धुलाबारी, मंसिर १६ ।।
झापा मेचीनगर १० धुलाबारीका ३८ बर्षिय राजेश दनुवारलाई मंसिर ४ गते मेचीनगर १३ को चारआली चोकबाट केही दक्षिणमा मोटरसाइकलले ठक्कर दियो । दुर्घट्नामा परि गभ्भिर घाइते भएका दनुवारको सोही रात १२ बजे उपचार कै क्रममा निधन भयो । दनुवारको निधन भएको आज १२ दिन भइसक्यो तर अहिलेसम्म वहाँलाई ठक्कर दिने मोटरसाइकल र चालक दुवै पत्ता लाग्न सकेको छैन ।
ट्रयाक्टर मजदुरका रुपमा काम गर्दै आएका दनुवार उक्त दिन मेचीनगर १४ को हिमालय सिमेन्ट उद्योगमा सिमेन्ट लोड अनलोडको काम गर्न गएको र काम सकेर बाहिर निस्किदा मोटरसाइकलले ठक्कर दिएको मृतकका दाजु मोहन दनुवारले बताउनु भयो ।
साँझ करीब साढे ६ बजेको समयमा चारआली चन्द्रगढी सडक खण्डको हिमालय सिमेन्ट उद्योगको केही उत्तर तर्फ दनुवारलाई मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाइ उधृत गर्दै दाजु मोहनले बताउनु भयो ।
दुघट्ना लगत्तै मोटरसाइकल सहित चालक फरार भएको र उसलाई पनि केही चोट पटक लागेको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन । तर अहिलेसम्म प्रहरीले ज्यान लिने गरी दुर्घट्ना गराउने ब्यक्तिको पहिचान गर्न सकेको छैन ।
दुर्घट्ना पछि फरार रहेको मोटरसाइकल चालकलाई खोजी गर्ने कार्यमा प्रहरीले लापरबाही गरेको दनुवार परिवारको आरोप छ । मृतकका दाजु मोहनका अनुसार १२ दिनसम्म पनि प्रहरीले मृतकको परिवारसंग कुनै सम्पर्क गरेको छैन ।
मृतक राजेशलाई ठक्कर दिने मोटरसाइकल र चालकको पहिचानका लागि एउटा टोली नै बनाएर खोजी गरिरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । प्रहरीका अनुसार दुर्घट्ना गराउने ब्यक्तिको खोजीलाई तिब्र पारिएको भए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।
मान्छेको ज्यान लिने गरी भएको दुर्घट्नामा संलग्नलाई पक्राउ गर्न प्रहरीले ढिला गरेको प्रति धुलाबारीका युवाहरुले आक्रोस पोखेका छन । स्थानीय युवाहरुले तत्काल दुर्घटना गराउने ब्यक्तिको पहिचान गर्न र मृतक परिवारलाई न्याय दिलाउन माग समेत गरेका छन ।
मृतक परिवारलाई न्याय दिलाउन कडा कदम समेत चाल्न पछि नपर्ने धुलाबारीका युवा बिपि भट्टराईले बताउनु भयो । वहाँले भन्नु भयो,‘मान्छे मरेको १२ दिन भइसक्यो तर प्रहरी चुपचाप बसेको छ । यदि प्रहरीले लापरबाही गर्न खोजे संघर्षमा उत्रन्छौं र दनुवार परिवारलाई न्याय दिलाएर छोड्छौं ।’
परिवारको अभिभावक गुमाएर सन्तान बिचल्ली भएको अवस्था छ तर आफ्ना बाबुलाई कसले ठक्कर दिएर मार्यो भन्ने समेत छोराछोरीले थाहा नपाउने कुरालाई सामान्य मान्न नसकिने स्थनीय युवा प्रकाश खड्काले बताउनु भयो । वहाँले भन्नु भयो,‘यो सामान्य घट्ना होइन । प्रहरीको काम गराइ हेर्दा शंका गर्ने थुप्रै ठाउँ छन त्यसैले हामी राज्य पक्षको बिषेश ध्यानाकर्षण गराउँछौं ।’
मृतक राजेशकी श्रीमती बैदेशीक रोजगारको सिलसिलामा बिगत तीन बर्षदेखि कुवेतमा हुनु हुन्छ भने १७ बर्षका छोरा र १५ बर्षका छोरीले अहिले बुवाको काजकिरिया गरिरहनु भएको छ ।