बिर्तामोड, पुस १७ ।
झापाको बिर्तामोडमा एक बर्ष अघि सञ्चालनमा आएको पुर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आएका बिरामीहरु मध्ये १० प्रतिशत भन्दा बढीमा क्यान्सर रोग देखिएको छ ।
अस्पतालको पहिलो बार्षिक उत्सवको अवसरमा आज आयोजित एक कार्यक्रममा बोल्दै पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा बिरेन्द्र यादबले एक बर्षमा २६ हजार बिरामीलाई उपचार सेवा प्रधान गरेको बताउनु भयो । डा यादबका अनुसार अस्पतालमा उपचार गराउन आएका मध्ये दुई हजार ७ सय जनामा नयाँ क्यान्सर रोग देखा परेको थियो । एक बर्षमा ४१३ जनालाई रेडिएशन मार्फत उपचार गरेको डा यादबले जानकारी दिनु भयो । त्यस्तै एक बर्षमा ३ हजार ३ सय ५६ जनाको बायप्सी गरिएको समेत बार्षिक उत्सव कार्यक्रममा डा यादबले बताउनु भयो ।
क्यान्सर अस्पतालको बार्षिक उत्सबमा बोल्दै बिएण्डसी तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दक्षिण एसियाकै अत्याधुनिक उपकरण सहित क्यान्सरको उपचार सेवा शुरु गरेको बताउनु भयो । देशका बिभिन्न जिल्लादेखि भारतबाट समेत क्यान्सरको उपचार गर्न पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने गरेको भए पनि अझै पनि झापाकै बिरामीहरु भने अन्यत्रै जाने अवस्था भएको प्रसाईले सुनाउनु भयो ।
हरेक मानिसले पहिला आफ्नो स्वास्थ्यको बारेमा सुरक्षीत भएर मात्रै अरु कुराहरुमा ध्यान दिनु पर्ने बताउँदै प्रसाईले क्यान्सरको बिश्वकै अत्याधुनिक मेशीनका रुपमा भर्खरै निर्माण भएको साइबर नाइफ मेशीन पुर्वाञ्चल क्यान्सर अस्पतालमा जडान गर्ने तयारी भइरहेको समेत बताउनु भयो ।
अस्पतालको बार्षिक उत्सव कार्यक्रममा बिएण्डसी अस्पतालका मेडिकल डाइरेक्टर डा निराजन पराजुली, बरिष्ठ चिकित्सक डा उमेश शर्मा र पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मोहन काजीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले सञ्चालन गर्नु भएको कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।