अर्जुनधारा, पुस २३ ।।
क्यान्सर भन्ने बित्तिकै हामी जो कोही पनि एक पटक आत्तिन्छौं । क्यान्सर रोग लागे पछि मृत्यु नै हुन्छ भन्ने बुझाइ अहिले पनि हाम्रो समाजमा ब्याप्त छ । तर हाम्रै समाजको अर्को पाटो हेर्ने हो भने क्यान्सर जस्तो प्राण घातक रोगलाई जीतेर आफ्नो जीवनलाई नै सहज बाटोमा हिंडाएकाहरु पनि यो समाजमा नै भेटिन्छन ।
क्यान्सर रोग जीत्ने मात्रै होइन आफ्नो दैनिकीलाई ब्यवशायीक बनाउँदै मासिक रुपमा लाखौं आर्जन गर्ने उदहरणीय ब्यक्तित्वहरु पनि हाम्रै समाजमा छन । ती मध्ये कै एक हुनुहुन्छ झापा अर्जुनधारा नगरपालिका वडा नं. १० का युवा रमेशकुमार दाहाल ।
वहाँले समाजशास्त्र र जनसंख्या शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । दाहाललाई २०६९ सालको पुस महिनामा क्यान्सर देखियो । त्यसबेला वहाँ अविबाहित हुनुहुन्थ्यो । उमेरले करिब दुईकोरी टेक्नै लागेको थियो । क्यान्सर जाति भए पछि नै ४२ बर्षीय दाहालले ४ बर्ष अघि बिवाह गर्नु भयो । दाहाल दम्पत्तीको अहिले ३ बर्षे छोरो छ ।
यस्तो थियो दाहालको क्यान्सर :
जिब्रोमा मासु पलाएर केही अप्ठ्यारो भए पछि काठमाण्डौको त्रिबि शिक्षण अस्पतालमा परिक्षण गराउँदा क्यान्सर प्रमाणित भयो । तत्काल अप्रेशन गरेर जिब्रोको मासु निकाल्नु पर्ने चिकित्सकको सल्लाहा अनुसार क्यान्सर भन्ने थाहा पाएको सातौं दिनमा त्रिबि शिक्षण अस्पतालमा नै दाहालको अप्रेशन सम्पन्न भयो । जिब्रोको आधा भाग नै काटेर फाल्नु परेको दाहाल सुनाउनु हुन्छ ।
जिब्रोमा क्यान्सर भयो भन्ने थाहा पाउँदा दुइ वटा कुरा मात्र मनमा आएको दाहाल स्मरण गर्नुहुन्छ । वहाँले सेतोपत्रसंग कुरा गर्दै भन्नु भयो,‘मर्छु भन्ने त लागेकै थिएन । जिब्रो आधा चिरेर फाल्नु पर्ने भए पछि बोली आउँछ कि आउँदैन भन्ने थियो र अब बोल्ने पेशा गर्न सकिदैंन भने अबको पेशा के हुने भनेर मन पिरोलिएको थियो ।’
राष्ट्रिय योजना आयोगको करारको जागिर खादैं गर्दा क्यान्सर देखिए पछि काठमाण्डौमा नै उपचार गराउने योजना थियो । तर अप्रेशन पछि तत्काल रेडिएसन दिनु पर्छ भन्ने चिकित्सकले सल्लाहा दिए पछि रेडिएसनकै लागि चितवनस्थीत क्यान्सर अस्पतालमा भर्ना भएर करीब एक महिना रेडिएसन सहित क्यान्सरका अन्य उपचार गरे पछि अहिलेसम्म कुनै समस्या नरहेको दाहाल बताउनु हुन्छ ।
राष्ट्रिय योजना आयोग, रुम टु रिड, एसियाली बिकास बैंकको सहयोगमा सञ्चालित सामाजिक आर्थिक अध्ययन परियोजना, न्यूएरा जस्ता संस्थाहरुमा काम गरिसक्नु भएका दाहाल क्यान्सरको उपचार पछि झापास्थीत घरमा आएर आराम गरेर बस्न थाल्नु भयो ।
बिरामी हुनु भन्दा पहिलाको तुलनामा बोलीमा केही फरक भएको दाहाल बताउनु हुन्छ तर काम गर्न कुनै समस्या नभएको वहाँको भनाइ छ ।
यसरी शुरु भयो ब्यवशाय :
घरमा आएर करीब तीन बर्ष बिताए पछि अब घरमै बसेर आयआर्जनको के काम गर्न सकिन्छ भनेर सोच्न थाल्नु भएका दाहालले गाउँघरकै दुध संकलन गरेर डेरी उद्योगलाई बिक्रि गर्ने योजना बनाउनु भयो । आफ्नो योजना अनुसार मेचीनगरको एनएमसी डेरी उद्योगसंग वहाँले आफ्नो कुरा राख्नु भयो । उद्योगले वहाँको योजना अनुसार दुध किन्ने बताए पछि दाहालले शुरुमा ४० हजारको लगानीबाट छरछिमेकीका दुध संकलन गरेर मोटरसाइकलमार्फत दैनिक डेरी उद्योगमा पुर्याउने काम गर्नु भयो ।
दैनिक २० लिटर दुधबाट शुरु भएको वहाँको चिस्यान केन्द्र अहिले दैनिक ८ सय लिटर भन्दा बढी दुध संकलन गरेर डेरी उद्योगलाई बिक्रि गरिरहेको छ । चिस्यान केन्द्र शुरुवात भएको ४ बर्षमा लगानी समेत ४० हजारबाट बढेर करीब १० लाख पुगेको दाहाल बताउनु हुन्छ । सेतोपत्रसंग कुरा गर्दै वहाँले भन्नु भयो,‘दुध पनि दैनिक बढीरहेको छ तेही अनुसार लगानी पनि बढ्दै गएको छ । यो लगानी यहिंबाट कमाएको पैसा नै हो ।’
अहिले दाहालको चिस्यान केन्द्रमा एक हजार लिटर र ४ सय लिटर दुध भण्डारण क्षमताका दुई वटा चिलिङ भ्याट छन । जसले गाउँबाट संकलन भएको दुधलाई चिसो पारेर राख्छ अनि डेरी उद्योगमा पठाउँछ । शुरुमा जस्तो दाहाल अहिले आफु डेरीमा दुध पुर्याउन जानु पर्दैन । अर्जुनधारा–१० चुथाइ स्थीत दाहालले आफ्नै घरमा सञ्चालन गरेको चिस्यान केन्द्रमा दुध लिन दैनिक उद्योगको ट्याकंर नै पुग्छ ।
दाहालका अनुसार चिस्यान केन्द्रको मासिक कारोबार १२ लाख बढी छ भने मासिक आम्दानी मात्रै करीब एक लाख छ । आम्दानीका बारेमा वहाँले भन्नु भयो,‘चिस्यान केन्द्रले मलाई धेरै राम्रो आम्दानी दिएको छ । त्यसैले मैले अरु कुनै काम गर्ने कुरा सोचेको छैन । अहिले महिनामा एक लाख त सजिलै कमाइरहेको छु ।’ डेरी उद्योगबाट पैसा आए पछि किसानलाई घर घरमै पुर्याइदिने गरेको दाहाल बताउनु हुन्छ । दाहाल भन्नु हुन्छ,‘पाक्षीक रुपमा डेरी उद्योगले रकम खातामा हाल्छ र त्यो रकम आफुलाई दुध दिने किसानलाई घर घरमै पुर्याइदिने गरेको छु ।’ दाहाल भन्नुहुन्छ,‘अहिले आनन्द छ ।’