काकरभिट्टा, कार्तिक २० ।
मेचीनगर नगरपालिका भित्र कोरोना उपचार अस्पताल बनाउन प्रमुख दलका नगर नेतृत्वहरु सहमत भएका छन ।
कोरोना महामारी बढ्दै जाँदा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको र अन्य बिरामीले समेत पनि अस्पतालहरुमा उपचार सेवा नपाएका कारण समस्या बढ्ने भन्दै नेकपा मेचीनगर अध्यक्ष माधब अर्याल, नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबाहदुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य र जनता समाजबादी पार्टी मेचीनगरका अध्यक्ष ओम प्रकाश खापुङले नगरभित्र नै कोभिड अस्पताल सञ्चालन गर्न मेचीनगर नगरापालिकालाई दबाब दिने बताउनु भयो ।
झापाको काकरभिट्टास्थीत रेडियो साथीको कोरोना सेरोफेरो कार्यक्रममा मेचीनगरबासीको स्वास्थ्य र राजनितिक दलको भुमिका बिषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै चारै दलका प्रमुखहरुले नगरपालिका भित्र भएका स्वास्थ्य संस्थामा नै कोभिड उपचार गर्ने गरी ब्यवस्थापन गर्न पहिलो प्राथमिकता दिने यदि त्यसो हुन नसके भिन्नै कोभिड उपचार केन्द्र निर्माण गरेर भए पनि आम नागरिकको जीवन बचाउन नगरपालिकाको ध्यानाकर्षण गराउनु भएको छ ।
छलफल कार्यक्रममा बोल्दै नेकपा मेचीनगरका अध्यक्ष माधव अर्यालले नगरपालिकाले अहिले आइसोलेशन सेन्टरका रुपमा सञ्चालन गर्दै गरेको मेचीनगर ११ को धाइजन स्वास्थ्य चौकीलाई कोभिड उपचार केन्द्र बनाउन सकिने वा मेचीनगर १० धुलाबारी स्थीत आम्दा अस्पताललाई पनि कोभिड उपचार केन्द्रका रुपमा बिकास गर्न सकिने गरी छलफल अगाडी बढेको बताउनु भयो । अध्यक्ष अर्यालले आम नगरबासीको जीवन बराबर भएकाले सामान्य अवस्थामा रहेका नागरिकहरुको स्वास्थ्यमा पहुँच बिस्तार गर्न पनि नगरभित्र कोभिड अस्पताल चाहिने बताउनु भयो ।
नेपाली काँग्रेस मेचीनगरका अध्यक्ष इन्द्रबाहदुर बुढाथोकीले धुलाबारीको आम्दा अस्पताल नै अहिलेका लागि कोभिड अस्पताल बनाउन उपयुक्त रहेको भन्दै पार्टीको तर्फबाट नगरपालिकामा दबाब दिने बताउनु भयो । बुढाथोकीले आम नगरबासीको जीवन रक्षाका लागि नगरको बजेटको मुख्य हिस्सा स्वास्थ्य सेवामा खर्च गर्नु पर्ने बताउनु भयो ।
राप्रपा नगरअध्यक्ष शुशिल आचार्यले नगरपालिकाका जनप्रतिनिधि र आम नागरिकको जीवन समान भएकाले कोरोना संक्रमित हुँदा सबैले सजिलै उपचार पाउने वातावरण बनाउन नगरपालिकाको गभ्भिर ध्यानाकर्षण गराउनु भयो । आचार्यले भन्नु भयो,‘जीवन सबैको बराबर हो, त्यसैले तत्काल कोभिड अस्पताल बनाउनु पर्छ ।’
जनता समाजबादी पार्टीका नगरअध्यक्ष ओम प्रकाश खापुङले नगरभित्र कोभिडका बिरामीका लागि उपचार गर्न धुलाबारीको आम्दा अस्पताल भन्दा उपयुक्त अर्को स्थान नहुने भन्दै जुनसुकै अवस्थामा भए पनि आम्दालाई कोभिड उपचार केन्द्रका बिकास गर्न नगरपालिका समक्ष माग गर्नु भयो । आम जनताको जीवन बचाउनु आफुहरुले नगरपालिकामा दबाब श्रृजना गर्ने पनि खापुङले बताउनु भयो । कोरोनाका कारण मेचीनगरमा मात्र ५ जना स्थानीयको मृत्यु भइसकेको छ भने २४९ जना संक्रमित भइसकेको छन ।