काकरभिट्टा, पुस २१ ।
कोभिड १९ का कारण दश महिनादेखि बन्द रहेको पुर्वी नाका पूर्ण रुपमा खुलाउन पहल गर्ने सरोकारवालाहरुले सामुहिक प्रतिबद्धता जनाएका छन । पुर्वीनाका सहजीकरणका लागि आज गरिएको सरोकारवालाहरुको छलफल कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनालीले नाका खुलाउन संघीय सरकारसंग पहल भइरहेको र छिट्टै पुर्वी नाका पूर्ण रुपमा खुला हुने बताउनु भएको छ । कार्यक्रममा बोल्दै सांसद मैनालीले भन्नु भयो,‘मैले गृहमन्त्रालयमा कुरा गरेको छु, अब बस्ने मन्त्री परिषदको बैठकमा गृह मन्त्रालयले नाका खोल्ने प्रस्ताव लान्छ ।’
भारतले समेत नाका केही खुकुलो बनाएको अवस्थामा नेपाल सरकारले पनि मंसीर ३० गते पछि नाका बन्दको अर्को निर्णय नगरेको समेत सांसद मैनालीले बताउनु भयो ।
मेची बस ब्यवशायी प्रालीको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले स्थानीयस्तरको ब्यवहारिकता हरेर भए पनि नाका खुकुलो बनाउनु पर्ने बताउनु भयो । आचार्यले भन्नु भयो,‘भारतको केन्द्रीय सरकारले नाका खुला नगरेको भए पनि स्थानीय ब्यवहारिकता हेरेर नाका सजिलो बनाएको छ अब हामीले पनि त्यसै गर्नु पर्छ ।’ नाका सहजीकरण गर्ने कुरामा स्थानीयलाई आवश्यक परेको सहयोग आफु र नगरपालिकाले जहिले पनि गर्ने नगरप्रमुख आचार्यले बताउनु भयो ।
नाका बन्द भएर समस्या भोगिरहेका स्थानीय होटल तथा पर्यटन ब्यवशायीहरुको धारण स्थानीय सरकार र प्रदेश तथा संघिय माननियहरुले सुन्नु पर्ने नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले बताउनु भयो । वहाँले भन्नु भयो,‘आफ्ना नागरिकहरुको गुनासो चुनाव जितेर गएका सबै तहका जनप्रतिनिधिहरुले सुनेर समस्या समाधान गर्नु पर्छ ।’
कार्यक्रममा बोल्दै होटल ब्यवशायी संघ मेचीनगरका अध्यक्ष शुरेश श्रेष्ठले कोभिडका कारण सबैभन्दा बढी मारमा परेको होटल ब्यवशाय धराशायी भएकाले होटलमा लगानी गरेका ब्यवशायीहरु पलायन हुने क्रम बढेको बताउनु भयो । वहाँका अनुसार काकरभिट्टामा मात्रै ३३१ वटा होटल रहेकोमा अहिले २५० भन्दा कम मात्र होटल रहेको र अन्य होटलहरु बन्द भएको बताउनु भयो । होटल तथा पर्यटन ब्यवशाय सहजताका लागि पनि तत्काल पुर्वी नाका खोलेर भारततर्फबाट आउने पर्यटकहरुलाई सजिलो बनाउनु पर्ने श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमका बक्ता इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बिगतको भन्दा नाकामा केही सहजीकरण गरिरहेको बताउनु भयो । वहाँले भन्नु भयो,‘अहिले निश्चित प्रक्रिया पुरा गरेर दुवै देशमा आवत जावत हुने गरेको छ तर हामीले माथीको आदेश अनुसारमात्रै काम गर्नु पर्ने भएकाले नाका पुरा खुला गर्न सरकारकै आदेश चाहिन्छ ।’
कार्यक्रममा जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, होटल ब्यवशायी संघका केन्द्रीय महासचिव राजु कार्की, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष बिना तामाङ, प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, ब्यवशायी केशब गिरी लगायतले पुर्वी नाकालाई ब्यवस्थीत गरेर खुला गर्नु पर्ने बताउनु भयो ।
होटल ब्यवशायी संघका अध्यक्ष शुरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम नेत्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।