मेचीनगर, वैशाख १५ । झापाको मेचीनगर नगरपालिका कार्यालयले निर्माणाधिन अवस्थामा रहेको आदर्श माद्यमिक विद्यालयको भवन निर्माणको स्वीकृत रकम रोक्ने गरी योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । मेचीनगर ८ स्थीत आदर्श माविको निर्माणधिन भवनको योजना आगामी आर्थिक बर्ष २०८२/०८३ देखि योजना सूचीबाट हटाउन राष्ट्रिय योजना आयोगलाई सिफारिस गर्ने नगरकार्यपालिकाले निर्णय गरेको हो । २०८१ फागुन ६ गतेको नगरकार्यपालिका बैठकको निर्णय नं. ११ मा लेखिएको छ ‘मेचीनगर नगरपालिकाको बिषेश अनुदान तर्फ राष्ट्रिय योजना आयोगबाट स्वीकृत श्री आदर्श मा.वि. भवन निर्माण सम्बन्धी कार्यको बाँकी रहेको काम नगरपालिकाको आन्तरिक श्रोतबाट ब्यहोर्ने र उक्त स्वीकृत योजना राष्ट्रिय योजना आयोगको आर्थिक बर्ष २०८२/०८३ को योजना सूचीबाट हटाउन सिफारिस गर्ने निर्णय गरियो ।’
२०८१ फागुन ६ गतेको नगरकार्यपालिका बैठकको निर्णय ।
आदर्श माविको भवन निर्माणका लागि क्रमागत रुपमा तीन बर्षमा ६ करोड ९ लाख रकम खर्च गर्ने गरी राष्ट्रिय योजना आयोगबाट योजना स्वीकृत भएको छ । जसबाट आर्थिक बर्ष २०८०/०८१ मा एक करोड १५ लाख र २०८१/०८२ मा एक करोड ५० लाख रकमले भवनको निर्माण भइरहेको आर्दश माविका प्रधानाध्यापक कृष्ण पुरीले जानकारी दिनुभयो । वहाँका अनुसार बाँकी रहेको ३ करोड ४४ लाख रकम आगामी आर्थिक बर्ष ०८२/०८३ मा उपलब्ध गराउने र भवनको बाँकी काम सम्पन्न गर्ने योजना आयोगको सूचीमा उल्लेख गरिएको छ ।
‘विद्यार्थीका लागि शौचालय छैन,’ प्रधानाध्यापक पुरीले भन्नुभयो, ‘अब आउने रकमले भवनसंगै शौचालय निर्माण गर्ने विद्यालयले योजना बनाएको छ ।’ भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएको रकम नआउने गरी नगरपालिकाले गरेको निर्णय विद्यालयलाई थाहा नभएको प्रधानाध्यापक पुरीले बताउनु भयो । ‘नगरपालिकाले योजना नै हटाउने गरी निर्णय गरेको कुरा हामीलाई थाहा छैन,’ पुरीले भन्नुभयो, ‘यस्तो निर्णय गरेको हो भने नगरपालिकाले निर्णय फिर्ता लिएर विद्यालयको भवन निर्माणको रकमलाई निरन्तरता दिनु पर्छ ।’
राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएको भवन निर्माणको बाँकी रकमले शौचालय र होस्टलसम्म सञ्चालन गर्ने गरी भवन बनाउने विद्यालयले तयारी गरिरहेको अवस्थामा नगरपालिकाले योजना नै हटाउने निर्णय गरेर योजना आयोगमा सिफारिस गर्नु विद्यालय संगै आम विद्यार्थी र अभिभावकका लागि ठुलो क्षती हुने प्रधानाध्यापक पुरीको भनाई छ ।
आर्दश माविको भवन निर्माणको बाँकी काम नगरपालिकाकै आन्तरिक श्रोतबाट गर्ने गरी राष्ट्रिय योजना आयोगमा नयाँ योजना सिफारिस गर्न यस्तो निर्णय गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले बताउनु भयो । ‘राष्ट्रिय योजना आयोगमा १० करोडसम्मका योजना सिफारिस गर्न पाईन्छ,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘आदर्श माविमा आन्तरिक श्रोत परिचालन हुन्छ, राष्ट्रिय योजना आयोगमा नयाँ योजना सिफारिस गरिने छ ।’
स्मरण रहोस, गत बर्ष पनि नगरपालिकाले यस्तै प्रकारको निर्णय गरेको थियो । तर त्यस बेला राष्ट्रिय योजना आयोगले नयाँ योजना स्वीकृत नगर्ने भने पछि आफ्नै निर्णयलाई उल्ट्याउँदैं आदर्श माविको भवन निर्माणलाई नै निरन्तरता दिन नगरपालिकाले पुन सिफारिस गरेको थियो ।