मानवशरीरमा लाग्ने रोगहरू :
मानवशरीरमा लाग्ने रोगहरूलाई सर्ने र नसर्ने गरी दुई प्रकारमा बाँड्न सकिन्छ। शरीरभित्र कुनै अङ्गमा खराबी भएर उत्पन्न हुने समस्या वा रोग एक व्यक्तिबाट अर्कोमा सर्दैनन्, यस्ता रोगहरूलाई नसर्ने रोग भनिन्छ । जस्तैःक्यान्सर, मधुमेह, आदि । विशेष प्रकारका कीटाणुहरू शरीरमा प्रवेश गरेका कारणले लाग्ने रोगहरू सरुवा रोग अन्तर्गत पर्दछन्।यस्ता रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा विभिन्नमाध्यमबाट सर्ने गर्दछन् । लामखुट्टे, झिँगा, खाना, पानी, हावा, शारीरिक सम्पर्क, रगत, थुक, सिँगान, खकार आदिबाट रोगहरू सर्ने गर्दछन्। झाडापखाला, टाइफाइड, रुघाखोकी, डेङ्गु, मस्तिष्कज्वर, कोरोनाआदि सरुवा रोगहरू हुन् ।
रोग प्रतिरोध क्षमता :
सजीवको शरीरभित्र रोग लाग्नबाट बचाउने एक व्यवस्थित संयन्त्र हुन्छ, जसलाई प्रतिरक्षा प्रणाली भनिन्छ। यसको लागि मानिसको शरीरभित्र लिम्फ प्रणाली, रक्तसञ्चार प्रणाली, ग्रन्थीप्रणाली आदिले संयुक्त रूपमा कार्य गरिरहेका हुन्छन्। हाम्रो वरिपरि प्रशस्त रोगका कीटाणुहरू हुन्छन तर हामीलाई रोग त्यति बेला लाग्दछ, जब हाम्रो शरीरले रोगका कीटाणुसँगको युद्धमा हार्ने अवस्था आउँछ। रोगका कीटाणुहरूसँग भिड्नकोलागि हाम्रो शरीरभित्र सिपाहीका रूपमा सेता रक्तकणहरू रहेका हुन्छन् । सेता रक्तकणहरूले रोगका कीटाणुहरूलाई यात खाएर पचाउँछ या रोगका कीटाणुहरूलाई निष्क्रिय बनाउनकालागि विशेष प्रकारका रसायन उत्पादन गर्दछन् ।यस्तो विशेष प्रकारको प्रोटिन जसले रोगका कीटाणुहरूलाई निष्क्रिय बनाउँछ, त्यसलाई एन्टिबडी भनिन्छ । जब शरीरभित्र रोगका कीटाणुहरू प्रवेश गर्दछ सर्व प्रथम सेता रक्तकणहरूद्वारा त्यसको जाँच पड्ताल हुन्छ । त्यसलाई खाएर पचाउन सकिने भए त्यो कार्यको सुरुवात हुन्छ तर खाएर पचाउन नसकिने प्रकारका कीटाणुहरू भएमा त्यसलाई निष्क्रिय गराउनका लागि एन्टिबडी उत्पादन सुरु हुन्छ । एन्टिबडी निर्माण भए पछि कीटाणुहरू निष्क्रिय हुन्छन् । त्यस पछि शरीरले रोगबाट मुक्ति पाउँछ ।
भ्याक्सिनः
युद्ध सुरु हुनु भन्दा अगाडि कृत्रिमरूपमा युद्ध कै जस्तो परिस्थिति सिर्जना गरेर अभ्यास गर्ने प्रक्रियाले वास्तवमै युद्ध भइहालेमा त्यसलाई जित्ने सैन्य क्षमतामा वृद्धि गराउँछ । भ्याक्सिन लगाउनु भनेको पनि शरीरलाई रोगका कीटाणुको प्रवेश भएको भ्रमपूर्ण जानकारी दिने कार्य हो । भ्याक्सिनकोरूपमा प्रायः निष्क्रिय रोगका कीटाणु वा कीटाणुहरूले मानवशरीर भित्र उत्पादन गरेको टक्सिन प्रयोग गरिन्छ । यसलाई इन्जेक्सन वा मुखबाट मानवशरीरमा प्रवेश गराउँदा न्यु्नतम क्षतिमा त्यसले शरीरलाई रोगका कीटाणुका उपस्थितिको आभास दिलाउँछ । त्यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय गराउँछ । शरीरले ती कीटाणुलाई निष्क्रिय गराउने रसायन उत्पादन गर्छन् । यसरी भोलि सँच्चिकै रोगका कीटाणुहरू शरीरमा प्रवेश गरेको खण्डमा त्यसलाई उक्त एन्टिबडीले निष्क्रिय गराउँछ र रोग लाग्न पाउँदैन । माथि भनियो, भ्याक्सिन शरीरमा प्रवेश गरे पश्चात शरीर वास्तवमै रोग लागेको हो भन्ने भ्रममा पर्दछ । त्यो रोगबाट उन्मुक्तिको लागि आवश्यक तयारी गर्दछ । यस्तो तयारीले शरीरलाई वास्तविक रोगसँग लड्नका लागि सक्षमता प्रदान गर्दछ ।भ्याक्सिनको रूपमा सजीव तर कमजोर कीटाणु, मृत कीटाणु वा कीटाणुहरूले तयार गरेको विषको सानो अंश प्रयोग गरिन्छ ।प्रयोगशालामा उत्पादन गरिएका यस्ता वस्तुलाई फरक फरक भूगोलका भिन्न भिन्न उमेर समूहमा पटक पटक प्रयोग गर्दा कुन प्रकारको भ्याक्सिनले न्यूनतम शारीरिक क्षतिमा अपेक्षित एन्टिबडीको उत्पादन गराउन सक्छ, त्यस भ्याक्सिनलाई स्वीकार गरी प्रयोगकालागि अनुमति प्रदान गरिन्छ । भ्याक्सिनको प्रयोग पश्चात सर्वप्रथम शरीरमा मौज्दात रहेको रोग प्रतिरोध क्षमताले भ्याक्सिनमा रहेका बाह्य पदार्थको प्रतिकार गर्न थाल्छन् । सँगसँगै केही विशेष प्रकारका रगतमा रहेका सेताकोषहरूले एन्टिबडीको उत्पादन सुरु गर्छन् ।त्यो एन्टिबडी शरीरमा लामो समयसम्म सक्रिय रहन सक्छ भने कतिपयअ वस्थामा उक्तकोषहरूले एन्टिबडीलाई स्मरणको रूपमा राख्ने गर्दछ । त्यस्तो स्मरणमा रहेको कीटाणु फेरि कुनै दिन शरीरमा प्रवेश गरेमा शरीरले तुरुन्तै एन्टिबडीको उत्पादन गर्न थाल्छ । जसले गर्दा त्यो रोग फेरि दोहोरिएर लाग्दैन ।
प्राकृतिक भ्याक्सिन र हर्डइम्युनिटी :
एन्टिबडी उत्पादन गर्नु शरीरको प्राकृतिक क्षमता हो । भ्याक्सिनले रोग लागेको भ्रम उत्पन्न गराउने हो । भ्याक्सिन लगाउनु भन्दा अगाडिनै वास्तविक कीटाणु शरीरमा प्रवेश गर्दा पनि एन्टिबडी उत्पन्न हुने र रोगसँग लड्ने प्रक्रिया उही हो ।फरक यति होकि भ्याक्सिन लगाउँदा शरीर रोगसँग लड्न अग्रीम रूपमा तयार भएको हुन्छ । शरीरसँग एन्टिबडी नामको हतियार तयारी अवस्थामा रहेको हुन्छ । भ्याक्सिन नलगाएको व्यक्ति सङ्क्रमित भएमा शरीरलाई एन्टिबडी तयार गर्न समय लाग्छ ।त्यस्तो अवस्थामा रोगले धेरै गाँज्यो भने हाम्रो मृत्यु पनि हुन सक्छ । तर, समयमै एन्टिबडीको उत्पादन भयो भने त्यसको असर भ्याक्सिन लगाए जस्तै नै हुन्छ । यसलाई प्राकृतिक भ्याक्सिन भनिन्छ ।
कुनै समुदायमा महामारीकोरूपमा ६० प्रतिशतभन्दा बढी मानिस सङ्क्रमित भएको अवस्थामा रोग जितेका र बाँकी ४० प्रतिशतमा पनि उक्त रोग विरुद्धको रोग प्रतिरोध क्षमताको विकास भएको हुन्छ भन्ने मान्यता रहेको छ । यस्तो प्रतिरोध क्षमतालाई हर्ड इम्युनिटी भनिन्छ । सङ्क्रमितमा त स्वतस् एन्टिबडी हुने नै भयो ।त्यो अवस्थामा आइपुग्दा बाँकी ४० प्रतिशत मानिसमा पनि निष्क्रिय कीटाणुको प्रवेश भइसकेको हुन्छ । जसले गर्दा उनीहरूमा पनि एन्टिबडी उत्पादन भएको हुन्छ ।
प्लाज्माथेरापी :
प्लाज्माथेरापी आजकलको कोभिडको महामारीमा धेरै सुनिदै आएको शब्द हो । जबकोहि व्यक्ति सङ्क्रमित भएर निको हुन्छ, उसको शरीरमा एन्टिबडीको निर्माण भएको हुन्छ । उक्त व्यक्तिबाट त्यो एन्टिबडी छुट्याएर अर्को व्यक्तिको शरीरमा प्रवेश गराइयो भने दोस्रो व्यक्तिले पनि उक्त एन्टिबडीको सहायताले सङ्क्रमणलाई जित्न सक्छ । यसरि गरिने उपचार पद्दतिलाई प्लाज्माथेरापी भनिन्छ ।प्लाज्मा भनेको रगतमा रहेको पहेँलो रङ्गको तरल पदार्थ हो, यसैमा रगतका तीन प्रकारका कोषहरुः राता रक्तकँण, सेता रक्तकँण र प्लेटलेट्स घुलेर रगत बनेको हुन्छ । प्लाज्माथेरापीगर्दा संक्रमण पछि निको भएको व्यक्तिको शरीरमा पहिला एन्टिबडीको उपस्थितिको परीक्षण गरिन्छ । यदि आवश्यक मात्रामा एन्टिबडी पाइएको खण्डमा उक्त व्यक्तिको रगत निकालेर त्यसबाट रक्तकँणहरु अलग्याइन्छ र बाँकी रहेको प्लाज्मालाई सङ्क्रमित व्यक्तिको शरीरमा प्रवेश गराइन्छ । यसरी प्रवेश गराउदा रक्तसमुह चाहि मिलेको हुनु पर्दछ ।प्लाज्माथेरापी गर्दा शरीरले अरुको शरीरले सोहि प्रयोजनकालागि तयार गरेको हतियारको रुपमा एण्टिबडि पाउछ जसले रोगलाई जित्न सजिलो हुन्छ । तर यसरि प्रदान गरिएको बाह्य एन्टिबडी सिमितमात्रामा हुने, लामो समयकोलागि नरहने तथा प्रतिरक्षा कोषले त्यसलाई स्मरणमा नराख्ने आदि हुन्छ जुन आफैमा उत्पादन भएको एन्टिबडी जत्तिको प्रभावकारी भने हुदैन ।
कोरोना र यसको भ्याक्सिन :
अहिले कोरोना जुन रुपमा समाजमा माहामारिको रुपमा फैलिरहेको छ, त्यसलाई हेर्दा भ्याक्सिनको प्रयोग बिना यसलाई नियन्त्रण गर्न लगभग असम्भव जस्तै नै देखिएको छ।हर्ड इम्युनिटीको उत्पादनमा पुग्न नेपालको जनसंख्या ३ करोडको ६० प्रतिशत सङ्क्रमित हुनु भनेको १ करोड ८० लाखमा सङ्क्रमण फैलिनु हो । कोरोनाको विश्व मृत्यु दरलाई बिर्सिएर नेपालको अहिलेको मृत्यु दर ०.३ प्रतिशतलाई नै आधारमान्दा पनि त्यो अवस्थामा आइपुग्दा हामीले आफ्ना ५४ हजार प्रियजन गुमाउनु पर्ने हुन्छ, जुन अत्यन्तै पीडादायी कुरा हो ।त्यसैले भ्याक्सिन नआउन्जेलसम्म धैर्यधारण गरेर आफूमा सङ्क्रमण हुन नदिन र आफ्नो कारणले अन्यत्र सङ्क्रमण फैलिन नदिनुनै बुद्धिमानि हुन जान्छ ।
लेखक: मेचीनगर १० स्थीत धुलाबारी माविका प्रधानअध्यापक हुनुहुन्छ ।
[email protected]