काकरभिट्टा, मंसिर २० ।
हिन्दुराष्ट्र, स्थापना, राजतन्त्रको पुर्नबहाली र संघियताको खारेजीको माग गर्दै राप्रपा नेपालले आज झापामा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । काकरभिट्टा देखि शुरु भएको र्याली बिर्तामोडमा पुगेर समापन भएको र्याली हजारौंको संख्यामा मानिसहरु सहभागि भएका थिए ।
मोटरसाइकल र्याली उदघाटनका क्रममा सेतोपत्रसंग कुराकानी गर्दै र्यालीका नेतृत्वकर्ता तथा राप्रपाका पुर्व महामन्त्री सांसद राजेन्द् लिङदेनले धर्मनिपेक्षता, गणतन्त्र र संघियता असफल भएको बताउनु भयो । गणतन्त्र र धर्मनिरपेक्षताले आम नागरिकले केही पाउन नसकेकाका कारण आम मानिस अब राजतन्त्र र हिन्दु धर्म पुर्नस्थापनाका लागि सडकमा निस्किएको लिङदेनले बताउनु भयो ।
हिजो गणतन्त्र ल्याउन अग्रमोर्चामा खटेका युवाहरु नै आज राजतन्त्रको स्थापना र संघियताको खारेजीका लागि देशब्यापी रुपमा आन्दोलित भएको लिङदेनले बताउनु भयो ।
र्यालीको समापन समारोह बिर्तामोडमा बोल्दै राप्रपाका नेता राम थापाले गणतन्त्रबादी नेताहरु दलालका रुपमा स्थापित भएको र उनीहरु भ्रष्टचारमा लिप्त भएकाले अब राजतन्त्र र हिन्दुधर्म स्थापनाको बेला आएको बताउनु भयो ।
र्यालीलाई सम्बोधन गर्दै प्रजातान्त्रीक युवक संगठनका केन्द्रीय उपाध्यक्ष तथा र्याली आयोजक समितिका संयोजक धु्रर्व उप्रेतीले गणतन्त्र पक्षधर भनिएका राजनितिक दल र तिनका नेता कार्यकर्ताले राप्रपाका नेता कार्यकर्तालाई अबरोध गर्ने कार्य गरे त्यसलाई शसक्त प्रतिबाद गर्ने बताउनु भयो । वहाँले केपी ओली नेतृत्वको सरकार भ्रष्टचारमा डुबेकोले त्यसको भण्डाफोर गर्न युवाहरुलाई आवहान गर्नु भयो ।
आजको र्यालीमा दश हजारभन्दा बढी मोटरसाइकल र बीस हजार भन्दा बढी मानिस सहभागि भएको राप्रपा झापाले दाबी गरेको छ । र्याली पछिको सभा अध्यक्ष अम्बर बहादुर बिष्टको सभापत्विमा सम्पन्न भएको थियो ।