मेचीनगर, कार्तिक ५ गते ।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर मनाइदैंछ । आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ्य र भोली बिहान उदाउँदो सुुर्यलाई अर्घ्य दिए पछि यो बर्षको छठ पुजा बिधिवत रुपमा सम्पन्न हुनेछ ।
विभिन्न नदि, तलाउ तथा जलाशय किनारमा पुजा गरी मनाउने गरिएको छठ पर्व यो बार्ष कोरोना संक्रमणको बिश्वब्यापी महामारीका कारण सरकारले घर घरमै मनाउन आवहान गरेको छ ।
नदि तथा जलाशल किनारमा छठ पर्व मनाउन नपाए पनि यो बर्ष घर घरमै पुजा बिधि गरी छठ पर्व मनाइदैंछ । झापा मेचीनगरमा निन्दा, मेची र फुलबासा खोलामा छठ पुजा गरिन्थ्यो तर यो बर्ष मेचीनगरका स्थानीयहरुले घरमा नै पुजा गरेर छठ पर्व मनाउँदैछन ।
तराइबासीको मुख्य पर्वका रुपमा रहेको छठ पर्वको पुजा बिधि गर्न नदि वा जलाशयमा नै जानु पर्ने भए पनि यो बर्ष कोरोनाका कारण बैकल्पिक रुपमा घरमा नै जलाशय बनाएर पुजा बिधि गर्ने तयारी गरेको मेचीनगर ६ काकरभिट्टाका बिलास मल्लिक बताउनु हुन्छ ।
खोलामा हुने रौनक र रमझम नभए पनि आफ्नो संस्कृति अनुसारको पुजा गर्न आँगनमा सानो जलाशय बनाएर पुजा गर्ने मेचीनगर १० धुलाबारीका कुन्तीदेवी शाहले बताउनु भयो । शाहले भन्नु भयो,‘आफुले थाह पाउँदादेखि नै खोलामा पुजा गरिन्थ्यो तर यो बर्ष घरमा नै पानी जमाएर पुजा गर्दैछु ।’ ७५ बर्षिया शाहले खोलामा घरमै छठ पुजा गरेपनि पुजाको बिधि र तरिकामा फरक नपर्ने बताउनु भयो ।
धुलाबारीकै राजकुमार शाह परम्परागत रुपमा मान्दै आएको छठ पुजा यो बर्ष फरक तरिकाले मनाउनु परेको बताउनु भयो । ७५ बर्षिय शाहले भन्नु भयो,‘सधैं निन्दा खोलामा धुमधामका साथ छठ पुजा हुन्थ्यो तर यो पटक घरको छतमा इटा र प्लाष्टिकको सहायताले सानो पानीको कुण्ड बनाएर परिवारका सदस्य मात्रै भेला भएर पुजा गर्ने तयारी गरेका छौं ।’
छठ पुजाका लागि ठेकुवा बनाउँदै गर्नु भएकी निलम शाहले यो बर्ष घरमा मनाउँदा रमाइलो नभएको बताउनु भयो । वहाँले भन्नु भयो,‘संधैं खोलामा छठ पुजा गर्दा धेरै रमाइलो हुन्थ्यो तर यो बर्ष त्यस्तो रमाइलो छैन ।’ मेचीनगरकै रुणीदेवी शाह पनि यो बर्ष पुजा गर्दाको रौनक नभएको बताउनु हुन्छ ।
कोरोनाका कारण भिडभाडमा छठ पुजा मनाउँदा जोखिम बढ्ने भएकाले यो बर्ष घरमै मनाउनु ठिक हुने भएकाले पनि आफ्नै घरको आगँनमा सानो जलाशय बनाएको मेचीनगर १० का पंकज गुप्ताले बताउनु भयो । गुप्ताले भन्नु भयो‘पुजा बिधि सबै उही हो खाली यो बर्ष ठाउँ फरक भएको मात्र हो ।’
दशैं तिहार मनाउन रोक नलगाएको सरकारले खोलामा गएर छठ पुजा गर्न रोक लगाएकोले दुःख लागेको धुलाबारीका बिरेन्द्र ठाकुरले बताउनु भयो । वहाँले भन्नु भयो,‘बर्षौदेखि मान्दै आएको चार्ड भएकाले पुजा गर्ने मान्छे मात्रै भए पनि खोलामा गएर छठ पुजा गर्न दिनु पथ्र्यो ।’ ठाकुरका अनुसार खोलमा छठ पुजा गर्ने परिवार थोरै हुने र हेर्नेहरुको संख्या ठुलो भएर भिड हुने हो । सरकारले हेर्नेहरुलाई रोक लगाएर पुजा गर्नेहरुलाई मात्रै खोला जान दिएको भएर राम्रो हुने ठाकुरको तर्क छ ।
मेचीनगरका निन्दा, मेची र फुलबासा खोलामा मात्रै एक हजार भन्दा बढी परिवारले छठ पुजा गर्ने गरेका थिए ।