काकरभिट्टा, पुस २४ ।
दाङको लमहीमा भर्खरै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको बिजेता प्रदेश १ का खेलाडीहरुलाई आज काकरभट्टिामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
अरुणोदय अग्रेजी माविले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा प्रदेश १ बाट खेल्ने सबै महिला क्रिकेट खेलाडीहरुलाई सम्मान गरिएको बिद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुइटेलले जानकारी दिनु भयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भगिरथ राइको सभापत्वि तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ भट्टराईले खेलाडीहरुलाई ढुक्क भएर खेलमा मात्रै लाग्नका लागि स्थानीय सरकारले प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । वहाँले भन्नु भयो,‘खेलाडीलाई आफ्नो भविश्यको चिन्ता नहुने गरी सरकारले प्रोत्साहन गर्नु पर्छ । त्यसमा पनि आम जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले खेलाडीहरुको संरक्षणका लागि बिशेष योजना नै सञ्चालन गर्नु पर्छ ।’
खेलाडीलाई सम्मान गर्दै प्राज्ञ सुभद्रा भट्टराई ।
कार्यक्रममा सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौला, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, महिला क्रिकेट टिमका कोच बिरु श्रेष्ठ, खेलाडी काजोल श्रेष्ठ, स्मृति कटुवाल लगायतले मन्तब्य राख्नु भएको थियो । बिद्यालयको तर्फबाट खेलाडीहरुलाई अबिर, माला सहित नगद र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
अरुणोदय मावि परिषरमा नै आयोजना गरिएको कार्यक्रममा बिद्यालयका प्रिन्सीपल दुर्गा लुइटेलले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने बिद्यालयका खेल शिक्षक राजकुमार बिश्वकर्माले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बिद्यालयका शिक्षक सिएन गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगिता बिजेता प्रदेश १ का १४ जना महिला क्रिकेटर मध्ये १२ जना मेचीनगर नगरपालिकाकै छन भने अधिकाशं वडा न. ६ काकरभिट्टाकै छन ।