इटाभट्टा, भदौ १४ ।।
झापा शिवसताक्षी नगरपालिका वडा नं. १० की बाढी पिडित एकल महिला तारा शेर्माको घर निर्माणका लागि मेची अभियानलाई हङकङबाट एक लाख सहयोग प्राप्त भएको छ ।
शेर्माको घर निर्माणका लागि हङकङ नेप्लीज मोबाइल फोटोग्राफि फेसबुक समुहका तर्फबाट आज एक लाख नगद हस्तान्तरण गरिएको हो । आज बिहान मेचीनगर ७ इटाभट्टा स्थीत सेतोपत्र डटकमको कार्यालयमा समुहकी सदस्य तथा सञ्चारकर्मी भुमिका सुब्बाले अभियानका संयोजक बिजय डालमियालाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको थियो ।
फेसबुक समुहमा तारा शेर्माको घर निर्माणसंग सम्बन्धीत फोटो आफुले पोष्ट गरे पछि समुहका सदस्यहरुले रकम संकलन गरेर पठाएको रकम हस्तान्तरणका अवसरमा सुब्बाले बताउनु भयो ।
असार १२ गते कन्काई नदिमा आएको बाढीले घर बगाएर अलपत्र अवस्थामा रहनु भएकी साना साना ५ जना छोराछोरीकी आमा तारा शेर्माको घर निर्माणका लागि मेचीनगरस्थीत मेची अभियानले शिलान्यास समेत गरिसकेको छ ।
एक बर्ष अघि श्रीमान गुमाएकी ताराको घर निर्माणका लागि शिवसताक्षी नगरपालिकाको तर्फबाट वडा नं. ११ को जनता आवासका लागि तयार गरिएको जग्गा उपलब्ध गराएको छ ।
एकल महिला त्यो पनि स साना नानीहरुलाई हुर्काउनु पर्ने दायित्व अनि घर पनि खोलाले बगाएको सुन्ने बित्तिकै घर बनाइदिने संकल्प गरेको मेची अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो । संयोजक डालमियाका अनुसार बिभिन्न सहयोगी दाताहरुसंग रकम संकलन गरी मेची अभियानले संयोजन गरेर बाढी पिडित शेर्माको घर निर्माण गरिने छ ।
अवस्था सामान्य भएमा तिहार अघि नै शेर्मालाई नयाँ घरमा प्रवेश गराउने उद्देश्यले अभियानले काम गरिरहेको संयोजक डालमियाले बताउनु भयो । डालमियाका अनुसार शिलान्यास पछि घर निर्माणको काम शुरु भएको छ ।