इटाभट्टा, मंसिर ४ ।
मेचीनगर नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा कुल बजेटको ९.४५ प्रतिशत मात्रै रकम खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि मेचीनगरले एक अर्ब ३५ करोड ५८ लाख कुल बजेट बिनियोजन गरेकोमा साउन, भदौ र असोज महिनामा १२ करोड ८२ लाख एक हजार २९३ मात्र खर्च भएको नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीले बताउनु भयो ।
नगरपालिकाले जनप्रतिनिधिहरुको सेवा सुविधामा मात्रै चालु आर्थिक बर्षको असोज मसान्तसम्म करीब ५० लाख रकम खर्च गरेको छ । मेचीनगरका जनप्रतिनिधिहरुका लागि मात्रै विभिन्न शीर्षकमा ४९ लाख ४९ हजार १४० रुपैया साउन, भदौ र असोज माहिनामा मात्रै खर्च भइसकेको छ ।
नगरपालिकाले बिकास निर्माण तथा आम नगरबासीको सरोकारको बिषयमा खर्च गर्न नसके पनि जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधामा भने उल्लेख्य खर्च गरेका छन । चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा जनप्रतिनिधिहरुले विभिन्न शिर्षकको सेवा सुविधामा २८ प्रतिशतसम्म रकम खर्च गरेका छन ।
नगरपालिकाले सार्वजनिक गरेको साउन, भदौ र असोजको खर्च विवरणमा उल्लेख भए अनुसार जनप्रतिनिधिहरुले बैठक भत्तामा मात्रै २२.५ प्रतिशत रकम खर्च गरेका छन । उक्त शीर्षकमा यो बर्ष ३० लाख रकम बिजियोजन गरिएको मध्ये पछिल्लो तीन महिनामा ६ लाख ७५ हजार रकम खर्च भइसकेको छ । त्यस्तै जनप्रतिनिधि अन्य सुविधा शीर्षकमा २८.७२ प्रतिशत रकम खर्च भएको छ । उक्त शीर्षकमा एक करोड ४० लाख रकम बिनियोजन गरिएको मध्ये असोज मसान्तसम्म ४० लाख २१ हजार रकम खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी इन्धनको रकममा जनप्रतिनिधिले १६.८७ प्रतिशत रकम खर्च गरेको नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । जनप्रतिनिधि इन्धन शीर्षकमा रहेको १५ लाख रकम मध्ये असोज मसान्तसम्म दुई लाख ५३ हजार १४० रुपैया खर्च भइसकेको छ ।
कार्यालय तर्फको इन्धनमा समेत उल्लेख्य खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ । इन्धन कार्यालय शीर्षकमा भएको १५ लाख ५० हजार रकम मध्ये ३३.५३ प्रतिशत रकम साउन, भदौ र असोज महिनामा नै खर्च भइसकेको छ । उक्त शीर्षकमा ५ लाख २० हजार ५३७ रुपैया खर्च भएको नगरपालिकाले उल्लेख गरेको छ ।
मेचीनगरले उद्धार राहत तथा पुनस्थापना खर्च शीर्षकमा बिनियोजन गरेको कुल ५० लाख रकम चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नै सबै खर्च भइसकेको बताएको छ । नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उद्धार राहत तथा पुनस्थापना खर्च शीर्षकको सबै ५० लाख रकम खर्च भएको उल्लेख गरिएको छ ।
कोरोना संक्रमण महामारीको बीचमा शुरु भएको चालु आर्थिक बर्षमा औषधी खरिद खर्च शीर्षकको रकम भने अहिलेसम्म एक रुपैया पनि खर्च गरिएको छैन । औषधी खरिद खर्च शीर्षकमा छुट्याइएको ३ लाख रकम असोज मसान्तसम्म खर्च नभएको नगरपालिकाले जनाएको छ ।