मेचीनगर, पुस १५ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनको असर प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा समेत नराम्री परेको छ । गृह जिल्ला झापामा ओली नेतृत्वको समुह कमजोर देखिएको छ । जिल्लाको नेतृत्व तहमा ओली समुह संख्यात्मक रुपमा कमजोर देखिएको हो ।
झापाको १७७ सदस्यीय जिल्ला कमिटिमा ११० जना माधब प्रचण्ड समुहको नेकपा पक्षमा देखिएका छन भने ६७ जना ओली पक्षीय नेकपामा रहेको देखिन्छ । त्यस्तै ५९ सदस्यीय जिल्ला सचिवालय कमिटिमा ३५ जना माधब प्रचण्ड पक्षमा र २४ जना ओली पक्षमा रहेको नेकपा झापाका इन्चार्ज तथा माधब नेपाल समुहका केन्द्रीय सदस्य रबिन कोइरालाले बताउनु भयो । सेतोपत्रसंग कुराकानी गर्दै कोइरालाले भन्नु भयो,‘जिल्लाका सबै कमिटि बहुमतमा छौं । जिल्ला कमिटिमा ११० जना र सचिवालयमा ३५ जनाको संख्या छ ।’
इन्चार्ज कोइरालाका अनुसार जिल्लाको ७ सदस्यीय कार्यालय कमिटिमा सचिव सहित ५ जना प्रचण्ड माधब समुहमा र जिल्ला अध्यक्ष सहित २ जना ओली समुहमा रहनु भएको छ । सचिवालयका ७ जना मध्ये जिल्ला अध्यक्ष चिन्तन पाठक र प्रेम गिरी ओली समुहमा र सचिव मणीकुमार साम्पाङ सहित मोहन टुडु, राजेन्द्र दाहाल, चन्द्रा श्रेष्ठ र अरुण श्रेष्ठ प्रचण्ड माधव पक्षमा उभिएका छन ।
झापाबाट प्रदेश सांसदमा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ११ जना प्रदेश सांसदहरुमा पनि प्रचण्ड माधब समुह अगाडी रहेको छ । मुख्यमन्त्री शेरधन राइ बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्याका आधारमा झापाबाट प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ६ जना प्रचण्ड माधब समुहमा र ५ जना ओली समुहमा रहेका छन ।
संख्यात्मक आँकडा हेरेर होइन परिणामका आधारमा आफुहरु जिल्लामा बहुमतमा रहेको ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताउनु भयो । सेतोपत्रसंग कुराकानी गर्दै पाठकले भन्नु भयो,‘जिल्लामा हामी बहुमतमा छौं । सबैसंग महत्वपूर्ण बिषयमा छलफल चलिरहेको आधारमा हामी बहुमतमा छौं भन्न सक्छु ।’
पाठकले भन्नु भयो,‘बिगतमा माओबादी रहनु भएकाहरुको बारेमा केही भन्न सक्दिन तर सुर्य चिन्ह लिएर चुनाव जित्नु भएकाहरु सबै हामीसंग रहनु हुन्छ ।’
नेकपा बिभाजन पछि झापामा ओली र प्रचण्ड माधब पक्ष दुवैले जिल्ला पार्टी कार्यालयमा कुनै पनि कार्यक्रम नराखेको नेकपा झापा स्रोतले बताएको छ । तत्काल कुनै सहमति वा पार्टी कार्यालय आफ्नो बनाउने बिषयमा कुनै छलफल नचले पनि पार्टी कार्यालय भन्दा बाहिर नै कार्यक्रम गरेर दुवै पक्षले सौहार्दता देखाएको नेकपाका एक जिल्ला कमिटि सदस्यले सेतोपत्रलाई बताउनु भयो ।