भदौ १४, झापा ।।
आज झापाका ८ जनामा कोरोनाको स्थानीय संक्रमण पुष्टि भएको छ । स्वास्थय कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापाको कन्काई नगरपालिकाका ३ महिला र ५ पुरुष गरी ८ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कन्काई नगरपालिका वडा नं १, ३ र ७ का रहनु भएको छ ।
आज थप ८ जनामा कोरोना देखिदा झापामा कोरोना संक्रमितको संख्या ५५६ पुगेको छ । जसमा ४१५ जना संक्रमण मुक्त हुँदा १४१ जना आइसोलेशनमा रहनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उता नेपालमा आज हालसम्मकै उच्च १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ७१७ वटा पीसीआर परीक्षणमा १२ सय २१ जनामा कोरोना भेटिएको हो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।
त्यस्तै प्रदेश नं १ मा आज झापाका ८ सहित मोरङ ४९, सुनसरी ३३, इलाम १, पाँचथर १, संखुवासभा २, ओखलढुंगा ४, जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल पीसीआर परीक्षणको संख्या ६ लाख ८२ हजार ३४३ पुग्दा साढे ३८ हजारबढीमा संक्रमण भेटिएको छ ।
आज थप २६७ जना निको भएर डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या २० हजार ८२२ पुगेको छ । जुन कुल संक्रमितको ५४ प्रतिशत रहेको छ । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १७ हजार ५१८ जना रहँदा क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७९७ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयका अनुसार कोरोनाका संक्रमित मध्ये १४४ जना आइसियूमा रहँदा भेन्टिलेटरमा रहनेको संख्या १७ रहेको छ ।
आज थप १४ जनाले ज्यान गुमाए
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको ज्यान गएको छ । ४ महिला र १० पुरुष सहित १४ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
आज सुनसरीका १ महिला र मोरङका १ महिला तथा १ पुरुष समेत गरी देशभरमा १४ जनाको ज्यान गएको हो । योसंगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या २२१ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।