भदौ १३, झापा ।।
झापाको मेचीनगरमा राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादे माथि भएको कुटपीटको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रतिबद्धता ब्यक्त गरेको छ ।
शनिबार झापाको चारआलीमा संयुक्त दलित संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी पीडित पक्षलाई न्याय दिलाउने पक्षमा कुनै कसुर बाँकी नराखिने प्रतिबद्धता जनाइएको हो ।
मेचीनगर १३ स्थित चारआलीमा गत भदौ ८ गते राति चन्द्रकला र उहाँका श्रीमान सुमन खाती माथि जातीय दुरब्यवहार गर्दै कुटपीट भएको घटना सार्वजनिक भएको थियो ।
मेचीनगर १३ कै दुर्गा श्रेष्ठ र श्रीमती विष्णुमाया श्रेष्ठले आफूहरु माथि जातीय दुब्र्यहार र अपशब्द प्रयोग गर्दै कुटपीट गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दर्ता गरेको थियो । त्यस लगत्तै पिडक श्रेष्ठ दम्पत्तीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
पत्रकार सम्मेलनमार्फत दलित संगठन तथा अधिकारकर्मीहरुले पीडितलाई न्याय दिलाउने सन्दर्भमा इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक कैलाश चौधरीले घटनालाई ढाकछोप गर्दै अनुसन्धानलाई तोडमोड गर्ने काम गरेको आरोप समेत लगाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राजनीतिक दलित संघर्ष समिति झापाका अध्यक्ष हुकुम सिंह नेपालीले घटनाको सन्दर्भमा जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन २०६८ वमोजिम मुद्धा दर्ता भई सकेको बताउँदै पीडितलाई न्याय दिलाउने सवालमा कुनै पनि सम्झौता र सहमती हुनै नसक्ने बताउनु भयो । पीडित परिवारका अनुसार मुद्धा फिर्ता लिन पिडककोतर्फबाट आर्थिक प्रलोभन सहितको दबाव आइरहेको छ ।
मेचीनगर कार्यपालिका सदस्य निरु परियारले अहिलेको समयमा समेत यस्ता घटना हुनुले नेपालमा जातीय भेदबाव कुन स्थितिसम्म रहेको छ भन्ने देखाएको बताउँदै अब आगामी दिनमा यस्ता घटना नदोहोरियोस भन्नका लागि समेत झापाका विभिन्न दलित संगठनहरुले संयुक्त रुपमा मुद्धा दर्ता गराएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा अधिकारकर्मी सुरेश बराईली, मुक्ति समाज झापाका अध्यक्ष भोला परियार, दलित उत्थान समन्वय समिति अध्यक्ष ध्रुव कनाल लगायतले धारणा राख्दै पीडितलाई न्याय दिलाउने क्रममा सहयोग पु¥याउन सम्बन्धित सबैमा अपिल समेत गर्नु भएको छ ।
७ महिनाको गर्भवती अवस्थामा रहेकी एथ्लेटिक्सकी कर्तीमानी राष्ट्रिय खेलाडी लाम्गादेले पत्रकार सम्मेलनमा बोल्दै घटना भएको दिन देखि नै आफुलाई पेट फुल्ने समस्या भएको र स्वास प्रश्वासमा समेत असहज भएको बताउनु भएको छ । पीडित चन्द्रकला लाम्गादे उपचार पछि अहिले अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।