इटाभट्टा, कार्तिक २६ ।
मेचीनगर नगरपालिकाले आफ्ना नागरिकका लागि आपतकालिन अक्सिजन उपलब्ध गराउने निर्णय गरेको छ । नगरकार्यपालिकाको आज सम्पन्न बैठकले कोरोना संक्रमणका बेला अक्सिजनको कमीका कारण गभ्भिर समस्या आउने भएकाले आम नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आपतकालिन अवस्थामा भएका बिरामीहरुका लागि अक्सिजन उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख मिना उप्रेतीले जानकारी दिनु भयो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गइरहेकाले अक्सिजन अभावका कारण नगरबासीको मृत्यु हुन सक्ने अवस्थाको आंकलन गरेर नगरपालिकाको तर्फबाट अक्सिजन चाहिने बिरामीहरुलाई उपलब्ध गराउने गरी अक्सिजन सिलिण्डरको ब्यवस्था गर्ने प्रक्रिया अगाडी बढाइसकिएको उपप्रमुख उप्रेतीले बताउनु भयो ।
कार्यपालिका बैठकले अति बिपन्न परिवारका सदस्यहरुमा कोरोन संक्रमण भएकामा उनीहरुलाई कम्तिमा १४ दिनका लागि पौष्टीक आहार नगरपालिकाको तर्फबाट उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख उप्रेतीले सेतोपत्रलाई बताउनु भयो ।
कोरोना संक्रमणका बेला पौष्टीक आहारको कमीका कारणले संक्रमितहरुको जीवन जोखिममा पर्ने भएको बिपन्न परिवारका सदस्यको जीवन रक्षाका लागि कम्तिमा १४ दिन र त्यस भन्दा बढी समयका लागि समेत पनि आवश्यक परेमा पनि पौष्टीक आहार उपलब्ध नगरपालिकाले नै उपलब्ध गराउने उप्रेतीले बताउनु भयो ।
आजकै बैठकले नगरका संक्रमितहरुको अवस्था बुझ्न र उनीहरुलाई आवश्यक स्वास्थ्य तथा अन्य परामर्श दिनका लागि स्वास्थ्यकर्मीहरु सम्मिलित रेपिड रेसपोन्स टिम बनाउने समेत निर्णय गरेको छ । उक्त टिमले दैनिक रुपमा संक्रमितहरुसंग टेलिफोन मार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक अन्य परामर्श सहित सहयोग गर्ने तयारी गरेको उपप्रमुख उप्रेतीले बताउनु भयो ।
मेचीनगर नगरपालिकामा अहिलेसम्म २७४ जना संक्रमित भइसक्नु भएको छ भने सक्रिय संक्रमितको संख्या ३० रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोनाका कारण मेचीनगरमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।