नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला बन्द रहेका विद्यालय सञ्चालन गर्न पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ मार्फत सम्बन्धीत विद्यालय र स्थानीय तहलाई फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कक्षाकोठा बनाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।
आवश्यकता अनुसार कक्षाकोठा, सभाहल, छात्रावास, फर्निचर, शौचालय आदि पुनःव्यवस्थापन तथा मर्मत गर्न भनिएको छ । विद्यालय व्यवस्थापन समितिले शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, त्यही अनुसार खाजा व्यवस्थापन गर्नुपर्ने कार्यढाँचामा उल्लेख गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
स्थानीय तहले विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्नेछ । गत चैत ५ मा बसेको कोरोना नियन्त्रण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।