बर्तमानमा उभिएर नेपाली पत्रकारीता जगतलाई हेर्दा नेपाली पत्रकारीताले सिंगो इतिहासलाई नै बोकेको स्पष्ट देखिन्छ । विश्व बजारमा भित्रिएका नविनतम प्रविधिलाई आफ्नो सामथ्र्यले भ्याएसम्म प्रयोग गर्दै जुनसुकै परिस्थितिमा समेत पनि आम नागरिकको सूचना पाउने हकलाई कुनै न कुनै रुपले नेपालका सञ्चारमाध्यमहरुले जिवन्त राखेका छन ।
नेपाली प्रेस जुनसुकै कालखण्डमा पनि परिवर्तनको पक्षमा ठिंङ्ग भिएको छ । हामी छापा, रेडियो र टेलिभिजनको युग हुँदै अनलाईन माध्यमसम्म आईपुगेका छौं । पछिल्लो समय अनलाईन समाचार पोर्टलहरु सञ्चालन हुने क्रम बाक्लैदैं गए पनि छापा, रेडियो र टेलिभिजनको आज पनि आफ्नो ठाउँमा उत्तिकै महत्व छ । तर पनि अहिले अनलाइन माध्यमहरुको पहुँच आम मानिसमा बिस्तार हुँदै गएको छ ।
अनलाईन माध्यमले पढ्ने, सुन्ने र हेर्ने तिनै वटा माध्यमलाई एकै साथ लिएर हिंड्न सक्ने भएकै कारण आज अनलाईन समाचार पोर्टलहरुको लोकप्रियता बढ्दै गएको छ । बर्तमानको बिश्वमहामारी कोभिड १९ का कारण त झन छापा, टिभि र रेडियोहरु सञ्चालनको समस्या भोगिरहेका बेला अनलाईनका माध्यमले आम मानिसले सुचना पाइरहेका छन । पछिल्लो समय अनलाईनका माध्यमहरु खोलिने एउटा कारण कोभिड १९ को महामारी पनि हो ।
यही परिप्रेक्षमा झापाको मेचीनगरबाट सञ्चालन हुने गरी कहिल्यै नसुनिएका अनि कहिल्यै नहेरिएका नागरिकका कथा प्रकाशन प्रसारण गर्ने उद्देश्यले हामीले आजदेखि सेतोपत्र डटकमको प्रकाशन आरम्भ गरेका छौं ।
सेतोपत्रले अनलाईनको प्राविधिक पक्षमा आफुलाई केही फरक रुपमा प्रस्तुत गरेको छ भने स्थानीयस्तरमा समेत लेखकीय क्षमता भएका ब्यक्तिहरुलाई पहिचान गरी वहाँहरुको बिचारलाई आम नागरिकमाझ पुर्याउने उद्देश्य बोकेको छ । स्थानीय बिषयलाई राष्ट्रिय खबर बनाउने र एउटा बिषय उठान गरिसके पछि त्यसको निष्कर्षमा नपुगेसम्म सेतोपत्रले निरन्तरता दिइरहने छ ।
अनलाईनहरुको भीडमा स्थापित हुन सेतोपत्र डटकमले केही चुनौतीहरुको सामना पक्कै पनि गर्नु पर्ने नै हुन्छ तर आफु स्थापीत हुने नाममा हामी कहिल्यै गुणस्तरहीन र कपोकल्पित सामग्रीहरु प्रकाशन गर्ने छैनौ, यो हाम्रो प्रतिवद्धता हो । नेपाली समाजको साँस्कृतिक, भाषिक, राजनितिक र संस्थागत संरचनाको चरित्रलाई बुझेर कुनै ब्यक्ति वा संस्थाको प्रभाव भन्दा टाढा रहेर आम नेपाली नागरिकको पक्षमा उभिने गरी सेतोपत्रको टिम निरन्तर लागिरहने छ ।
सेतोपत्रलाई आम पाठकसम्म पुर्याउँदा अवश्य पनि हामी, व्यापारी र कर्पोरेट हाउसहरु साथै सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समेत जोडिने छौं तर समाचार र यसको मुल मर्ममा हामी कहिल्यै व्यापार गर्ने छैनौ । पत्रकारिताको व्यवसायिकतामाथी उभिएर हामी त्यसको मुल मर्मलाई आत्मसाथ गर्नेछौ, हामी समाचारको मर्मलाई ब्यापारको माध्यम बनाउने छैनौं ।
हाम्रा प्रस्तुतीहरुले विभिन्न दातृसंस्था र बिज्ञापनदाताहरु समेत आर्कर्षित हुनेछन भन्ने हामीले विश्वास लिएका छौं । सेतोपत्रको टिमले आगामी दिनमा सबैसंगको सहकार्य र सकारात्मक आलोचनाको अपेक्षा गरेको छ । आजका दिनदेखि सेतोपत्र डटकमलाई सबैले दैनिक हेरिदिनु हुन अनुरोध गर्दछौं । धन्यबाद ।