काकरभिट्टा, कार्तिक १९ ।
झापा मेचीनगर ६ काकरभिट्टा स्थीत अरुणोदय मावि र सोही माविको नाममा रहेको जग्गामा बसोबास गर्ने चेपाङ परिवार बीच लामो समयदेखि चलिआएको विवाद मिलेको छ ।
बिद्यालयको नाममा रहेको जग्गामा चेपाङ परिवारले बनाएको घर हटाउने बिषयको करीब एक दशक देखि चल्दै आएको बिवादको अन्तत सुखद अन्त्य भएको छ । अरुणोदय माविको नाममा रहेको जम्मा ७ कठ्ठा १० धुर जग्गा मध्ये पुर्व पट्टिको कित्ता नम्बर १२२१ को ३ कठ्ठा जग्गाको पुर्वको मुखमा पर्ने गरी दुई धुर जग्गामा चेपाङ परिवारले घर बनाएर बसोबास गरिरहेको थियो ।
बिद्यालयको नाममा रहेको जग्गामा बनेको घर हटाउने र बिद्यालयले चेपाङ परिवारलाई अन्यत्र बसोबासका लागि रकम उपलब्ध गराउने सहमति भएसंगै लामो समयदेखि चलेको बिवाद अन्त्य भएको हो ।
मेचीनगर नगरपालिका वडा नंं. ६ का वडा अध्यक्ष ललितबहादुर तामाङको रोहबर तथा स्थानीय सामाजिक अगुवा डिल्लीराम घिमिरेको सक्रियतामा सोमबार बिद्यालय र चेपाङ परिवार बीच लिखित सहमति भएपछि बिवाद पूर्ण रुपमा समाधान भएको छ । चेपाङ परिवारले बिद्यालयको नाममा रहेको जग्गामा बनाएको घर हटाउने र अरुणोदय माविले चेपाङ परिवारलाई ७ लाख ७५ हजार रकम उपलब्ध गराउने दुवै पक्ष बीच सहमति भएको बिद्यालयका अध्यक्ष भगिरथ राईले सेतोपत्रलाई बताउनु भयो ।
दुवै पक्ष बीच सोमबार भएको सहमति पत्रमा स्थानीय अगुवाहरु डिल्लीराम घिमिरे, राजु कार्की, सुरेन्द्र बुढाथोकी र बीरबहादुर श्रेष्ठले साक्षीको रुपमा हस्ताक्षर गर्नु भएको छ । सहमति अनुसार ७ लाख ५० हजार रकम बिद्यालयको जग्गाबाट घर हटाउनका लागि र २५ हजार चेपाङ परिवारले घर बनाउने समयसम्म डेरा भाडा तिर्नका लागि भनेर जम्मा ७ लाख ७५ हजार रकम बिद्यालयले चेपाङ परिवारलाई उपलब्ध गराएको छ ।
सहमति पछि तत्कालै बिद्यालयका तर्फबाट चेपाङ परिवारलाई सहमति अनुसारको रकम बिद्यालयले उपलब्ध गराइसकेको र चेपाङ परिवारले समेत बिद्यालयको नाममा रहेको जग्गामा बनेको घर हटाएर अन्यत्र सरिसकेको बिद्यालयका अध्यक्ष राइले बताउनु भयो ।
बिद्यालय स्थापना हुनु भन्दा पहिलेदेखि नै आफुले उक्त जग्गामा बसोबास गरिरहेको भए पनि जग्गाको धनिपुर्जा भने आफनो नाममा नरहेकाले आफुले मागेको रकम बिद्यालयले दिए पछि आफु अन्यत्र बसोबास गर्न थालेको र घर समेत हटाएको तोयानाथ चेपाङले सेतोपत्रलार्ई बताउनु भयो । सेतोपत्रसंग कुराकानी गर्दै चेपाङले भन्नु भयो,‘१८ बर्षदेखि उक्त जग्गामा घर बनाएर बसेको थिए तर जग्गा आफ्नो नाममा थिएन र अहिले सहमतिमा नै आफुले मागेको रकम पाए पछि जग्गा खाली गरिदिएकोछु ।’ बिद्यालयले दिएको रकमबाट अन्यत्रै जग्गा किनेर घर बनाएर बस्ने चेपाङले बताउनु भयो ।
२०६६ सालदेखि उक्त स्थानमा अरुणोदय मावि सञ्चालनमा आउँदा बिद्यालयको मुल गेटको दक्षिणतर्फ चेपाङ परिवारको बसोबास रहेको थियो । बिद्यालय र चेपाङ परिवार बीच जग्गा स्वामित्वका बिषयका लामो समयदेखि चलेको बिवादलाई समाधान गराउन सबैको सहयोग रहेको भन्दै बिद्यालयका प्रधानअध्यापक दुर्गाबहादुर लुइटेलले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।