झापा, वैशाख ३ । झापाको मेचीनगर नगरपालिकाले नगर भित्र कला साहित्यको संरक्षण गर्ने उद्देश्यले मेचीनगर कला साहित्य सम्बर्धन विकास समिति गठन गरेको छ । चैत २२ गते बसेको नगरकार्यपालिका बैठकले अग्रज पत्रकार, गितकार तथा संगितकार चन्द्र भण्डारीको अध्यक्षतामा १४ सदस्यीय कला साहित्य सम्बर्धन विकास समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष कल्पाना ओली सिटौला र सचिव मिलन कुमार ढुंगाना रहनु भएको छ । समितिको सदस्यहरुमा पर्शुराम तिम्सिना, मिरा पोखरेल, ज्ञानेन्द्र ढुंगाना, पुनित बंशल, केसांग लामा, जयप्रसाद आचार्य, छितेन शेर्पा, पात्र धिमाल, पानीलाल राजबंशी, चक्र पाख्रिन र श्याम आचार्य रहनु भएको नगर कार्यपालिकाको निर्णयमा उल्लेख गरिएको छ ।
नवगठित समितिका अध्यक्ष भण्डारीले समिति गठन भएको बिषयमा नगरपालिकाको तर्फबाट आफुलाई कुनै जानकारी नगराएको बताउनु भयो । ‘नगरभित्र कला साहित्यको संरक्षण गर्न नगरपालिकाले समिति बनाएर काम गर्नु पर्छ भन्ने बिषयमा छलफल गरिरहेकै थियौं,’ भण्डारीले भन्नुभयो, ‘तर नगरपालिकाले समिति नै गठन गरेको बिषय मलाई जानकारी छैन ।’
नगरभित्र कला साहित्यको क्षेत्रलाई संस्थागत रुपमा एकरुपता दिने गरी एउटा नगरस्तरिय समिति बनाएर जानु पर्छ भनेर अघिल्लै जनप्रतिनिधिको कार्यकालदेखि छलफल चलिरहेको समितिका सचिव ढुंगानाले बताउनु भयो । ‘नगरपालिकाले समिति गठन गर्यो भन्ने सुन्नमा आयो,’ वहाँले भन्नुभयो, ‘यो निर्णयको स्वागत योग्य छ ।’
हेर्नुहोस नगरकार्यपालिकाको चैत २२ गतेको निर्णय ।
