तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् ।
दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।
मंसिर १ गते सोमबार अर्थात् आज मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । समितिका अध्यक्ष गौतमले टीका लगाइदिनेले पूर्व फर्केर र लगाइ माग्नेले पश्चिमतर्फ तर्फ फर्केर लगाउनुपर्ने बताउनुभयो । दाजुभाइ र दिदीबहिनीले एक अर्काको सुख, शान्ति र समृद्धिको कामना गर्दै टीका लगाउने चलन रहेको पनि उहाँले बताउनुभयो ।
मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । मंसिर २ गते बिहान ७ बजेर ४ मिनेटसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथी रहेकाले नेवार समुदायका केही व्यक्तिहरुले मंगलबार भाइटीका मनाउने भनी निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।
यसैबीच,रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर आज पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ ।दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजा गर्ने र टीका लगाउने चलन छ ।
बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ ।२०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गर्नुभएको थियो । आज र भोलीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर खुल्ला रहने काठमाडौं महानगरपालिकाकाले जनाएको छ ।