इटाभट्टा, वैशाख १६ । शिक्षा ऐन माग गर्दै काठमाण्डौ केन्द्रीत आन्दोलनमा शिक्षकहरुमाथी सरकारले दमन गरेको विरोधमा आज झापाको मेचीनगरका शिक्षक तथा विद्यालय कर्मचारीहरुले विरोध र्याली निकालेका छन । मेचीनगरको इटाभट्टा चोकमा भेला भएर सूरु भएको शिक्षकहरुको र्याली मेचीनगर नगरपालिका कार्यालय परिषरमा पुगेर विरोध सभामा परिणत भएको थियो । र्यालीमा सहभागि शिक्षक तथा विद्यालय कर्मचारीहरुले शिक्षा ऐन जारी गर, शिक्षकहरु माथिको दमन बन्द गर, शिक्षक एकता जिन्दावाद लगायतका नारा लगाउँदै मेचीनगर नगरपालिका कार्यालय परिषरमा प्रवेश गरेका थिए ।

र्याली पछि मेचीनगर नगरपालिका कार्यालय परिषरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै शिक्षक नेताहरुले शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले देशैभरीका शिक्षक सडकमा उत्रिएको बताएका थिए । विरोध सभामा बोल्दै शिक्षक सुभद्रा भट्टराईले विद्यालय व्यवस्थापन समिति गठन गर्दा दलका नेताले नै राजनितिक रुपमा व्यक्ति छनौट गर्ने भएकाले अब त्यस्तो कुरा लिएर विद्यालय नआउन आग्रह गर्नु भएको थियो । ‘विद्यालयमा व्यवस्थापन समिति बनाउँदा दलिय व्यक्ति लिएर नआउनु,’ भट्टराईले भन्न्नुभयो, ‘त्यसो गर्ने बित्तिकै राजनितिकबाट शिक्षक टाढा हुन्छ ।’

विरोध सभाका अर्का वक्ता शिक्षक महासंघ मेचीनगरका पुर्व अध्यक्ष लेखनाथ पौडेलले शिक्षकहरुको अभुतपुर्व एकताले आन्दोलन सफलताको नजिक पुगेको बताउनु भयो । ‘देशैभरका शिक्षको जोस र एकता जुन रुपमा प्रदर्शन भएको छ,, पौडेलले भन्नुभयो, ‘हामी सफलताको नजिक छौं ।’

विरोध सभामा शिक्षक संघ मेचीनगरका अध्यक्ष शान्ता निरौला, शिक्षक नेता अर्जुनकुमार कार्की, ज्ञानेन्द्र ढुंगाना, तेज खनाल, लगायतले शिक्षा ऐन जारी नहुँदासम्म शिक्षक र विद्यालय कर्मचारीको आन्दोलन नरोकिने बताउनु भयो । शिक्षक महासंघ मेचीनगरका सहअध्यक्ष मोहन कार्कीको नेतृत्वमा भएको विरोध र्यालीको सहजिकरण महासंघका नगर सहसचिव डबिन्द्र तिवारीले गर्नु भएको थियो ।
मेचीनगर नगरपालिकामा ४२ वटा सामुदायिक विद्यालय छन । जसमा १५८ जना विद्यालय कर्मचारी, ८६ जना वाल विकास शिक्षक र ४८१ जना शिक्षक गरी जम्मा ७२५ जना शिक्षकहरु कार्यरत रहेका छन ।