केही दिन अघि मेरो एकजना छिमेकीको देहावसान भयो । म चौथो दिन बेलुकी छिमेकीको घरमा गएँ । त्यहाँको दृश्य हेर्दा एकछिन त खुशी लाग्यो । धेरै मानिसहरू भेला भएका रहेछन । बस्ने ठाउँकै अभाव हुने गरि । यस्तो बेलामा मानिसहरु भेला हुनु त राम्रै हो । तर मेरो भ्रम एकैछिनमा तोडियो । मराउ परेको घरमा भेला भएका मानिसहरू त जुवा खेल्न पो भेला भएका रहेछन, त्यो पनि हजारौं हजार पैसा सहितको । हल्लाखल्ला हेर्न लायकको थियो । अधिकांश रक्सी खाएर मातेका थिए । धेरै अश्लील बोलिरहेका थिए । कृयापुत्रीहरुसँग बोल्ने कोहि थिएनन । भिड बढी भएकोले म एकैछिनमा त्यहाँबाट निस्किएँ ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । जीवन भोगाइको क्रममा प्रत्येक बर्ष मैले समाजमा बिकृतीहरुको चाङ बढिरहेको देखेको छु तर बिकृती बिरुद्ध बोल्ने मानिसहरु कमै भेटिन्छन आजकल । हाम्रो संस्कार र सांस्कृतिक मौलिकता जोगाउने नाममा चाडबाडमा देखिने बिकृती झनै कहालीलाग्दो छ । भर्खरै दशैं तिहार सकिएको छ । तिहारमा खेलिने देउसी भैलोलाई मात्र हेर्ने हो भने पनि हामी कति बिकृत मानसिकताबाट गुज्रिरहेका छौं भन्ने कुरा स्पष्ट हुन्छ । धनार्जन गर्ने एकमात्र उद्देश्य राखी रातभर हिन्दी गीतमा नाचेर मनाइने देउसी भैलोबाट हामी हाम्रो सांस्कृतिक मौलिकता जोगाइरहेका छौं भन्दा लाज लागेर आउँछ । गाउँघरमा चाडपर्वको बेला जुवा तासमा लाखौं हारजित भएको गर्वसाथ यसरी सुनाइन्छ मानौं मेरो देशले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको छ र हामी नेपाली त्यसको सेलिब्रेसन गरिरहेका छौं ।
गाउँघरमा अचेल अर्को बिकृती भित्रिएको छ । त्यो हो सर्टकट बाटोबाट पैसा आर्जन गर्ने चाह । श्रमिकलाई र उस्ले गर्ने श्रमलाई हेला गर्ने र छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्नेलाई सम्मान गर्ने काइते बाटोमा मानिस लागिरहेको देखिन्छ । काम गर्ने खेताला नपाएर भौंतारिरहेको बाबुका २ भाइ छोराहरु चोकमा दिनभर क्यारेमबोर्ड खेलिरहेको बग्रेल्ती दृश्यहरु आजभोलि जहिंतहिं भेट्न सकिन्छ । कामलाई सम्मान नगर्ने यसप्रकारको प्रवृत्तिले कालान्तरमा हामी सबैलाई एउटा भ्रष्ट र आपराधिक मानसिकता बोकेको सामाजिक अवस्थातर्फ डोर्होयाउँदैन भन्न सकिँदैन ।
बिकृती र बिसङ्गतिको विरुद्धमा समाजका युवावर्गले कडा आवाज उठाउनुपर्ने हो तर हाम्रा युवाहरु यहिं नराम्रोसँग चुकेको देखिन्छ । अधिकांश युवा बिकृती बिरुद्ध बोल्नै चाहाँदैनन । युवालाई समेटेर बनेका कयौं संस्थाहरु यो काममा झन मजाले चुकेको आभास हुन्छ । उनीहरु आफैं बगिरहेको गंगामा हात धुने प्रक्रियामा सामेल भएको महसुस हुन्छ । समाजका अधिकांश युवा प्रश्न गर्न नसक्ने, आलोचनात्मक चेत गुमाएको अवस्थामा भेटिन्छन । इमानदार बाटोबाट पैसा कमाउने ढोकामा ताला लगाएर अधिकांश दोस्रो बेइमान बाटोको ढोका खोल्न सिकाउने कर्ममा लिप्त भेटिन्छन । आजभोली अलि बुझ्ने भैसकेका बालबालिकाहरु पढ्न अल्छी गर्छन । साना साना बच्चाहरुमा पढेर के हुन्छ ? जसरी भएपनी पैसा कमाउनु त हो नि भन्ने बिकृत मानसिकताको बिकास भैरहेको देखिन्छ । यो बिकृतीले भोलिको हाम्रो समाजको अँध्यारो चित्र छर्लङ्ग देखाउँदैन र ?
हामी डोनाल्ड ट्रम्पले किन हारे भन्ने बारेमा लम्बेतान बहस हाँक्न सक्छौं तर स्याहार नपुगेकि आफ्नी हजुरआमा मृत्युसँग किन हारिन भन्ने चासो हामीसँग छैन । नेकपा फुट्नु वा नफुट्नुसँग आफ्नो भबिष्य जोड्छौं हामी तर तमाम बिकृतीका कारणले फुट्न लागेको सामाजिक एकताले तहसनहस पार्ने हाम्रो भबिष्यबारे बेखबर छौं । खोलाबाट निर्माणजन्य सामग्री रित्याउन तँछाडमछाड गर्छौं तर सामुदायिक बिद्यालयहरु किन रित्तिरहेका छन भन्ने चासो छैन हामीलाई ।
समाजमा धेरै बिकृतीहरु छन । यो हामीलाई थाहा छ । ती सबै बिकृतीलाई सच्याउने तपाईं हामीले नै हो । यो पनि हामी सबैलाई राम्रोसँग थाहा छ तर अरुले नै सच्याइदिएर सफा समाज हामीलाई हस्तान्तरण गरिदिए हुन्थ्यो भन्ने असम्भव कल्पना गर्छौं हामी । हरेक ब्यक्ति आ–आफ्नो ठाउँबाट परिवर्तन हुन शुरु हुने हो भने एउटा सुसंस्कृत समाज हाम्रो अगाडि हामीलाई प्रतीक्षा गरेर बसिरहेको छ । तर बिडम्बना के छ भने अरुलाई सच्चिनको लागि दिनरात अर्ति दिएर नथाक्ने हामी आफू चैं कहिले सच्चिने हो थाहा छैन ।