मेचीनगर, मंसिर १३ ।
झापामा मृगौला रोगीको संख्या तिब्र रुपमा बढीरहेको छ । रोगीको संख्याको बृद्धिको तुलनामा त्यसको उपचारमा भने बृद्धि हुन सकेको छैन । मृगौला रोगीका लागि अत्यावश्यक उपचार भनेको प्रत्यारोपण र नियमित डायल्यासिस नै हो । त्यसमा पनि मृगौला प्रत्यारोपण निक्कै महङ्गो र मृगौला दिने मानिसको समस्याका कारण पनि अधिकाशं मृगौला रोगीका लागि जीवन बचाउने एउटै उपचार हो नियमिति डायल्यासिस ।
नियमित सेवा लिने भन्दा डायल्यासिस गराउन पालो पर्खिनेहरुको संख्या अत्याधिक भएकाले पनि झापामा मृगौला रोगीहरु समस्यामा पर्दै गएका छन । झापाका मृगौला रोगीले सरकारले ब्यवस्था गरेको निशुल्क डायल्यासिस सेवाका लागि पालै नपाउने अवस्था छ । झापामा दैनिक ६० देखि ६५ जनाले मात्रै डायल्यासिस सेवा लिइरहेका छन । तर जिल्लामा डायल्यासिस गराउन अस्पतालमा नाम टिपाएर पालो पर्खेर बसेका मृगौला रोगीको संख्या भने १३० भन्दा बढी रहेको डायल्यासिस गराउने अस्पतालहरुको तथ्याङ्कले देखाउँछ ।
निशुल्क डायल्यासिस सेवामा पालो पाउनका लागि गराइरहेको बिरामीको कि त प्रत्यारोपण हुनु पर्यो या त मृत्यु नै हुनु पर्ने अवस्था भएको मेची अस्पतालका बरिष्ठ मेडिकल निरीक्षक मनोजकुमार पोखरेलले बताउनु भयो । सेतोपत्रसंग कुराकानी गर्दै पोखरेलले भन्नु भयो,‘मेची अस्पतालमा दैनिक ९ जनाले निशुल्क डायल्यासिस गराइरहेका छन तर ८० जना बिरामीले निशुल्क डायल्यासिस गराउनका लागि नाम लेखाएर पालो पर्खेर बसेका छन । गराइरहेका बिरामीको मृत्यु भए पछि मात्रै अर्काको पालो आउने अवस्था छ ।’
कुनै बिरामीले प्रत्यारोपण गर्यो वा मृत्यु भयो भने नाम लेखाएकाहरुलाई दर्ताका आधारमा माथील्लोक्रम अनुसार निशुल्क सेवामा नियमित डायल्यासिस गर्न खबर गर्ने गरेको पोखरेलले बताउनु भयो । प्रदेश सरकारको सहयोगमा मेची अस्पतालले तत्काल ५ वटा मेशीन जडान गर्न लागेको पोखरेलले बताउनु भयो ।
मृगौला रोगीको संख्या दैनिक बढीरहेका कारण सबैलाई डायल्यासिस सेवा दिन सकिने अवस्था नरहेको भद्रपुर स्थीत ओमसाइ पाथीभरा अस्पतालका निर्देशक बालकृष्ण पोखरेलले बताउनु भयो । बिरामीले डायल्यासिस गर्न नपाएर छटपट्टीएर मर्नु पर्ने अवस्था भएको पोखरेल बताउनु हुन्छ । पाखरेलले भन्नु भयो,‘हामीसंग अहिले पाँचवटा मेशीन बिहान साढे पाँच बजेदेखि बेलुका साढे आठसम्म चलाइरहेका छौं र दैनिक २५/२६ जना बिरामीलाई सेवा दिएका छौं । तर पालो पर्खिएर बस्नेको संख्या ५० भन्दा बढी छ ।’ निर्देशक पोखरेलका अनुसार दैनिक २० जना निशुल्क उपचार गर्ने र ५/६ जना आपतकालिन अवस्थामा डायल्यासिस गराउनु पर्ने अवस्थाका बिरामीलाई सेवा दिने गरेको छ । मृगौला रोगीको चापलाई हेरेर ओमसाइ अस्पतालले थप २० वटा मेशीन तत्काल जडान गर्न लागेको समेत पोखरेलले बताउनु भयो ।
खासगरी सरकारले दिने निशुल्क डायल्यासिसको लागि बिरामीहरुले पालो पर्खेर बसेका हुन । नियमित पालो नपाउनेहरुले शुल्क तिरेर डायल्यासिस गराइरहेका छन । जुन निक्कै महङ्गो पर्छ । एक पटक डायल्यासिस गरेको तीन हजारदेखि चार हजारसम्म पर्छ । तर सरकारले दिएको सुविधामा पालो पाउने हो भने डायल्यासिस निशुल्क गराउन पाइन्छ । एक जना मृगौला रोगीले सामान्यतया हप्तामा दुई पटक नियमित डायल्यासिस गराउनु पर्छ ।
नियमित डायल्यासिस गराइरहेका बिरामीहरुलाई हटाउँदा उनीहरुको जीवन जोखिममा पर्ने भएकाले नै नयाँ बिरामीलाई नियमित डायल्यासिस सेवा दिन नसकेको मेची अस्पतालकी डायल्यासिस विभागकी नर्सिङ्ग इन्चार्ज निरु कुवँर बताउनु हुन्छ । कुँवरका अनुसार प्रत्यारोपणमा गएको अवस्था वा मृत्यु भएको अवस्थामा मात्रै नियमित डायल्यासिसको लागि ठाउँ हुन्छ । कुवँरले भन्नु भयो,‘बिरामीको अवस्था हेर्दा नराम्रो लाग्छ तर के गर्नु एउटा बिरामीलाई हटाएर अर्कोलाई राख्न सकिदैंन ।’ कुवँरका अनुसार केही बिरामीलाई भने एक दुई महिना डायल्यासिस गराउँदा मृगौलाले पुन काम गर्ने गरी निको भएर फर्किएका पनि छन ।
मेशीनको मात्रै होइन झापामा डायल्यासिस गराउने स्वास्थ्यकर्मी जनशक्तिको समेत अभाव छ । थोरै जनशक्तिले समय ब्यवस्थापन गरेर भए पनि बिरामीको जीवन बचाउन काम गरिरहेको कुँवरले बताउनु भयो । वहाँले भन्नु भयो,‘एउटा मेशीनलाई दुई जना स्वास्थ्यकर्मी चाहिन्छ तर तीन वटा मेशीनमा पालो मिलाएर एक पटकमा दुई जनाले मात्रै भए पनि काम गरिरहेका छौं ।’
नियमित मेशीन चलाउनु पर्ने र मेशीनलाई आराम र मर्मत गर्न समेत समय नहुने भएकाले मेशीन बिग्रिने समस्या समेत रहेको मेची अस्पतालका डायल्यासिस टेक्निसियन डिल्लीराम पोखरेलले बताउनु भयो । टेक्निसियन पोखरेलले भन्नु भयो,‘मेशीन बिग्रियो भने स्थानीय स्तरमा मर्मत गर्न नसकिने अवस्था छ । कुनै कुनै मेशीन नेपालमा नै बनाउन सकिदैंन त्यस्तो बेलामा मृगौला रोगीलाई थप समस्या हुन्छ ।’ टेक्निसियन पोखरेलका अनुसार मेची अस्पतालको एउटा मेशीन बिग्रिएर थन्किएको छ । वहाँले भन्नु भयो, ‘हामीसंग भएको एउटा मेशीन बिग्रिएको छ तर बनाउने प्राविधिक नेपालमा नै छैन ।’
झापाका चारवटा अस्पतालमा जम्मा १५ वटा डायल्यासिस मेशीन छन । जसमा मेची अस्पतालमा ३ वटा मेशीनमा दैनिक ९ जनाले सेवा लिइरहेका छन, ओमसाइ पाथिभरामा ५ वटा मेशीनमा दैनिक २५ देखि २६ जनाले, बिर्तासिटिमा ४ वटा मेशीनमा १२ जनाले दैनिक सेवा लिइरहेका छन र बिएण्डसी अस्पतालमा ३ वटा मेशीन मार्फत दैनिक १५ देखि १६ जना मृगौला रोगीहरुको डायल्यासिसबाट उपचार चलिरहेको छ ।
ती मध्ये मेची अस्पताल सरकारी अस्पताल हो भने अरु तीन वटा निजि अस्पताल हुन । निति स्तरमा पनि बिर्तासिटि अस्पताल र ओमसाइ पाथिभरा अस्पतालले सरकारी सुविधाको निशुल्क डायल्यासिस सेवा उपलब्ध गराएका छन । त्यस्तै मेची अस्पतालमा निशुल्क डायल्यासिस सेवा मात्रै सञ्चालनमा रहेको छ । बिएण्डसी अस्पतालमा सरकारले दिने निशुल्क डायल्यासिस सेवा उपलब्ध छैन । बिएण्डसीले शुल्क लिएर मात्रै डायल्यासिस सेवा सञ्चालन गरेको छ ।