । जेसीजमा एक पद एक कार्यकाल र एक कार्यकाल एक बर्षको मात्र हुने अन्तराष्ट्रिय प्रचलन नै छ ।
नवनिर्वाचित अध्यक्ष बराल युवा ब्यवशायी हुनुहुन्छ । भेटेरीनरी प्राविधिक समेत रहनु भएका मेचीनगर २, भृकुटी निवासी बरालले आफ्नै पशु पंक्षी उपचार सेवा सञ्चालन गर्नु भएको छ । ब्यवशायसंगै सामाजिक सेवा र राजनितिमा समेत सक्रिय बराल नेकपा मेचीनगरको सचिवालय सदस्य तथा वडा नं. २ का इन्चार्ज हुनुहुन्छ । बरालले केही समय काकरभिट्टामा रहेको रेडियो साथीमा कार्यक्रम प्रस्तोताको जिम्मेवारीमा समेत रहेर काम गरिसक्नु भएको छ ।