मेचीनगर, कार्तिक २९ ।
तिहारलाई फुलै फूलको पर्व भनिन्छ । तिहारमा सबैभन्दा बढि खपत हुने फूल सयपत्री हो । एकजना किसानले सयपत्री फूल बेचेर सिजनमा कति कमाउन सक्लान् ? अनुमान लगाउन सक्नुहुन्छ ? एक लाख, दुई लाख वा बढिमा पाँच लाख ? तर झापाका एकजना किसानले सयपत्रीको फूलको खेतिबाट यो बर्ष १६ लाखसम्म कमाउनु भएको छ ।
झापा मेचीनगर नगरपालिका वडा नं. ९ का किसान डिल्ली उप्रेतीले यो बर्ष सयपत्री फूल र त्यसको बेर्ना मात्रै बेचेर करीब १६ लाख आम्दानी गर्नु भएको छ । विगत ८ वर्ष देखि व्यवसायिक कृषिमा लाग्नु भएका उहाँले यसपाली सयपत्री फूलको दश हजार बेर्ना रोप्नु भएको थियो ।
दुइ लाख खर्च गरेर उत्पादन गरेको सयपत्री फूलले करीब ८ लाख आम्दानी हुने उप्रेतीको भनाइ छ । एक बिगाहा १४ कठ्ठा जमिनमा लगाएको सयपत्री फूल निरन्तरको बर्षाका कारण उत्पादन केही घटेको भए पनि आफु सन्तुष्ट रहेको उप्रेती बताउनु हुन्छ ।
सयपत्रीको बेर्ना समेत आफैं उत्पादन गर्ने उप्रेतीले यो बर्ष दश लाख बेर्ना बिक्रि गर्दा करीब दश लाख नै आम्दानी भएको बताउनु भयो । एउटा बेर्नाको दुई रुपैया मुल्य राखेर बिक्रि गरेको भए पनि एउटा बेर्ना उत्पादनमा एक रुपैया मात्र खर्च भएको उप्रेतीको भनाइ छ ।
विगतमा भारतबाट आउने सयपत्रीका कारण नेपाली फूलले बजार पाउन मुस्किल पथ्र्यो । तर यसवर्ष कोरोना सङ्क्रमणका कारण नेपाल भारत सीमा बन्द छ । सोही कारण सयपत्री फूलको खेति गरेका नेपाली किसानलाई बजारमा समस्या छैन । भारतबाट सयपत्री फूलको आयात घट्नुलाई नेपाली सयपत्री उत्पादक किसानहरुले भने अवसरको रुपमा लिनु पर्ने उप्रेतीको भनाइ छ ।
भारतबाट फूल आयात नहुँदा पनि नेपाली सयपत्री फूलको मुल्य बृद्धि गर्न नहुने र पुरानै मुल्यमा फूलको थुगां र माला बिक्रि गरेको उप्रेती बताउनु हुन्छ । उप्रेतीका अनुसार फूलको थुगाँ एक रुपैया पचास पैसा गोटा र माला ५० रुपैयाका दरले बारीबाटै बिक्रि भइरहेको छ । आफैंले टिपेर लानेहरुका लागि सयपत्री बगानमा पसेर फूल टिप्न समेत पाइने ब्यवस्था गरिएको उप्रेती बताउनु हुन्छ ।