मेचीनगर, कार्तिक १९ ।।
भारतको शिलीगुडीस्थित किन्स अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका मेचीनगर प्रमुख विमल आचार्य कोरोना संक्रमण मुक्त हुनु भएको छ ।
हिजो प्राप्त स्वाब परीक्षणको नतिजामा प्रमुख आचार्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उहाँको केहीदिनअघिमात्र पीसीआर परीक्षणका लागि अस्पतालले थ्रोड स्वाव नमूना संकलन गरेको थियो ।
मंगलबार प्राप्त रिपोर्ट नेगेटिभ आएको अस्पताल श्रोतले जानकारी दिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएपनि थप स्वास्थ्य उपचारकालागि नगर प्रमुख आचार्य अझै केहि दिन अस्पतालमै रहनु हुने बताइएको छ ।
उहाँको फोक्सो र छातीको सिट स्क्यान गरिएको र त्यसको रिपोर्टमा संक्रमण कम देखिएको र क्रमस सुधार आएको अस्पतालले जनाएको छ ।
नगर प्रमुख आचार्यमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै बस्नु भएको उहाँको थप स्वास्थ परीक्षणका लागि कात्तिक ४ गते विराटनगरस्थित नोवल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
विराटनगरमा अपेक्षीत सुधार नआएपछि गत कात्तिक ११ गते भारतको शिलीगुडीस्थित अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो ।
मंगलवार मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन वराल, नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती स्थानीय प्रशासन प्रमुखसहितको टोलीले अस्पताल पुगेर नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको थियो ।
“अहिले मलाई धेरै राम्रो छ , डक्टरले एकसातापछि डिस्चार्ज गर्ने संकेत गर्नुभएको छ, “अहिले छाती र फोक्सोमा संक्रमण रहेछ क्रमश सुधार हुने चिकित्सकले बताएका छन्, नगरप्रमुख आचार्यको भनाई उदृत गर्दे प्रेस संयोजक उप्रेतीले भन्नु भयो“।
नगर प्रमुखज्यूले अस्पतालले आफ्नो उपचारमा कुनै कुराको कमि हुन नदिएको बताउनु भएको छ । नगरप्रमुख आचार्यको चिकित्सक डक्टर शेखर चक्रवर्ती नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।