काँकरभिट्टा, कात्तिक २९ ।
झापाको मेचीनगर नगरपालिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस बर्षको तिहारमा खेलिने देउसी भैलो नखेल्न आग्रह गरेको छ । भिडभाड बढ्दा संक्रमण फैलिने उच्च जोखिम भएकाले यो बर्षको चाड पर्व आ आफ्नै घरमा बसेर मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।
नेपाल संवत ११४१ का अवसर पारेर भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउनलगायतका ५ बुँदे सार्वजनिक सूचना नै जारी नगरपालिकाले सबै नगरबासीलाई सचेत गराएको छ ।
साथै कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गदैं छड पर्व घर परिषर भित्रै मनाउन पनि नगरपालिकाले अनुरोध गरेको छ । परम्परागत रुपमा छठ पुजामा नदी खोला र तलाउ पोखरी र जलाशयमा अस्थायी पण्डाल बनाएर यस वर्षको पूजा स्नान नगर्न समेत नगरवासीलाई सार्वजनिक सुचना मार्फत नगरपालिकाले जानकारी गराएको छ ।
१ नम्बर प्रदेश सभासदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीसहितको उपस्थितीमा भएको बैठकले कोभिड १९ संक्रमण नियन्त्रणका लागि नगरकार्यपालिकाको कार्यालयकातर्फबाट चिकित्सकसहितको आवश्यक जनशक्ति व्यवस्थापन, अक्सिजन, औषधि, अति विपन्न परिवारलाई पौष्टिक आहर सहितको १४ दिनका लागि प्याकेज वितरण गर्ने, साथै स्वास्थ्यकर्मीहरुको मोवायल टोली, रेपिड रेसपोन्स टिम निर्माण गरी आपतकालिन उद्घार गर्ने निर्णय समेत गरेको छ ।
मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा शनिबार सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकी, सुरक्षा निकायका प्रमुखहरु तथा राजनितिक दलका प्रमुखहरुसहितको बैठकले उक्त निर्णय गरेको हो ।