बिर्तामोड, कार्तिक २२ ।
झापाको बिर्तामोडस्थीत बिएण्डसी अस्पतालले देशमा नै पहिलो पटक अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याएको छ । मुटु सम्बन्धी उपचारका लागि प्रयोग हुने क्याथ ल्याबका लागि अत्याधुनिक मेशन सहितको अन्य उपकरण जडान गरी ५ दिनदेखि सञ्चालनमा आएको अस्पतालका तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दुर्गा प्रसाइले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा निर्देशक प्रसाइले भन्नु भयो,‘मुटु सम्बन्धी सम्पूर्ण उपचार बिएण्डसीमा नै गर्ने सुविधा उपलब्ध गराउन अत्याधुनिक मेशिन र उपकरण सहितको क्याथ ल्याब सञ्चालनमा ल्याएका छौं ।’ क्याथ ल्याब तयारी र सञ्चालनमा मात्रै करीब ५० करोड खर्च भएको प्रसाईले बताउनु भयो । प्रसाइका अनुसार क्याथ ल्याबको मेशिनलाई मात्रै २५ करोड पर्छ ।
बिएण्डसी अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आउनुलाई मुटु उपचारका लागि देशकै लागि नयाँ फड्को मारेको बिएण्डसी अस्पतालका बरिष्ठ मुटु रोग बिशेषज्ञ डा उमेश यादबले पत्रकार सम्मेलनमा बताउनु भयो ।
पत्रकारहरुसंग कुराकानी गर्दै डा यादबले भन्नु भयो,‘क्याथ ल्याब देशका अन्य अस्पतालमा पनि छन तर बिएण्डसीमा सञ्चालनमा ल्याएको क्याथ ल्याब अहिले भइरहेका भन्दा अत्याधुनिक हो ।’ पाँच दिन अघिबाट सञ्चालनमा ल्याएको क्याथ ल्याब मार्फत ५ जना मुटुका बिरामीको उपचार भइरहेको र सबैको उपचार सफल भएको डा यादबले बताउनु भयो ।
बिएण्डसीको क्याथ ल्याबमार्फत सेवा लिएर अस्पतालमा उपचार गराइरहनु भएका मेचीनगर ८ का नारायण कोइरालाले मुटु सम्बन्धी उपचारका लागि बिएण्डसी अस्पताल आफुलाई भरपर्दो लागेको प्रतिक्रिया दिनु भयो ।
एक हजार मुटु प्रत्यारोपण गरेका चिकित्सक बिएण्डसीमा
एक हजार जनाको मुटु प्रत्यारोपण गरेका भारतिय चिकित्सक डा अवन कुमार बिएण्डसी अस्पतालमा सेवा दिने गरी आउनु भएको छ । भारतमा नै पहिलो पटक सन २०११ मा सफल रुपमा मुटु प्रत्यारोपण सेवा शुरु गरेर चर्चामा आएका दक्षिण भारतको चेन्नइका फुर्टिज अस्पतालमा कार्यरत डा अवन कुमारले मुटुका बिरामीलाई बिएण्डसीमा परिक्षण गर्ने पत्रकार सम्मेलनमा बताउनु भयो ।
नेपालको कानूनी जटिलता सहज भए अबको दुई बर्ष भित्र बिएण्डसी अस्पतालमा नै नेपालको पहिलो मुटु प्रत्यारोपण हुने डा अवन कुमारले पत्रकार सम्मेलनमा दाबी गर्नु भयो ।
डा अवन कुमारले भन्नुभयो,‘मैले सन २००८ मा पटक भारतमा पनि मुटु प्रत्यारोपणको कुरा गर्दा कसैले पत्याएको थिएन तर निरन्तर लाग्दा त्यो सभ्भव भएको हो ।’ आफुले अहिलेसम्म एक हजार मुटु प्रत्यारोपण गरिसकेको डा अवन कुमारले बताउनु भयो ।
नेपालमा पहिलो मुटु प्रत्यारोपण गर्नका लागि कानूनी प्रक्रिया मिलाउनु पर्ने र त्यसका लागि प्रक्रिया अगाडी बढीसकेकाले अबको दुइ बर्ष भित्र डा अवन कुमारले बिएण्डसी अस्पतालमा नै नेपालकै पहिलो मुटु प्रत्यारोपण गर्ने अस्पतालका निर्देशक दुर्गा प्रसाइले दाबी गर्नु भयो ।