झापा,बैशाख २ । झापाको मेचीनगरमा आयोजित तेस्रो आदिवासी जनजाती साँस्कृतिक महोत्सवले मेचीनगरमा रहेका बिभिन्न जातजातीको मौलिकता तथा पहिचान प्रर्वद्धन गरेको छ ।
आदिवासी समुदायकोे मौलिकता, भाषा, परम्परा,संस्कृति र खानालाई प्रर्वद्धन गर्ने लक्ष्य राखेर आयोजना गरिएको महोत्सवमा बिशेष गरि मेचीनगर भित्र रहेका १८ जातजातिकाको स्टल राखिएको छ ।
महोत्सवको गत चैत २७ गते संघिय संसदका उपसभामुखले इन्दिरा राना मगरले उदघाटन गर्नुभएको थियो । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदको आयोजनामा काँकरभिट्टा खेलमैदानमा आयोजना गरिएको महोत्सवको पहिलो दिन महोत्सव उदघाटनका साथ साथै महोत्सव सफल पार्न महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएका समाज सेवी गंगालाल गुरूङलाई सम्मान गरिएको थियो ।

त्यस्तै दोस्रो दिन चैत २८ गते धिमाल,थामी तथा माझी समुदायको बिशेष साँस्कृतिक प्रस्तुती रहेको थियो । त्यस्तै तेस्रो दिन चैत २९ गते तामाङ,राजवंशी र सुनुवार,चैत ३० गते मगर,विर्जा,मुण्डा र शेर्पा तथा चैत ३१ गते राइ र नेवार समुदायले साँस्कृतिक प्रस्तुती दिएका थिए ।

हिजो बैशाख १ गते लिम्बु,मेचे र भुजेल तथा आज गुरुङ र किसान समुदायले बिशेष साँस्कृतिक प्रस्तुती दिएको महोत्सव निर्देशक समितिका संयोजक केवलराम राईले जानकारी दिनुभयो । आदिवासी समुदायको मौलीक खानपान,भेषभुषा,बाजागाजा तथा परम्परागत घरहरुको प्रर्दशनी महोत्सवको मुख्य आकर्षण रहेको थियो । महोत्सवमा प्रत्येक दिन राष्ट्रि«य स्तरका कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
