मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्ले अफमा पुगेको छ । आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफमा पुगेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको विजयी लक्ष्य मुम्बईले १९।१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादवले अविजित ४३ बलमा नटआउट ७९ रन बनाए ।
यस्तै इशान किसनले २५, क्विन्टन डी ककले १८ तथा हार्दिक पाण्डेयाले १७ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ६ विकेटको नोक्सानीमा १ सय ६४ रन बनाएको थियो । बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ४५ बलमा ७४ रन बनाए ।
यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । उनले आईपीएलमा १०० विकेट पनि पूरा गरेका छन् । यो जितसँगै मुम्बईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यसअघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।
अंक तालिका
आईपीएलमा १२ औं चरणको खेल सकिएको छ । जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । त्यही जितले दुई खेलअघि नै डिफेन्डिङ च्याम्पियन मुम्बई प्लेअफमा पुग्न सफल भएको छ ।
पराजित बैंगलोर १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । दिल्ली क्यापिटल्सको पनि १२ खेलबाट १४ अंक रहेको छ । प्लेअफका लागि १२ अंकबाट किंगस इलाभेन पन्जाब र कोलकाता नाइट राइडर्स पनि प्रतिक्षारत रहेका छन् ।
सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको १० अंक छ भने पुछारको चेन्नई सुपर किंगसको ८ अंक छ ।