मेचीनगर, पुस २४ ।
झापा मेचीनगर–१२ मा सञ्चालित दन्तकाली बोर्डिङलाई पठन पाठन सञ्चालन नगर्नु भनि मेचीनगर नगरपालिका कार्यालयले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न नगराउन उच्च अदालत इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ ।
नगरपालिकाले पुस ५ गते बिद्यालयलाई पठन पाठन सञ्चालन नगर्न पत्रचार गरेको थियो । उक्त पत्र बदर गरी बिद्यालय सञ्चालन गर्न माग गर्दै बिद्यालय सञ्चालकहरु अदालत पुगेका थिए ।
सञ्चालकहरुको माग दाबी उपर निर्णय गदै उच्च अदालत इलामले पुस २३ गते बिहिबार पठन पाठन नरोक्न मेचीनगर नगरपालिकाको नाममा दोस्रो पटक अन्तरिम आदेश जारी गरेको हो ।
यस अघि पुस १२ गते पनि अदालतले सोही ब्यहोराको आदेश मेचीनगरका नाममा जारी गरेको थियो । अदालतले पछिल्लो निर्णयमा समेत पुस १२ गतेको फैसलालाई नै निरन्तरता दिएको उल्लेख गरेको छ । न्यायधिशहरु बिष्णुप्रसाद कोइराला र सोमकान्त मैनालीको संयुक्त इजलासले बिद्यालयलाई पठन पाठन सञ्चालन गर्न उत्प्रेषण परमादेश जारी गरेको हो ।
नगरपालिका र शिक्षा शाखाको अकर्मण्यताका कारण आफूहरू मारमा परेको दन्तकाली इङलिस बोर्डिङ स्कुलका सञ्चालकले गुनासो गर्दै आएका छन । नगरपालिकाले चालु आर्थिक वर्षको कर असुलउपर गरेर पनि विद्यालय स्थान्तरणमा आनाकानी गरेर झमेला गरेको सञ्चालकहरुको भनाइ छ ।
एक बिगाहा जमिनमा भवन निर्माण गरिसकेको, ७०३ जना विद्यार्थी अध्ययन गरिरहेको बेला नगर शिक्षा शाखाले बखेडा गरेको सञ्चालन अर्जुनकुमार बस्नेतले बताउनु भयो । मेचीनगर १० मा रहेको दन्तकाली इङलिस बोर्डिङ स्कुल अहिले मेचीनगर १२ को माइलाबारीमा सञ्चालित छ । कम्पनी रजिष्टर्डको कार्यालय त्रिपुरेश्वरको कार्यालयले सो विद्यालय ०७६ चैत ४ गते नै मेचीनगर १२ मा राख्न स्वीकृती प्रदान गरेको देखिन्छ ।
पहिला सो विद्यालय रहेको वडा कार्यालय मेचीनगर १० ले स्तानान्तरण र हाल विद्यालय रहेको वडा कार्यालय मेचीनगर १२ मा सञ्चालन अनुमति समेत दिइसकेको अवस्था छ । विद्यालय सञ्चालनको सहमति दिनु पर्ने नियमानुसार दन्तकालीलाई नजिकका दुई विद्यालय कालिका आधारभूत र शहीद दशरथ चन्द माध्यमिक विद्यालय चारआलीले समेत सहमति सिफारिस दिएका छन ।
नगर शिक्षा समितिको ७७ जेठ ६ गते बसेको बैठकले ९ वटा विद्यालयलाई स्तानान्तरण, कक्षा थप र विषय थपका लागि अनुमति दिने निर्णय गरेको छ । तर दन्तकालीलाई भने स्थानान्तरण गर्न नगरपालिकाले आलटाल गरिरहेको छ ।