मेचीनगर, मंसिर १५ ।
मेचीनगर नगरपालिका कार्यालयले सामान्य मर्यादा पनि नराखेको भन्दै झापा क्षेत्र नं. १ का संघिय सांसद राम कार्कीले रोष प्रकट गर्नु भएको छ । संघिय सरकारको बजेट मार्फत निर्माण हुने १५ शैय्याको अस्पताल भवनको शिलान्यास कार्यक्रममा संघिय र प्रदेश सांसदहरुलाई खबर नै नगरेको प्रति असन्तुष्टी जनाउँदै सांसद कार्कीले भन्नु भयो,‘नगरपालिका बढी स्मार्ट भाको होला । स्थानीय सरकारले पुरा गर्नु पर्ने सामान्य धर्म पनि मेचीनगरले निर्वाह गरेन ।’ अस्पताल शिलान्यासको बिषयमा नगरपालिकाले आफुलाई कुनै जानकारी नदिएको सांसद कार्कीले सेतोपत्रलाई बताउनु भयो ।
कार्कीले भन्नु भयो,‘यो कार्यक्रम संघिय सरकारले ल्याएको निति र बजेट मार्फत सम्पन्न हुने हो । यसका बारेमा केही दिन देखि नै सार्वजनिक भइसकेको थियो । सामान्यतया संघिय सरकारको बजेटका कार्यक्रमहरुमा सांसदलाई बोलाउने गरिन्छ तर मेचीनगरले त्यसो गरेन ।’ यस खाले चरित्रले मेचीनगरको बिकास निर्माणमा नै नकरात्मक असर पर्ने संघिय सांसद कार्कीले बताउनु भयो ।
अस्पताल शिलान्यासका बारेमा प्रदेश सांसदहरुले समेत थाहा नपाएको बताउनु भएको छ । सेतोपत्रसंग कुराकानी गर्दै प्रदेश १ का सांसद गोपाल बुढाथोकीले भन्नु भयो,‘अस्पताल शिलान्यास गर्ने कुरा अनौपचारिक रुपमा सुनें र नगरपालिकाले कुनै खबर गरेन । किन खबर गरेन भन्ने कुरा नगरपालिकाले नै जानोस ।’
बुढाथोकीले भन्नु भयो,‘नगरमा अस्पताल चाहिन्छ भनेर संघिय सरकारसंग पटक पटक कुरा उठाउने बेलामा नगरपालिकासंगै हामी पनि थियौं तर आज शिलान्यास गर्ने बेलामा नगरपालिकाले हामीलाई खबर गरेन ।’ संघीय र प्रदेश सांसदहरु यतै भएको बेला पनि यस्तो महत्वपूर्ण कार्यक्रममा खबर नगर्नुलाई ठिक मान्न नसकिने सांसद बुढाथोकीले बताउनु भयो ।
अस्पताल बन्नु राम्रो कुरा भएको बताउँदै शिलान्यास गर्दा यस क्षेत्रका सांसदहरुलाई खबर नगर्नु गतल भएको प्रदेश सांसद श्रीप्रसाद मैनालीले बताउनु भयो । सांसद मैनालीले सेतोपत्रसंग कुराकानी गर्दै भन्नु भयो,‘सरकारले देशब्यापी रुपमा शिलान्यास गर्ने भनेर तय गरेको कार्यक्रममा अन्यत्र सांसद, मन्त्री र स्थानीय तहका प्रमुखहरु सहभागि भएको थाहा भयो तर हाम्रो नगरपालिकाले हामीलाई खबर नै गरेन ।’
मेचीनगरको वडा नं. १० स्थीत धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रको पश्चिम तर्फ पशु बजार लाग्ने स्थानमा आज १५ शैय्याको अस्पताल भवनको नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
मेचीनगरमा बन्ने अस्पतालका लागि १८ करोड ६५ लाख संघिय सरकारले रकम बिनियोजन गरेको नगरपालिकास्रोतले बताएको छ ।
नेपाल सरकारको निर्णय अनुसार आज एकै साथ ३०९ स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।