मेचीनगर, मंसिर २५ ।
प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्कीले सरकारी बजेटमा ७० प्रतिशत अनियमितता हुने गरेको बताउनु भएको छ । झापा मेचीनगर वडा नं. ११ मा निर्माण भएका १३ वटा पुलको बिहिबार एकैसाथ उदघाटन गर्दै संघीय सांसद कार्कीले सरकारी रकममा कर्मचारीतन्त्रले रित पुर्याउने नाममा ठुलो रकम अनियमितता हुने र जनप्रतिनिधिहरुले समेत अनियमिततामा सघाउने गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै सांसद कार्कीले भन्नु भयो,‘हामीले ब्यवस्था फेर्यौ तर कर्मचारीतन्त्र फेरेनौं, अहिले पनि नेपालको कर्मचारीतन्त्र राणा शासनकै पालाको जस्तो छ, त्यसैले सरकारी बजेटमा ठुलो रकम अनियमितता हुने गरेको छ ।’ शासन ब्यवस्था फेर्न पटक पटक आन्दोलन भए पनि कर्मचारीतन्त्र फेर्न कसैको ध्यान नपुगेकाले अहिले जनप्रतिनिधिले राम्रै काम गर्दा पनि त्यसको कार्यन्वयनमा कर्मचारीतन्त्रका कारण समस्या हुने गरेको कार्कीले बताउनु भयो ।
जनप्रतिनिधिहरुले आफन्तका नामबाट ठेकापट्टामार्फत अनियमितता गरिरहेको सांसद कार्कीले दाबी गर्नु भयो । वहाँले भन्नु भयो,‘कर्मचारीतन्त्रसंगै जनप्रतिनिधिहरु पनि आफन्तलाई ठेकापट्टा दिलाएर त्यस मार्फत अनियमितता गर्न लागेका छन ।’ संसद मार्फत बिकास निर्माण गर्न छुट्टीने बजेटमा आफुले भने पारदर्शी काम गरेको र एक रुपैया पनि अनियमितता नगरेको सांसद कार्कीले स्पष्ट पार्नु भयो । झापा क्षेत्र नं. १ मा संघीय र प्रदेश सांसदहरुमार्फत छुट्टीएको रकम यस क्षेत्रका जनताको नाममा खर्च गरेको सांसद कार्कीले बताउनु भयो ।
पुल उदघाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले शासन सत्तामा बसेकाहरुले नै जनभावना अनुरुप काम गर्न नजानेको बताउनु भयो । वहाँले भन्नु भयो,‘शासन सत्ता सञ्चालन गर्नेहरुले अपेक्षा अनुसार काम गर्न जानेका छैनन तर पनि काम नै नभएको भन्ने होइन ।’ प्रदेश सांसद बुढाथोकीका अनुसार यो बीचमा केही राम्रा र दीर्घकालिन महत्वका काम भएको भन्दै त्यसको प्रभाव आम नागरिकसम्म पुग्न सकेको छैन । मेचीनगर वडा नं. ११ का विभिन्न गाउँहरुले एक अर्कामा जोडिनसम्म नपाएर बिकट जस्तो अवस्था भएकोमा अब त्यो अवस्थाबाट बिस्तारै सबै गाउँ एक अर्कामा जोडिने गरी पुल र सडकको निर्माण भएको सांसद बुढाथोकीले बताउनु भयो ।
झापा मार्गस्थीत भानु आधारभुत बिद्यालयको पश्चिम तर्फको नागरडुब्बा खोलामा बनेको पुल उदघाटनसंगै वडामा बनेका १३ वटा पुलको एकै साथ उदघाटन भएको घोषणा गरिएको थियो ।
मेचीनगर वडा नंं ११ का अध्यक्ष सन्तोष मेचेको सभापतित्वमा सम्पन्न पुल उदघाटन कार्यक्रम मार्फत वडामा आर्थिक बर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्म निर्माण भएका १३ वटा पुलहरुको एकै साथ उदघाटन गरिएको थियो । १३ वटा पुलका लागि बिभिन्न स्रोतमार्फत २ करोड ५१ लाख ६० हजार रकम खर्च भएको वडा अध्यक्ष मेचेले बताउनु भयो ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, नेकपाका नेता हरिचरण बानियाँ, प्रकाश भण्डारी, नेकपा मेचीनगरका अध्यक्ष माधब अर्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मेचीनगर ११ वडा कार्यालयका कर्मचारी दिपा खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।