विभिन्न प्रिन्ट मिडिया, अनलाइन न्युज पोर्टल तथा सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीकै कारण समाजमा धारणा निर्माण हुन्छन । समाजमा राम्रा धारणा निर्माण गर्नसक्नुलाई सञ्चार क्षेत्रको शक्ति मानिन्छ । तर सञ्चार माध्यमबाट राम्रा मात्रै सामग्री प्रकाशन तथा प्रसारण हुँदैनन । झुटा सामग्रीले समाजमा नकारात्मक प्रभाव पार्दछन । ठूला ठूला शक्ति राष्ट्रहरूको चुनावी परिणाम प्रभावित गर्नेदेखि समाजमा सामाजिक सद्भाव खलबल्याउने जस्ता घटनामा पनि सञ्चार क्षेत्रको प्रभाव रहि आएको छ । विश्वभरि यस्तो खालको प्रचलन देखिन्छ । सञ्चार क्षेत्रको मुख्य कर्तव्य सामाजिक सद्भाव र सहिष्णुता कायम राख्ने हो । नकारात्मक प्रवृत्ति भएका तथा समाजमा द्वन्द्व बढाउने प्रवृत्तिका मानिसहरू गलत तथा अप्रमाणित कुरा प्रचार गर्न उद्यत रहन्छन । त्यसैले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि निरन्तर सन्देह छ ।
झुटा समाचार सम्प्रेषण गर्नेहरूकै भिडमा आम मानिसको सञ्चार माध्यमप्रति रहेको विश्वसनीयता जोगाउन राम्रा सञ्चार माध्यमहरू निरन्तर क्रियाशील छन । तापनि सञ्चार माध्यम मात्रैको सक्रियताबाट यो कार्य सम्भव देखिँदैन । यस्तो परिस्थितिमा पाठकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचार सामग्रीको उपादेयता त्यति बेला मात्रै पूर्ण हुन्छ जब पाठकले उक्त सामग्री पत्याउँछन । पाठकले पत्याउनु नै सञ्चार माध्यमप्रतिको विश्वसनीयता हो । तर, पाठकले नै झुटा कुरालाई सत्य ठान्छन् अनि पत्याउन बाध्य बनाइन्छन भने समस्या जटिल बनेको बुझिन्छ । यस्तो बेलामा सञ्चार साक्षरताको आवश्यकता हुन्छ ।
हाम्रो देशमा पछिल्लो समयमा भ्युअर्स बढाउने नाममा खोलिएका युट्युब च्यानल झुटा सामग्री सम्प्रेषणमा सक्रिय छन् । सामग्रीको विश्वसनीयता, सत्यापन र सामाजिक दायित्व केही पनि नभएका युट्युबरहरूले दर्शक तथा श्रोताहरूको ध्यान खिच्न सनसनी मच्चाउने खालका सामग्री छिन छिनमा अपलोड गरिरहेका हुन्छन । निर्मला पन्तको हत्या, रवि लामिछानेको पक्राउ तथा कृष्ण बहादुर महराको केसमा युट्युबमा अपलोड गरिएका सामग्रीको शीर्षक, भ्युअर्स, लाइक, सेयर र कमेन्टको सङ्ख्या हेर्दा ती च्यानलको आधिकारिकता, बैधता र विश्वसनीयता नरहेको स्पष्ट हुन्छ । त्यस्ता सामग्री फेसबुकमा सेयर गर्नेहरू अधिकतम किशोर किशोरी हुन्छन साथै पढेलेखेका र समाजमा गन्यमान्य मानिएका पनि हुन्छन । यसरी एउटा उमेर समूह नै झुटा समाचारको पछि लाग्ने र त्यसैको आधारमा धारणा निर्माण गर्ने अवस्था हुनु समाजका लागि गम्भीर समस्या हो ।
झुटा समाचारको प्रचार र सामाजिक प्रभाव रोक्ने सबैभन्दा महत्त्वपूण कार्य भनेको नै पाठकले त्यस्ता समाचार अस्वीकार गर्नु हो । यस्तो अवस्थामा सञ्चार साक्षरता अत्यावश्यक हुन्छ । यसको सुरुवात विद्यालय तहबाटै गर्नुपर्ने देखिन्छ । हाम्रो संविधानले आधारभूत तहसम्मको शिक्षा निशुल्क र अनिवार्य हुने व्यवस्था गरेको छ । त्यसैले आधारभूत तहबाटै सञ्चार साक्षरतालाई विद्यालय शिक्षणमा समावेश गराउन सकिए झुटा समाचार र त्यसको सामाजिक असर न्यूनीकरण गर्न सकिन्छ । साथै सञ्चार माध्यम पनि सच्चिन कर लाग्छ भने भ्युअर्स बढाउन खोलिएका त्यस्ता युट्युब च्यानल र अनलाइन न्युज पोर्टल पनि स्वतः बन्द हुन पुग्छन ।
विद्यालय तहको पाठ्यक्रममा सञ्चार साक्षरता पाठ्यवस्तुको रूपमा समावेश छैन । त्यसैले यसको कार्यान्वयन चुनौतीपूर्ण हुने देखिन्छ । तर, यो असम्भव कार्य भने होइन । पाठ्यक्रमको शिक्षण समयावधि, पूर्णाङ्क जस्ता सीमा हुन्छन । त्यसैले हाम्रा सबै आवश्यकता पाठ्यक्रमका पाठ्यवस्तुमा समेटिँदैन । हाम्रो देशमा सामान्यतया पाँच वर्षमा पाठ्यक्रम परिमार्जन र दश वर्षमा परिवर्तन गर्ने प्रचलन रहेको छ । पाँचदेखि दश वर्षमा हाम्रा सामाजिक अवश्यकता धेरै परिवर्तन भइसकेका हुन्छन । यसरी हेर्दा समकालीन कतिपय हाम्रा आवश्यकता, समस्या र मुद्दाहरू पाठ्यवस्तुका रुपमा पाठ्यक्रममा समावेश छैनन । यस्तै समस्याको तत्कालको आवश्यकताको रुपमा सञ्चार साक्षरता रहेको छ ।
सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण भएका सामग्रीमा आलोचनात्मक दृष्टि राख्न सक्नु नै सञ्चार साक्षरताको पहिलो चरण हो । यसभित्र सञ्चार सामग्रीको विषयवस्त, समाचारको सन्देश र त्यसको शक्ति बुझ्नु, सामग्रीमाथि आफ्ना प्रतिक्रिया कारणसहित दिनु, सञ्चार माध्यमले राम्रा सामग्री दिन्छ भन्ने कुरामा विश्वास बढ्नु तथा सामग्रीलाई विश्लेषण गर्ने सीप पर्छन् ।
सञ्चार साक्षरताका यी सीपहरू हाम्रा विद्यालय र विद्यार्थीमा विकास गर्न चुनौतीपूर्ण छन् तर असम्भव पनि छैन । पाठ्यक्रममै नभएका विषय वस्तु किन पढाउने ? यस्ता कुरा पढाउने शिक्षक नै छैनन । परीक्षामा नसोधिने यस्ता कुरा किन पढाउने ? जस्ता प्रश्न पनि गरिएलान् । तर, समाजमा झुटा समाचारको प्रभाव दिनप्रतिदिन बढिरहेको र त्यसैलाई पत्याउने जमात हुर्किरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न हामी शिक्षकहरूको भूमिका महत्त्वपूर्ण र उपयोगी हुने छ । यो हाम्रो पेसागत कार्य त हुँदै हो साथै समुदाय र राष्ट्रप्रतिको हाम्रो दायित्व पनि हो ।
विद्यालयमा सञ्चार साक्षरता विकास गर्ने तरिकाहरू :
१) स्रोतव्यक्तिलाई प्रयोग गर्ने :
कुनै खास विषयवस्तुमा ज्ञान, सीप र दक्षता भएको व्यक्तिलाई सम्बन्धित विषयवस्तुमा शिक्षणका लागि प्रयोग गरिन्छ भने त्यस्ता व्यक्तिलाई स्रोतव्यक्ति भनिन्छ । विद्यालयमा सञ्चार साक्षरता सम्बन्धी शिक्षणका लागि स्थानीय क्षेत्रमा उपलब्ध हुने सञ्चारकर्मी र पत्रकारिता अध्यापन गर्ने शिक्षकहरूलाई प्रयोग गर्न सकिन्छ । वास्तवमा अहिलेसम्म हामीले विद्यालयको कक्षाकोठामा तलबी शिक्षक बाहेकलाई प्रवेश गराएनौँ । विद्यालयको पर्खालबाहिर पनि ज्ञान भएका व्यक्तिहरू छन भन्ने कुरा बुझ्न ढिलो भइसक्यो । यसरी स्रोतव्यक्ति प्रयोग गर्दा विद्यार्थीहरूले पनि शिक्षणमा नवीनता र विषयवस्तुमा विस्तृत ज्ञान पाउँछन् । स्रोतव्यक्तिहरूलाई पनि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको बोध हुन्छ ।
२) डकुमेन्ट्री प्रदर्शन गर्ने :
हाम्रा विद्यालयहरू आइसिटीमा व्यवस्थित बन्दैछन् तर आइसिटीको वृहत् उपयोग हुन भने सकेको छैन । सञ्चार साक्षरता विकास गर्न आइसिटी उपयोगी हुन्छ । यसका लागि साप्ताहिक वा मासिकरूपमा सञ्चार माध्यमका सकारात्मक र नकारात्मक पक्षबारे विद्यार्थीहरूलाई जानकारी गराउन युट्युबबाट नेपाली भाषाका तथा विद्यार्थीहरूले बुझ्ने भाषाका डकुमेन्ट्री प्रदर्शन गरी छलफल गर्न सकिन्छ । सम्भव भएसम्म डकुमेन्ट्री निर्मातालाई विद्यालयमा ल्याएर उनीहरूका अनुभव पनि विद्यार्थीहरूलाई बाँड्न सकिन्छ ।
३) छलफल कार्यक्रम आयोजना गर्ने :
सञ्चारका विभिन्न आयाम, सामाजिक प्रभाव, शक्ति जस्ता विविध विषयमा विद्यालयमा छलफल आयोजना गर्ने । यसका लागि विभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी, पत्रकारिकता अध्यापन गर्ने व्यक्तिहरू तथा सञ्चार माध्यममा प्रकाशित सामग्रीमाथि आलोचनात्मक दृष्टिकोण राख्ने व्यक्तिहरूलाई विद्यालयमा बोलाएर छलफल आयोजना गर्न सकिन्छ । यस्तो छलफल कार्यक्रममा विद्यार्थीहरूलाई प्रश्न सोध्न प्रोत्साहित गर्नुपर्छ ।
४) पठन संस्कृति विकास गर्ने :
विद्यालयमा स्थापित र विश्वसनीय समाचार पत्रहरू मात्रै राख्ने । ती समाचार पत्रमा आएका सामग्री पढ्न विद्यार्थीलाई प्रोत्साहित गर्ने । विद्यार्थीहरूले पढिसकेपछि तिनै सामग्रीमाथि छलफल पनि गर्ने । सञ्चारमाध्यमका बारेमा लेखिएका पुस्तक तथा जर्नल पनि पढ्न दिने । यसो गर्नाले विद्यार्थीहरूमा एउटै सामग्री विभिन्न सञ्चार माध्यमले कसरी प्रस्तुत गर्दा रहेछन भन्ने कुरा बोध हुन्छ । यसबाट उनीहरूमा सञ्चारमाध्यमको तुलना गर्ने क्षमता पनि बढ्छ । पुस्तक तथा जर्नल पढ्नाले सञ्चारमाध्यम नै बुझ्न मद्दत पुग्छ ।
५) सञ्चार माध्यमले गरेका त्रुटिबारे जानकारी गराउने :
हामीले स्थापित र विश्वसनीय मानेका सञ्चार माध्यमले विभिन्न समयमा त्रुटि गरेका हुन सक्छन् । त्यस्ता त्रुटि सङ्कलन गरी सम्बन्धित सञ्चार माध्यमका व्यक्तिलाई विद्यालयमा ल्याएर छलफल गर्न सकिन्छ । यसबाट विद्यार्थीहरूले त्रुटि हुने कारण र सञ्चार माध्यमले गर्ने त्रुटिको असर थाहा पाउँछन । यस्तो छलफलले विद्यार्थीहरूमा सञ्चार माध्यमहरूबाट त्रुटि हुने भएकाले प्रकाशित सामग्रीमा सन्देह गर्नुपर्छ भन्ने चेतना विकास हुन्छ ।
लेखक : मेचीनगर ९ स्थीत कविशिरोमणि माविको सहायक प्रधानाध्यापक हुनुहुन्छ ।