झापा,चैत ३१ । झापामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बिभिन्न कार्यक्रममा सरिक हुनुभएको छ । गृहनगर दमकमा शनिबार आयोजित जनजागरण सभालाई सम्बोधन गर्न झापा आउनुभएका प्रधानमन्त्री ओली आज पनि बिभिन्न कार्यक्रममा सरिक हुनुभएको हो ।
प्रधानमन्त्री ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटर लगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो ।
प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल लगायत सहभागी हुनुहुन्थयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले झापाको गौरादह नगर अस्पतालको शिलान्यास गर्नुभएको छ । गौरादहको वडा नं–१ स्थित चैतु चोकमा ओलीले नगर अस्पताल भवनको शिलान्यास गर्नुभएको हो । अस्पताल निर्माणका लागि कुल दुई बिगाह जग्गामा१२ करोड ५९ लाख ७९ हजार चार सय ९६ रुपैयाँको लागतमा २०८३ माघ १४ भित्र निर्माण सम्पन्न हुने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइ भएका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।