मेचीनगर, पुस ७ ।
झापा क्षेत्र १ को ‘ख’ बाट निर्वाचित प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी नेकपा केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओली नेतृत्वको नेकपाको आज बसेको केन्द्रीय कमिटिको बैठकले बुढाथोकीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको केन्द्रीय सदस्य तथा झापा अध्यक्ष चिन्तन पाठकले सेतोपत्रलाई जानकारी दिनु भयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न केन्द्रीय समितिको बैठकले झापाबाट बुढाथोकी सहित थप १७ जनालाई नेकपाको केन्द्रीय सदस्यमा मनोनित गरेको जिल्ला अध्यक्ष पाठकले बताउनु भयो ।
केन्द्रीय समितिको निर्णय बारे आफुलाई जानकारी नभएको प्रदेश सांसद बुढाथोकीले सेतोपत्रलाई बताउनु भयो । झापा मेचीनगर निवासी बुढाथोकीले भन्नु भयो,‘ एउटै पार्टीको दुई वटा केन्द्रीय समितिको बैठक बसेको अवस्था छ, पार्टीको निर्णय बारे मलाई केही जानकारी छैन ।’
नेकपाका झापाबाट थप भएका केन्द्रीय सदस्यहरुमा हरिचरण बानियाँ, हरिचरण शिवाकाटी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दिपक कार्की, चिन्तन पाठक, हरि राजबंशी, देबेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिरा थापा र विश्व बराल समेत केन्द्रीय सदस्यमा मनोनित हुनु भएको पाठकले सेतोपत्रलाई जानकारी दिनु भयो ।
आज केन्द्रीय सदस्यमा मनोनित हुनेमा गजमेर प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री हुुनुहुन्छ भने साँवा र बिक बिघठित प्रनिनिधिसभा सदस्य हुन । त्यस्तै कार्की र थापा प्रदेश सांसद हुनुहुन्छ भने काफ्ले झापाको कमल गाउँपालिका अध्यक्ष हुनुहुन्छ । गौतम संविधान सभा सदस्य र शिवाकोटी राष्ट्रिय सभाका पुर्व सदस्य हुनुहुन्छ ।