इटाभट्टा, पुस २२ ।
झापाको मेचीनगर जनसंख्या र बार्षिक बजेटका हिसाबले देशकै पहिलो नम्बरमा आउँछ । पुर्वाधार र सचेतनाका हिसाबले पनि मेचीनगर अग्रपंक्तिमा नै आउँछ । पुर्वी नाकाको शहरका रुपमा रहेको मेचीनगरको राजधानी हो इटाभट्टा बजार क्षेत्र । नगरकार्यपालिकको कार्यालय इटाभट्टामा नै रहेकाले पनि यसलाई मेचीनगरको राजधानीका रुपमा लिने गरिएको छ ।
मेचीनगर नगरपालिकाको १५ वटा वडा मध्ये धेरै वडाहरुको संगमस्थलका रुपमा रहेको इटाभट्टा बजार क्षेत्र मुलत मेचीनगर वडा नं. ७ र ८ मा पर्छ । नगरका वडा नं.१,२ र ३ को साबिकको बाहुनडाँगी क्षेत्र, त्यस्तै वडा नं. १५ रहेको साबिकको ज्यामिरगडी क्षेत्रको बजारको रुपमा समेत इटाभट्टा परिचित छ । त्यसो त मेचीनगर वडा नं. ५ र ६ का लागि पनि इटाभट्टा बजार पायक पर्ने क्षेत्रमा पर्छ ।
सबै हिसाबले मेचीनगरको केन्द्र बनेको इटाभट्टा बजार क्षेत्रमा अहिलेसम्म पनि सार्वजनिक शौचालय बन्न सकेको छैन । सार्वजनिक शौचालयको अभावमा निक्कै समस्या भएको इटाभट्टाका स्थानीयहरु बताउँछन ।
इटाभट्टा बजारमा सबैभन्दा पहिलो आवश्यकता भनेको नै सार्वजनिक शौचालयको हो भन्नु हुन्छ इटाभट्टा चौकका पुराना ब्यवशायी धरणी भट्टराई । सेतोपत्रसंग कुराकानी गर्दै भट्टराईले भन्नु भयो,‘इटाभट्टा बजारमा सबैभन्दा पहिला सार्वजनिक शौचालय चाहिएको छ । मन्दीर बनाउनु भन्दा पहिला शौचालय बनाउनु पर्छ भनेर म भन्दै आइरहेको छु ।’ सार्वजनिक शौचालय बन्ने भयो भने आफुले सकेको आर्थिक सहयोग पनि गर्ने भट्टराईले बताउनु भयो ।
भट्टराईका अनुसार सार्वजनिक शौचालय नहुँदा मानिसहरु घर घरमा आउने गरेको र जोसुकैलाई घर भित्र जान दिन पनि समस्या हुने गरेको छ । भट्टराईले सेतोपत्रलाई भन्नु भयो,‘अभर परेर मान्छे आउँछन घरको शौचालयको चाबी नदिउँ त उ अभर परेको हुन्छ, दिउँ त कस्तो मान्छे हो कसरी घर भित्र पठाउनु ।’
इटाभट्टामा सार्वजनिक शौचालय बनाउने बिषयमा केही अघि छलफल पनि भएको तर शौचालय बन्ने तर्फ भने काम हुन नसकेको इटाभट्टाका स्थानीय समेत रहनु भएकी नेकपा जिल्ला सदस्य सबिता दाहाल बताउनु हुन्छ । वहाँले भन्नु भयो,‘इटाभट्टामा सार्वजनिक शौचालय अनिवार्य नै भएको छ । केही समय पहिला सबै राजनितिक दल बिच शौचालय बनाउने कुरामा सहमति पनि भएको थियो तर किन निर्माण भएन मलाई थाहा छैन ।’
बाहुनडाँगी, ज्यामिरगढी, काकरभिट्टा र धुलाबारी सबैतिरका मानिस भेला हुने ठाउँ भएकाले पनि इटाभट्टामा सार्वजनिक शौचालय अति आवश्यक भएको युवा राजनितिज्ञ रुपसागर अधिकारी बताउनु हुन्छ । अधिकारीले भन्नु भयो,‘इटाभट्टा भनेको मेचीनगरको केन्द्र हो, यहाँ अनेक कामले मान्छे आउँछन, भिडभाड पनि बढ्दो छ तर सार्वजनिक शौचालय नहुँदा निक्कै समस्या परेको छ ।’
मेचीनगर नगरकार्यपालिकाको कार्यालय समेत रहेको इटाभट्टाको बजारलाई ब्यवस्थीत बनाउँदै एउटा सार्वजनिक शौचालय बनाउने तर्फ भने मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुको समेत ध्यान पुगेको देखिदैंन ।