धुलाबारी, मंसिर ७ ।
झापाको धुलाबारीमा जेष्ठ नागरिकहरुका लागि संरक्षण गृह निर्माणको तयारी शुरु भएको छ । मेचीनगर लेडी जेसीजको अगुवाइमा स्थापना भएको मेचीनगर लेडी जेसीज जगतदाता बृद्धा आश्रम नाम सामाजिक संस्थाले निर्माण गर्न लागेको संरक्षण गृहका लागि मेचीनगर १० का सामाजिक अगुवा ब्यक्तित्व दाताराम खनालले ४ कठ्ठा ८ धुर जग्गा समेत संस्थालाई हस्तान्तरण गरिसक्नु भएको संरक्षण गृहकी अध्यक्ष टिका सुवेदीले बताउनु भयो ।
अध्यक्ष सुवेदीका अनुसार संरक्षण गृहका लागि प्राप्त भएको जग्गामा संस्थाको नाममा पास भइसकेको र उक्त जमिनमा कम्पाउण्ड वाल लगाउने काम समेत सकिएको छ । चार बर्ष अघि स्थापना भएको संस्थाले जेष्ठ नागरिकहरुलाई सम्मान पुर्वक जीवनयापनका लागि संरक्षण गृह निर्माण गर्न लागेको अध्यक्ष सुवेदीले बताउनु भयो ।
घर परिवार हुने जेष्ठ नागरिकका लागि दिउँसोको समयमा आफ्ना उमेरका साथीसंगीसंग रमाउने र घर परिवार नभएका जेष्ठ नागरिकहरुले त्यही बस्ने ब्यवस्था सहितको संरक्षण गृह निर्माणको तयारी थालिएको अध्यक्ष सुवेदीले बताउनु भयो ।
अध्यक्ष सुवेदीका अनुसार धुलाबारीमा बन्ने जेष्ठ नागरिक संरक्षण गृहमा नर्सिङ सुविधा सहितको जेष्ठ नागरिकहरुलाई हेरचाह गरिनेछ । त्यस्तै जेष्ठ नागरिक सहित असक्त, असहाय तथा एकल ब्यक्तिहरुलाई सामाजिक सुरक्षा सहायता तथा आश्रय प्रदान संरक्षण गृहले गर्नेछ । जेष्ठ नागरिकहरुलाई आवास, स्वस्थ खानपान र उचीत स्याहार समेत संरक्षण गृहमा गरिने अध्यक्ष सुवेदीले बताउनु भयो । वहाँका अनुसार संरक्षण गृहको भवन जेष्ठ नागरिक र असक्त अपाङ्ग मैत्री बन्नेछ ।
गृह निर्माणका लागि भवनको नक्सा तयार भइसकेको र अब निर्माणको काम शुरु गरिने संरक्षण गृह निर्माण समितिका संयोजक पंकजबिक्रम नेम्वाङ्गले बताउनु भयो । संयोजक नेम्वाङ्गका अनुसार जेष्ठ नागरिक संरक्षण गृह निर्माणका लागि आर्थिक ब्यवस्थापनको काम शुरु गरेका र केही समय पछि नै औपचारिक रुपमा भवन निर्माणको काम शुरु हुनेछ । दुइ तला भवन र भान्साघर सहितका पुर्वाधार निर्माणका लागि मात्रै पनि तत्काल एक करोड ५० लाख भन्दा बढी रकम चाहिने संयोजक नेम्वाङ्गले बताउनु भयो ।
पाँच तलाको भवन बनाउने योजना अनुसार तत्कालका लागि दुई तलाको भवन निर्माण गरिने संयोजक नेम्वाङ्गले जानकारी दिनु भयो । वहाँले भन्नु भयो,‘संरक्षण गृहको भवन निर्माणका लागि छुट्टै रकमको ब्यवस्थापन गर्नु पर्नेछ र त्यसका लागि संघिय सरकारसंग पहल शुरु भएको र सरकारले सहयोग गर्ने आश्वासन प्राप्त भएको छ ।’ समाजका अग्रज अभिभावकहरुको संरक्षणका लागि बन्न लागेको भवनको निर्माणका लागि स्थानीय र प्रदेश सरकार तथा दानबिर मानुभावहरुको समेत सहयोग आवश्यक भएको निर्माण समिति संयोजक नेम्वाङ्गले बताउनु भयो ।
तत्काल दुई तलामा २० वटा कोठा निर्माण गरिने र पछि थप निर्माण गर्दै लैजाने अध्यक्ष सुवेदीले जानकारी दिनु भयो । वहाँले भन्नु भयो,‘अहिले दुई तलामा एजेष्ट शौचालय सहितको २० वटा कोठा बन्छ र त्यस बाहेक भान्सा घर अलग्गै बन्नेछ ।’ संरक्षण गृहमा बस्नेहरुको रमाइलोका लागि फुलबारी सहित अन्य पुर्वाधार समेत एउटै परिषर भित्र बनाइने अध्यक्ष सुवेदीले बताउनु भयो ।
समाजलाई मार्गदर्शन गर्न सक्ने जेष्ठ नागरिकहरुको जीवनलाई सहज बनाउन निर्माण हुन लागेको यस संरक्षण गृहको भवन निर्माणका लागि सबैले सहयोग गरिदिन संस्थाका अध्यक्ष सुवेदी र निर्माण समिति संयोजक नेम्वाङ्गले सबैसंग आव्हान समेत गर्नु भएको छ ।