मेचीनगर, कार्तिक २२ ।
कोरोना भाइरस कोभिड १९ का बिरामीका लागि आइसियु र भेन्टीलेटर भन्दा पर्याप्त अक्सिजन दिने ब्यवस्था गर्नु पर्ने कोरोनाका बिरामीको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।
कोरोनाका बिरामी अधिकांशलाई पर्याप्त मात्रामा अक्सिजन दिनु पर्ने देखिएकाले तत्काल अक्सिजनको ब्यवस्था मात्रै हुने हो भने पनि धेरै मानिसको जीवन बचाउन सकिने कोरोनाका बिरामीको उपचार गरिरहनु भएका आम्दा दमक अस्पतालका एनेथेसिया तथा आइसियु इन्चार्ज डा नविन ढकालले बताउनु भयो ।
सेतोपत्रसंग कुराकानी गर्दै डा ढकालले भन्नु भयो,‘अहिले आइसियु र भेन्टिलेटर खोज्ने बेला होइन, कोरोनाका बिरामीलाई पर्याप्त अक्सिजन दिन सके जीवन बचाउन सकिन्छ ।’ डा ढकालका अनुसार कोरोनाका बिरामीको उपचारका लागि एउटा बिरामीलाई प्रति मिनेट १५ लिटरसम्म अक्सिजन दिनु पर्ने हुन सक्छ त्यसैले त्यसको ब्यवस्थापनमा बिषेश ध्यान दिनु पर्छ । कोरोनाको बिरामीको उपचारका लागि भौतिक संरचना सामान्य भएको तर हरेक शैय्यामा पर्याप्त अक्सिजन हुन सक्यो भने धेरै मानिसलाई मर्नबाट जोगाउन डा ढकालले बताउनु भयो ।
स्थानीय तहहरुले अहिले चलिरहेका स्वास्थ्य संस्थाहरुको समन्वयमा पर्याप्त अक्सिजन दिने ब्यवस्था गरेर शैय्याहरु मात्रै राख्दा पनि कोरोनाका बिरामीका लागि युर्पयुक्त हुने डा ढकालले बताउनु भयो । वहाँले भन्नु भयो,‘अहिले संरचनामा खर्च गर्ने रकमलाई अक्सिजन र स्वास्थ्यकर्मीहरुको जनशक्ति ब्यवस्थापनमा लगाएर कोरोनाको उपचारमा गभ्भिर हुनु पर्छ । संरचना सामान्य भए पनि हुन्छ ।’
त्यस्तै भद्रपुरस्थीत मेची अस्पतालमा कोरोनाका बिरामीको उपचारमा संलग्न डा गोबिन्द कँडेलले स्वास्थ्यकर्मीको संख्या थप गर्ने र पर्याप्त अक्सिजनको ब्यवस्था मात्रै गर्दा पनि कोरोनाले मृत्यु हुनेको संख्यामा कमि आउने बताउनु भयो ।
सेतोपत्रसंग कुरा गर्दै डा कँडेलले भन्नु भयो,‘स्थानीय तहहरुले आफ्ना नागरिकको जीवन रक्षा गर्ने हो भने सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरुमा लगानी गर्नु पर्छ । जनशक्ति ब्यवस्थापन गरेर अहिले सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुमा नै प्रति मिनेट १५ लिटर अक्सिजन दिने ब्यवस्था गर्ने हो भने तत्काल आइसियु र भेन्टिलेटर चाहिदैन ।’
डा कँडेलका अनुसार कोरोनाका बिरामीहरुलाई आइसियु र भेन्टिलेर चाहिने संख्या अत्यन्तै न्यून हुने भए पनि अक्सिजनको पर्याप्त ब्यवस्था नहुँदा बिरामीको मृत्यु भइरहेको छ ।
डा कँडेलले भन्नु भयो,‘ठुलो खालका अक्सिजन सिलिण्डर राखेर पाइप मार्फत वाल अक्सिजन दिने ब्यवस्था गर्नु पर्छ र यो तत्काल गर्न सभ्भव पनि छ ।’
स्थानीय तहहरुले सवारी साधन किन्न, सडक बनाउन र जनप्रतिनिधि तथा कर्मचारीको सेवा सुविधाका लागि करोडौंको लगानी गरे पनि आफ्ना नागरिकको जीवन बचाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न भने आनाकानी गरिरहेका छन ।