मेचीनगर, मंसिर १३ ।
झापा मेचीनगरमा कक्षा १२ का बिद्यार्थीहरु यतिबेला कोरोना भुलेर परीक्षा लेखिरहेका छन । कोरोना संक्रमण फैलिए पछि २०७६ को चैतमा हुनु पर्ने परीक्षा रोकिएर आठ महिना पछि सञ्चालन भइरहेको छ ।
परीक्षा दिन बिद्यार्थीहरु घरदेखि नै स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गरेर बिद्यालय पुग्छन । बिद्यालयहरुले पनि प्रवेशद्वारदेखि कक्षा कोठासम्म नै स्वास्थ्य सुरक्षाका बिधि अपनाएका छन । घरदेखि नै मास्क लगाएर आउने अनि बिद्यालयको मुल गेटमा साबुन पानीले हात धुने र स्यानिटाइजर लगाएर मात्रै परीक्षा दिने कोठामा पुग्ने गरेको धुलाबारी माद्यमिक बिद्यालयमा परीक्षा लेखिरहेकी मेचीनगर १५ की बिद्यार्थी मनिसा बुढाथोकीले बताउनु भयो । वहाँले भन्नु भयो,‘कोरोनाको त खासै डर छैन तर लामो समय बिदा भएर अचानक परीक्षा हुँदा भने पढेको कुरा समेत बिर्से ।’
परीक्षा हुने सुचना पाएको केही समयमा नै परीक्षा लेख्नु परेकाले केही समस्या भएको ज्यामिगढीकी बिद्यार्थी सज्जा पौडेलले सुनाउनु भयो । सज्जाले भन्नु भयो,‘कोरोनाको बेला परीक्षा दिन पहिलाको जस्तो सजिलो लागेन । कोरोनाको डरले गर्दा धेरै समय पढाइमा ध्यान गएको थिएन तर एक्कासी परीक्षा भएकाले पुरै पढ्न पाएको छैन ।’
कोरोनाको चिन्ता नभए पनि परीक्षाको तयारी गर्न नपाएकोले अरुबेलाको जस्तो परीक्षा दिन सजिलो नभएको बताउनु हुन्छ मेचीनगर ११ धाइजनका बिद्यार्थी किशोर माझी । माझीले भन्नु भयो,‘आठ महिना पर्खेर परीक्षा दिंदा कोरोनाको डर हराएको छ तर दशैं तिहारमा साथी भाइसग घुमफिरमा समय गयो त्यस पछि तुरुन्तै परीक्षा दिनु परेकाले अप्ठ्यारो लागेको छ ।’
सामाजिक दुरी कायम गरेर स्वास्थ्य सावधानी अपनाएर परीक्षा भइरहेकोले आफुहरु सुरक्षीत रहेको मेचीनगर १३ दुवागढीका बिद्यार्थी राजीब डाँगीले बताउनु भयो । वहाँले भन्नु भयो,‘कक्षा कोठामा डोरी टाँगिएको छ, एउटा बेन्चमा दुई जना मात्रै बिद्यार्र्थी छौं र अनिवार्य रुपमा मास्क, सेनिटाइजर लगाउनु पर्छ र ज्वरो समेत नापिन्छ । त्यसैले परीक्षा दिन कुनै समस्या छैन ।’
परीक्षा सञ्चालनका लागि प्राविधिक रुपमा कुनै समस्या नभए पनि मानसिक रुपमा त्रास भने कायम नै रहेको धुलाबारी माविका प्रधानअध्यापक महेन्द्रविलाश लुइटेलले बताउनु भयो । लुइटेलले भन्नु भयो,‘परीक्षा सञ्चालनका लागि प्राविधिक रुपमा कुनै समस्या छैन तर कुनै बिद्यार्थीलाई संक्रमण भइहाल्छ की वा कुनै शिक्षकलाई कोरोना देखिन्छ कि भन्ने त्रास चैं भएकै छ ।’ कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा आठ महिना पछि मंसिर ९ गतेदेखि देशभर एकै साथ सञ्चालन भइरहेको छ ।