प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै प्रदेशमा कमजोर देखिनु भएको छ । आफ्ना पूर्व सहकर्मीहरुको तुलनामा प्रदेश एकको संगठन संरचनामा ओली निकै कमजोर देखिनु भएको हो । ओली समुह प्रदेशसभामा अल्पमतमा देखिएको छ । त्यस्तै प्रदेश १ को अधिकांश जिल्ला नेतृत्वमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह निकै बलियो देखिएको छ ।
प्रदेशका १४ जिल्ला इन्चार्जमध्ये १३ जना प्रचण्ड–नेपाल समूहमा देखिदा १ जना मात्रै केपी शर्मा ओलीको समूहमा देखिएका छन । नेकपाका प्रदेश १ का जिल्ला इन्चार्जहरु ताप्लेजुङका भास्कर काफ्ले, पाँचथरका इन्द्रबहादु आङ्बो, इलामका धिरेन्द्र शर्मा, झापाका रबिन कोइराला, मोरङका घनेन्द्र बस्नेत, सुनसरीका धर्मराज निरौला, धनकुटाका हेमराज भण्डारी र तह्रथुमका जयन्ती राई प्रचण्ड–नेपाल पक्षमा खुलेर लागेका छन ।
त्यसैगरी संखुवासभाका इन्चार्ज राजेन्द्र राई, भोजपुरका सुदन किराँती, सोलुखुम्बुका हेमकुमार राई, ओखलढुंगाका यज्ञराज सुनुवार र उदयपुरका बलदेब चौधरी पनि प्रचण्ड नेपाल समुहमा नै खुलेका छन । खोटाङका इन्चार्ज बिशाल भट्टराई ओली पक्षमा देखिए पनि सह–इन्चार्ज समिता कार्की प्रचण्ड नेपाल पक्षमा नै खुल्नु भएको छ ।
जिल्ला अध्यक्षहरुमा ताप्लेजुङका बिजय बनेम, सुनसरीका योगेन्द्र मण्डल, तेह्रथुमका लक्ष्मण तिवारी, संखुवासभाका हेमराज घिमिरे, उदयपुरका विनोद कटुवाल, खोटाङका देवान चाम्लिङ, ओखलढुंगाका मोहनकुमार खड्का प्रचण्ड–नेपाल समूहमा खुलेका छन । त्यस्तै ओली समूहका जिल्ला अध्यक्षहरुमा पाँचथरमा राजकुमार भण्डारी, इलाममा राम राना, झापाका चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानवीर राई रहेका छन । ओली पक्षमा सोलुखुम्बूको जिल्ला कमिटी बलियो देखिएको छ । जिल्ला अध्यक्षमा भने दुवैको ‘हैसियत’ समान जस्तै देखिएको भएपनि अधिकांशमा ओली पक्ष कमजोर रहेको छ ।
प्रदेश १ को जिल्ला सचिव पनि दाहाल–नेपाल समूहकै बढी छन । उक्त समूहमा ११ जिल्ला सचिव ख्ल्दा ओली समूहमा दुई जना मात्रै छन । अधिकांश जिल्ला सचिव र इन्चार्ज तथा अध्यक्षहरु प्रचण्ड–नेपाल पक्षमा खुलेर लागेका छन । उदयपुरका जिल्ला सचिव इश्वरमणी राउत यसअघि ईश्वर पोखरेल समूहमा भएपनि अहिले खुलरै प्रचण्ड–नेपाल समूहमा लाग्नु भएको छ ।