धुलाबारी, कार्तिक ३० ।
झापाको धुलाबारी माद्यमिक बिद्यालयलाई विभिन्न पक्षमा सहयोग गर्ने पूर्व विद्यार्र्थीहरुले घोषणा गरेका छन । विद्यालयले आज आयोजना गरेको भर्चुवल पूर्व विद्यार्थी तथा शिक्षकहरुको भेलामा सहभागिहरुले बिद्यालयको स्तर बृद्धिका लागि पूर्व विद्यार्र्थी र शिक्षकहरुको तर्फबाट संस्थागत र ब्यक्तिगत रुपमा सहयोग गर्ने बताएका हुन ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बिक्रम नेम्वाङको अध्यक्षता तथा पुर्व बिद्यार्थी तथा त्रिभुवन बिश्वबिद्यालयका पूर्व परीक्षा नियन्त्रक डा केशबकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भर्जुवल भेलाका बक्ताहरुले विभिन्न अक्षयकोष स्थापना देखि बिद्यालय तथा पूर्व विद्यार्थी समाजका तर्फबाट गरिएको कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा पूर्व शिक्षक लिलाप्रसाद सापकोटा, यज्ञराज प्रसाई सहित पुर्व बिद्यार्थीहरु पंकज बिक्रम नेम्वाङ, हरि दाहाल, ज्ञानेन्द्र निरौला, दुर्गा निरौला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
पूर्व शिक्षक तथा बिद्यार्थी लिलाप्रसाद सापकोटा र वहाँकी श्रीमती जसोदा सापकोटाले आजकै छलफल कार्यक्रमका बीच एक लाख राशीको मङ्गलज अक्षयकोषको घोषणा गर्नु भएको थियो । यस अघि पनि धुलाबारी माविमा बिभिन्न अक्षयकोषहरु स्थापना भएको बिद्यालयका प्रधानअध्यापक महेन्द्र बिलाश लुइटेलले जानकारी दिनु भयो ।
प्रधानअध्यापक लुइटेलका अनुसार बिद्यालयमा अहिलेसम्म पूर्व प्रधानअध्यापक स्वर्गिय दिनानाथ शर्माको स्मृतिमा वहाँको परिवारको तर्फबाट पाँच लाख राशीको दिनानाथ शर्मा स्मृति अक्षयकोष, त्यस्तै पूर्व विद्यार्थी स्वर्गिय आशिष नेम्वाङ्गको स्मृतिमा वहाँका दाजु पंकज बिक्रम नेम्वाङ्गले दुई लाख राशीको आशिष बिक्रम नेम्वाङ्ग स्मृति अक्षयकोष र भर्खरै निधन हुनु भएका बैद्य लक्ष्मी चापागाईले आफ्नी श्रीमतीका नाममा एक लाख राशीको स्वर्गिय पद्यादेखि चापागाई स्मृति अक्षयकोष समेत स्थापना गर्नु भएको छ ।
करीब दुई हजार पाँच सय बिद्यार्थी रहेको प्रदेश १ कै नमूना बिद्यालयको रुपमा २०७५ सालदेखि सुचीकृत भएको धुलाबारी माविको आज सम्पन्न पूर्व विद्यार्थी भर्जुवल भेलाले पूर्व विद्यार्थी समाजको विद्यान निर्माणका लागि लेखनाथ पौडेलको संयोजकत्वमा ७ सदस्यीय बिधान मस्यौदा समिति समेत घोषणा गरेको छ । जसको सदस्यमा ज्ञानेन्द्र निरौला, लिलाप्रसाद भण्डारी, केशब पोखरेल, संगिता थापा, मिलनराज प्रसाइ र नारायण खनाल रहनु भएको छ । यो समितिले ६ महिना भित्रमा धुलाबारी मावि पूर्व विद्यार्थी समाजको बिधान तयार गरेर बिद्यालयलाई हस्तान्तरण गर्नेछ ।
बिद्यालयका प्रधानअध्यापक लुइटेलले स्वागत गरेको आजको भर्चुवल भेलामा पूर्व विद्यार्थी समाजका अध्यक्ष गोपाल बस्नेतले बिषय प्रवेश गराउँदै पुर्व बिद्यार्थी समाजले गरेका कार्यहरुको बारेमा जानकारी गराउँदै सबै पूर्व विद्यार्र्थीहरुलाई सहयोगको अपिल समेत गर्नु भएको थियो । आजको भर्चुवल भेला बिद्यालयका सहायक प्रधानअध्यापक तेजप्रसाद चौंलागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।